शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

‘गौतम गम्भिरले मलाई आजै सिध्याइदिन्छु भनेर सबैको अगाडि धम्की दिएका थिए’

बिहीबार, १० फागुन २०८०, १० : ५५
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । विश्वकै लोकप्रिय खेलमध्ये एक हो, क्रिकेट । कुनै पनि प्रतियोगिताका क्रममा दुई टोलीबिच मैदानमा हुने भिडन्त लाखौँ समर्थकको आँखामा परिरहेको हुन्छ । तर, ड्रेसिङ रुम र खेल मैदानमा हुने कतिपय घटना भने लामो समयसम्म पनि गोप्य रहेका हुन्छन् ।

खेलाडीहरुबिच हुने सामान्य घोचपेचदेखि लिएर गम्भीर बिवादका घटनाहरु पनि यसभित्र पर्छन् । सक्रिय खेलजीवनबाट विदा नलिएसम्म सम्बन्धित खेलाडीले पनि यस्ता घटनालाई हतपत सार्वजनिक गर्दैनन् ।

हालै यस्तै एउटा घटना सार्वजनिक गरेका छन्, भारतका पूर्वक्रिकेटर मनोज तिवारीले । ३८ वर्षीय तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका क्रममा आफू र गौतम गम्भिरबिच भएको गम्भीर झगडाको विषयलाई सार्वजनिक गरेका हुन् ।

उक्त घटना सन् २०१३ को आईपीएलका क्रममा फिरोज शाह कोट्ला रंगशालामा कोलकाता नाइट राइडर्सको ड्रेसिङ रुममा भएको थियो । तिवारीले पहिलो श्रेणीको क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएको एक दिनपछि यो घटना सार्वजनिक गरेका हुन् ।

सन् २०१३ को आईपीएलमा गौतम गम्भिर र मनोज तिवारी दुबैजना कोलकाता नाइट राइडर्सबाट खेल्थे । फिरोज शाह कोट्ला रंगशालामा भएको खेलका क्रममा डे«ेसिङ रुपमा गम्भिर र तिवारीबिच बादबिवाद सुरु भएको थियो ।

आफूहरुबिचको बिवाद बढेर गम्भिर मोडमा पुगेको पनि तिवारीले बताएका छन् । त्यही घटनाका कारण सन् २०१४ मा आफूले कोलकाता नाइट राइडर्स छाडेको दाबी पनि उनले गरेका छन् । ‘त्यो घटनापछि गौतम गम्भिर रहुञ्जेल कोलकाता नफर्कने गरी मैले क्लब छाडेको थिएँ,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।

‘ड्रेसिङ रुममा हामीबिच बिवाद बढ्दै गयो । खेल सकिएपछि गम्भिरले मलाई धम्की पनि दिए । उनले मलाई तँ ड्रेसिङ रुमबाट बाहिरि त निस्की, आजै म तँलाई सिध्याउँछु भनेर धम्की दिएका थिए । उनले मलाई यस्तो धम्की दिएको कुरा त्यहाँ रहेका अरुले पनि सुनेका थिए,’ एक भारतीय पत्रिकासँगको कुराकानीमा तिवारीले भनेका छन् ।

त्यो घटनापछि आफूलाई खराब चरित्रको खेलाडीका रुपमा चित्रण गर्ने प्रयास भएको दाबी पनि तिवारीले गरेका छन् । ‘उनी टोलीका सिनियर खेलाडी थिए । देशलाई विश्वकपको उपाधि पनि चुमाएका छन् । यस्तो सिनियर खेलाडीबाट त्यो स्तरको ब्यवहार निन्दनीय थियो,’ तिवारी भन्छन् ।

तिवारीले कोलकाताका लागि ५५ खेल खेलेका छन् । ‘त्यो घटनाले मलाई पनि खराब खेलाडीका रुपमा चित्रण गरायो । उनको चरित्रमा पनि क्षत्ति पू¥यायो । सिनियर खेलाडी भएर पनि उनले आफ्नो फरक चरित्र उजागर गरेका थिए । म अहिले पनि उनलाई सम्मान गर्छु । मेरो चरित्र पनि कसैसँग झगडा गर्ने खालको छैन,’ तिवारीले भनेका छन् ।

तिवारीले आफू कोलकातामा रहुञ्जेल गम्भिरसँग कहिले पनि सुमधुर सम्बन्ध नभएको बताएका छन् । ‘एउटा खेलाडीका रुपमा खेलको विषयमा सबैलाई आफ्नो धारणा राख्ने अधिकार हुन्छ । तर, कतिपय ब्यक्ति अरुको विचारलाई पचाउन सक्दैनन् । त्यही घटनाले हामीबिचको सम्बन्धलाई धुमिल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो,’ तिवारी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप