शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयको नेतृत्व कस्तो हुने ?

बिहीबार, १० फागुन २०८०, ०९ : ४९
बिहीबार, १० फागुन २०८०

औपचारिक रूपमा ६ दशक नाघिसक्दा पनि नेपालको उच्च शिक्षा अझै पनि विश्व प्राज्ञिक जगत्मा स्थापित हुन सकिरहेको छैन । यो झन्–झन् समस्याग्रस्त हुँदै गएको देखिन्छ । 

यसको दृष्टान्तमा हाम्रो सबैभन्दा पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालय (२०१६ सालमा स्थापित)लाई लिने गरिन्छ । देशका अन्य विश्वविद्यालयको हकमा त्रिविविको अवस्था नाजुक छ । 

यता, काठमाडौँ विश्वविद्यालयले आफूलाई स्थापित गर्दै गरेको देख्न सकिन्छ, तर यसले नेपालको उच्च शिक्षाको ज्यादै थोरै हिस्सा मात्र ओगटेको छ । केही पुराना पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले पनि आफूलाई प्राज्ञिक जगत्मा स्थापित गर्न सकिरहेका छैनन् । मूलतः यी विश्वविद्यालय अन्य उच्च शैक्षिक संस्थालाई सम्बन्धन दिँदै आफ्नो मातहतमा ल्याएर उच्च शिक्षाको प्रशासनिक उच्च निकायका रूपमा मात्रै चल्दै आएका छन् । 

सन् २०१० तिर स्थापना भएका सुदूरपश्चिम विश्वविद्यालय (सुपविवि) र मध्यपश्चिम विश्वविद्यालय अझै संघर्षरत छन् । अर्थात् यी विश्वविद्यालयले निकै ठूला चुनौतीको सामना गरिरहेका छन्, जसलाई समाधान गर्न नसकेसम्म यिनीहरू प्राज्ञिक जगत्मा स्थापित हुन सक्ने देखिँदैन । त्यसपछि स्थापना भएका अन्य विश्वविद्यालयको केही भन्न सकिने अवस्था छैन ।

झन्डै दुई दशकदेखि सुदूरपश्चिम क्षेत्रमा रही यहाँको उच्च शिक्षामा सेवा गरिरहेको र २०७७ सालपश्चात् सुपविविको आंगिक क्याम्पसमा प्राध्यापन गर्दै आएको अनुभव यस पंक्तिकारसँग छ । यसै आधारमा यहाँ सुपविविको भावी नेतृत्वले विशेष ध्यान दिनुपर्ने सवालहरूको चर्चा गर्दै छु । 

  • सेमेस्टर प्रणाली

सेमेस्टर प्रणालीलाई उच्च शैक्षिक संस्थामा अत्यधिक प्रचलनमा आएको गुणस्तरीय शैक्षिक प्रणालीका रूपमा लिइन्छ । त्यसैले होला, नेपालका विश्वविद्यालयले पनि यस प्रणालीलाई निकै जोड दिएका छन् । सुपविविले त आफ्ना सबै शैक्षिक कार्यक्रमलाई सेमेस्टर प्रणालीमै सञ्चालन गर्दै आएको छ, अभ्यासका आधारमा भन्ने हो भने सेमेस्टर प्रणाली अनुरूपका कार्य न्यून स्तरमा भएका देखिन्छन् । यो सहज शिक्षण प्रणाली हुँदाहुँदै पनि झन् जटिल र असहज बन्दै गएको देखिन्छ । यसैले होला, विद्यार्थीको उत्तीर्ण औसत पनि न्यून छ । यसर्थ सुपविविका सबै सङ्कायमा अनिवार्य रूपमा यो प्रणाली लागू गरिनु कति औचित्यपूर्ण छ ? यो सवाल निकै सान्दर्भिक देखिन्छ । यसर्थ, यस प्रणालीका बारेमा थप अध्ययन गरी गम्भीर रूपमा छलफल गर्दै सुधार गर्नुपर्ने देखिन्छ । 

  • प्राध्यापक व्यवस्थापन

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अवस्थित सामुदायिक क्याम्पसहरूलाई समायोजन गरी सुपविवि बनाइएको हो र यो प्रक्रिया अझै जारी छ । यो अवस्थामा विभिन्न अवस्था र स्तरमा रहेका प्राध्यापकहरूको उचित व्यवस्थापन अझै पनि चुनौतीपूर्ण छ । 

