हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरेर के हुन्छ ?
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको ८० जनाको जम्बो टोलीले बुधबारदेखि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरिरहेको छ । उक्त पदयात्राले २४३ किलोमिटरको दुरी ७ दिनभित्रमा पुरा गर्नेछ । त्यसक्रममा हात्तीबाट पीडित बनेका जनताको अवस्था, हात्ती–मानवबिचको द्वन्द्व अन्त्यको लागि गर्नुपर्ने पहलको विषयमा अध्ययन हुने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
झापाको मेचीनगर नगरपालिका–१ स्थित प्रसाद गौँडाबाट सुरु भएको पदयात्रा फागुन १५ गते उदयपुरको कटारीस्थित बेलसोत बजारमा पुगेर समापन हुनेछ । पदयात्राले तय गरेको उक्त क्षेत्र हात्तीको बाटो मानिन्छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा पदयात्रा आयोजना गरिएको हो । पदयात्राका क्रममा स्थानीय वन समूहहरूले वासस्थान र खानपानको व्यवस्थापन गर्नेछन् ।
पदयात्राका क्रममा मुख्यमन्त्री कार्कीले झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्नेछन् । तथ्याङ्क अनुसार सो क्षेत्रमा २०६७ यता हात्तीसँगको द्वन्द्वमा परी ६५ जना मानिसको र २१ वटा हात्तीको मृत्यु भइसकेको छ ।
यस्तै प्रदेश सरकार पर्यटन मन्त्रालयले पदयात्राकै लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा–२०८०’ भन्ने नाराका साथ सुरु भएको पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, हात्ती विज्ञ, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, नागरिक समाज एवं पीडित क्षेत्रका नागरिकहरूको सहभागिता छ ।
कोशी प्रदेश सरकारले हात्ती कोरिडोर क्षेत्र स्थापना गर्ने भन्दै चालू आर्थिक वर्षको बजेटमा जंगली हात्ती प्रभावित क्षेत्रमा हात्तीहरुको कोरिडोर म्यापिङ तथा कोरिडोर व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययनको नाममा ५० लाख र जंगली हात्तीहरुको रेफ्युजि निर्माण (मास्टरप्लान कार्यान्वयन)को लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त बजेट सक्नका लागि पदयात्रा गरिएको आलोचकहरूले टिप्पणी गरिरहेका छन् । उता मुख्यमन्त्री केदार कार्की भने पदयात्राले जंगल, जनता, जनप्रतिनिधि र जनावरबिचको सम्बन्ध स्थापित गर्ने दाबी गर्छन् । ‘जनताको बाँच्ने अधिकारलाई सुरक्षित गर्ने, जनताको जिविकोपार्जनमा पनि सुरक्षित गर्ने । सँगै जंगली जनावरको अधिकारलाई पनि सरकारले संरक्षण गर्ने यसको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पदयात्राका क्रममा आएका सुझावलाई संकलन गर्दै जाँदैछौं । त्यो सुझावको आधारमा हामी निचोडमा पुग्छौँ । त्यसपछि हात्ती प्रभावित क्षेत्रका पालिकाका जनप्रनिधिहरुसँग छलफल गर्छौँ । त्यो छलफलको निष्कर्षअनुसार आगामी बजेटमा सम्बोधन गर्छौँ ।,’
मुख्यमन्त्री कार्कीले थप भने, ‘जंगलको छेउका मानिसको दर्द बुझ्न पैदल यात्रा गरिरहेका छौं । अहिले मानिसहरू उत्साहित हुनुहुन्छ । आफ्ना कुरा सुनाउन सहर जानुपथ्र्यो । तर, अहिले घर आँगनमै प्रदेश सरकार आयो भन्ने आभास दिन पनि सफल हुनेछौँ ।’ हात्ती प्रभावित जनताले आफूहरूसँग जीवन बचाउन र जीविकोपार्जन गर्न सक्ने बताउन माग गरेको मुख्यमन्त्री कार्कीले बताए ।