स्थायी सेवा गर्दै आएका प्राध्यापकको हकमा यो कार्य सहज रहे पनि करार र आंशिक सेवाका प्राध्यापकको उचित व्यवस्थापन त्यति सहज देखिँदैन, किनकि राज्यको उच्च शिक्षामा लगानी निकै कम छ । विश्वविद्यालयलाई आवश्यक पर्ने प्राध्यापक व्यवस्थापनका लागि राज्यसँगै लड्नुपर्ने देखिन्छ, जुन कुरा हालसम्मको अनुभवले त्यति सहज देखिएको छैन, तर प्राध्यापक तथा कर्मचारीको उचित व्यवस्थापन अविलम्ब सम्बोधन गर्नुपर्ने देखिन्छ । 

  • पाठ्य सामग्री तथा पाठ्य पुस्तकको अभाव

प्रत्येक विश्वविद्यालयको आफ्नै शैक्षिक कार्यक्रम र त्यसैअनुरूपको पाठ्यक्रम हुनु स्वाभाविक हो, तर हाम्रो सन्दर्भमा पाठ्यक्रममा समावेश गरिएका कतिपय सन्दर्भ स्रोत सहज उपलब्ध छैनन् । कतिपय विद्यार्थीको इन्टरनेटको प्रयोग गरेर पढ्ने बानी छैन, कतिपय विद्यार्थी इन्टरनेटको पहुँचबाटै वञ्चित छन्, यसकारण विद्यार्थीलाई आवश्यक पाठ्य सामग्री वा सन्दर्भहरु कसरी सहज रुपमा उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ ध्यान जान अत्यावश्यक छ । 

  • शिक्षण सिकाइ विधि तथा गतिविधि 

शैक्षिक गुणस्तरको सुनिश्चित गर्ने मुख्य आधार भनेकै शिक्षण सिकाइ विधि र क्रियाकलाप हुन् । शिक्षक केन्द्रित विधि अनुत्पादक भएको प्रस्टिएपछि विद्यार्थीकेन्द्रित विधिको प्रयोग नै महत्त्वपूर्ण मानिन्छ र हो पनि । विद्यार्थीकेन्द्रित शिक्षण विधि भएका कारण नै सेमेस्टर प्रणाली विश्वभरि स्थापित छ । विडम्बना, हामीकहाँ शैक्षिक कार्यक्रममा त सेमेस्टर प्रणाली आयो, तर शिक्षण विधि र क्रियाकलापको प्रयोग भने उही पुरानै शिक्षककेन्द्रित छ । जस कारण हामीले प्रयोग गरेको सेमेस्टर प्रणालीमै प्रश्न उठ्न थालेको छ, वास्तवमा हामीले प्रयोग गरेको प्रणाली ‘हाइब्रिड सेमेस्टर’ भएको छ । यसका बारेमा गहन अध्ययन, अनुसन्धान र छलफल जरुरी देखिन्छ । 

  • मूल्याङ्कन प्रक्रिया

अध्ययनको विषयवस्तु, शिक्षण विधि तथा सिकाइ क्रियाकलाप र मूल्याङ्कनबिचको उचित समन्वय हुन नसक्दा पनि विश्वविद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्न जान्छ । विशेषगरी सेमेस्टर प्रणालीमा विद्यार्थीको आन्तरिक मूल्याङ्कन निरन्तर चलिरहन्छ । अन्तिम मूल्याङ्कनमा पनि सेमेस्टर प्रणालीको भूमिका महत्त्वपूर्ण (४० वा ५० प्रतिशतसम्म) रहन्छ, त्यसैले सेमेस्टर प्रणालीलाई कतिको प्रभावकारी रूपमा प्रयोग गरिएको छ भन्ने पक्षमा ध्यान दिन आवश्यक हुन्छ । सुपविविको सन्दर्भमा सेमेस्टर प्रणालीको अवस्था कस्तो छ र अझै कसरी सुधार गर्न सकिन्छ भन्नेबारे गम्भीरतापूर्वक लाग्नुपर्ने देखिन्छ । 

  • अनुसन्धान र नवप्रवर्तन कार्यहरू

उच्च शिक्षाको प्रमुख दायित्व भनेकै अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित हुनु र त्यसबाट विविध क्षेत्रमा नयाँ ज्ञान वा प्रविधिको आविष्कार र विकास गर्दै जानु हो । यस प्रमुख कार्यभारबाट हाम्रा विश्वविद्यालय पन्छिदै गएका छन्, यो कार्यभार सन्तोषजनक नभएको अवस्था छ । भर्खरै एक दशक पार गर्दै गरेको सुपविविजस्ता विश्वविद्यालयले त यसका लागि थुप्रै कार्य गर्नुपर्ने देखिन्छ । यससँग सम्बन्धित प्रमुख तीन समस्या देखिन्छन्— १) डा. महावीर पुनले भनेजस्तै हामीकहाँ खोज तथा नवप्रवर्तनको संस्कार छैन ।  २) पुँजीको अभाव छ । ३) विज्ञताको अभाव छ । यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ ।

  • प्राविधिक तथा व्यावसायिक शिक्षा

हामीले देशको विभिन्न क्षेत्रका आवश्यक जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौँ, उत्पादित केही दक्ष जनशक्ति पनि विदेश पलायन भएका छन् । हाम्रो परिवेश (हावा, पानी, माटो, वनस्पति तथा अन्य प्राकृतिक स्रोतहरू) अनुसारको उद्योग व्यवसाय खुल्छन् र सो अनुसार प्रविधिको पनि विकास तथा प्रयोग गरिन्छ भने उत्पादित दक्ष जनशक्तिलाई देशभित्रै आकर्षक रोजगारी दिन सकिन्छ । यसो हुँदा देशको साधन–स्रोतको उचित व्यवस्थापन हुँदै जान्छ र त्यसका लागि आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ । 

यो अवस्थामा सुपविविजस्ता विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने हुन्छ, जुन चुनौतीपूर्ण छँदै छ । 

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी 

उच्च शिक्षाको दायरा धेरै व्यापक छ, यसको पूर्णता सम्भव छैन र त यो विकास हुँदै जान्छ । यसर्थ, उच्च शिक्षाको यसै स्वरूपअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि विश्वविद्यालयको स्थापना भएका हुन् । त्यस कारण कुनै पनि विश्वविद्यालयले आफ्ना कार्यक्रम तथा सम्बन्धित प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई देशभित्र वा बाहिर रहेका अन्य विश्वविद्यालयसँग सहकार्य गर्न आवश्यक हुन्छ । यस प्रकारको साझेदारी उच्च शैक्षिक संस्थासँग मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य सबै सरकारी र गैरसरकारी संस्थासँग पनि गर्नुपर्ने देखिन्छ । यो आवश्यकता र औचित्यका आधारमा निर्धारण हुने कुरा हो । सुपविविजस्ता हुर्कंदै गरेका विश्वविद्यालयले त यसका लागि धेरै नै काम गर्नुपर्ने देखिन्छ । 

  • विविध 

विश्वविद्यालयको दायरा र दायित्व अत्यन्तै फराकिलो छ । यसर्थ, सुपविविको नेतृत्वले गर्नुपर्ने थुप्रै कार्य छन् । विश्वविद्यालयसँग रहेको भौतिक र प्राज्ञिक साधन–स्रोतको अधिकतम सदुपयोग गर्न आवश्यक छ । अर्कोतिर भौतिक र प्राज्ञिक साधन–स्रोतको प्रयोगलाई कसरी वृद्धि गर्ने भन्नेमा पनि ध्यान जान आवश्यक छ । विश्वविद्यालयले विभिन्न निकायहरूको निर्माण गर्दै सम्बन्धित क्षेत्रमा काम गर्नका लागि स्वायत्तता प्रदान गर्ने गर्छ । सुपविविमा पनि यस्ता निकाय स्थापित भएका छन् । अब ती निकायलाई कसरी प्रभावकारी बनाउने र अन्य आवश्यक निकायको स्थापना र विकास कसरी गर्ने भन्ने कार्यभार पनि उत्तिकै महत्त्वपूर्ण र चुनौतीपूर्ण देखिन्छ । 

नेपालको उच्च शिक्षा तथा विश्वविद्यालय अपेक्षित रूपमा अघि नबढेको तथ्य सबैका सामु प्रस्ट नै छ र यसै तथ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले सुधारका लागि कदम चालिरहेको देखिन्छ । यस प्रकारको उच्च शिक्षा सुधारको प्रयासमा साथ दिनु हामी सबैको कर्तव्य हो भने झन् उच्च शिक्षामा प्रत्यक्ष संलग्न र नेतृत्व गर्ने प्राज्ञिक व्यक्ति, प्राध्यापकहरूको त प्रमुख जिम्मेवारी नै हो । 

लेखको सन्दर्भ विशेषगरी सुपविवि भए पनि, यी चुनौती तथा कार्यभार नेपालका सबै विश्वविद्यालयका साझा हुन्, मात्र धेरै वा थोरै भन्ने हो । सुपविविका लागि यी समस्या निकै चुनौतीपूर्ण रहेको यस पंक्तिकारको ठम्याइ हो । तथापि यी चुनौतीको सामना गर्दै समाधान उन्मुख हुनु हाम्रो दायित्व हो । 

(लेखक डा. कमली सुदूरपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. हरिचन्द्र कमली
डा. हरिचन्द्र कमली
लेखकबाट थप