उता, हात्ती प्रभावित क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद गोपाल तामाङले क्षणिक लोकप्रियताको लागि र जनताको अगाडि बोल्नकै लागि पदयात्रा गरेर मात्रै नहुने बताउँछन् । ‘हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरू हात्तीमैत्री भन्दा पनि हात्तीलाई नियन्त्रण गर्नुपर्छ भन्ने भावना राख्छन् । मोर्डन हिसाबले हात्तीलाई संरक्षण गर्ने, हात्ती कोरिडोर बनाउने, पर्यटन विकास गर्ने र आम्दानी गर्ने भन्ने विषय अहिले पुरा हुँदैन । त्यो गर्न सक्ने आधार र सोत पर्याप्त छैन,’ उनले भने, ‘सम्भाव्यता अध्ययन भनेर ५० लाख छुटाउनु भएको छ । पैदल यात्रा गरेर के अध्ययन गर्ने ? हात्ती कोरिडोर बनाउन सम्भव छ कि छैन । ब्राजिल र अफ्रिकाको कल्पना गरेर हामीले पुर्याउन सक्छौँ ? ।’
पदयात्राले खासै उपलब्धि नहुने उनको तर्क छ । ‘यसले खासै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन । हात्तीले मान्छे मारिरहेको छ । हात्तीले क्षति गरेका जनताको धनमालको क्षतिपूर्ति दिन सकिरहेको छैन । अनि के को हात्ती कोरिडोर भनेर हात्ती मैत्री भनेर हुन्छ ?,’ उनले भने, ‘हात्ती बस्ने सेल्टर बनाएर जानसक्ने हामीसँग त्यो क्षमता नै छैन । क्षणिक लोकप्रियताको लागि बोलेर मात्रै हुँदैन । त्यहाँको बासिन्दाको घरजग्गा सार्न हामी सक्छौँ ? त्यो प्रदेश सरकारले सक्छ ? हात्तीको कोरिडोर बनाउन त उसलाई निस्फिक्री हिंड्न सक्ने ठाउँ बनाउन सक्छौँ ? गफ र काम भन्ने कुरा फरक छ नि ।’
पदयात्रामा हिँडिरहेका हात्ती विज्ञ नरेन्द्रबाबु प्रधानले सरकार हात्तीपीडितको क्षेत्रमा गएर समस्या सुन्नु नै ठुलो कुरा भएको बताउँछन् । ‘सरकारले हेरेन भन्ने जुन एक किसिमको गुनासो छ । त्यो गुनासो सम्बोधन गर्नका लागि सरकार आफैँ गाउँ गाउँमा आएको छ भन्ने एउटा सन्देश दिएको छ । जब मुख्यमन्त्री आफैँ गाउँ गाउँमा आएर हेर्दै जानुहुन्छ भने केही न केही राहत र कार्यक्रम आउनै पर्यो नि त ? त्यो राम्रो हो,’ उनले भने, ‘अर्को कुरा हात्तीमैत्री, हात्तीसँग सहअस्तित्वमा बाँच्नुपर्छ भन्ने किसिमको चेतना र त्यसरी बाँच्नको लागि सरकारले के गर्न सक्छ भन्ने कुरा नीति, रणनीति तयार पार्न पदयात्राले सजिलो हुन्छ । पहिले पहिले अरूले नीति, रणनीति बनाउँदथे । सरकारका मन्त्री, मुख्यमन्त्रीलाई थाहा नै हुँदैन थियो । तर, अहिले आफैँ हिँडेर तयार गरेको कुरा त सम्बोधन होला नि त । यो चाहिँ सरकारले ठुलो जिम्मेवारी लिन खोजेजस्तो लाग्छ ।’
यद्यपि पदयात्रा पछि पनि नीतिगत ढङ्गले यसको समाधानमा सरकारले चासो नदिने हो भने त्यो दुःखद हुने उनले बताए । ‘जनताले आगामी दिनमा अरू योजना बनाए पनि पत्याउँदैनन् । यो यात्रामै सीमित हुनुहुँदैन,’ यसले नीतिगत तहबाटै समाधान ल्याउनु पर्छ ।
जीव विज्ञ रामचन्द्र अधिकारीले पनि समस्या बुझ्न सरकार हिँड्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘समस्या बुझ्न हिँडेको, समाधान खोज्न हिँडेको हो भने ठिकै हो । केही नहुनुभन्दा केही हुनु राम्रै कुरा हो । तर, समस्या समाधान नगरेर हिँड्ने मात्रै कामले हात्ती नियन्त्रण हुने कुरा पनि होइन,’ उनले भने, ‘हात्तीलाई छेक्ने रोक्ने गर्न खोजियो भने झनै द्वन्द्व बढ्छ । यसलाई नियन्त्रण गर्ने र कोरिडोर बनाउने हो भने भारतसँगको समन्वयमा गर्नुपर्छ । यो एउटा प्रदेश वा एउटा देशले मात्रै गरेर हुन सक्छ जस्तो मलाई लाग्दैन ।’