शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कांग्रेस महासमिति बैठक

समूहगत छलफल आजै सकिने, ३० प्रतिशतलाई मात्र बोल्ने मौका

बुधबार, ०९ फागुन २०८०, १८ : ४१
बुधबार, ०९ फागुन २०८०

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकको समूहगत छलफल आजै सकिने भएको छ । ललितपुरको गोदावरीमा यही फागुन ७ देखि सुरु भएको महासमिति बैठकमा चार समूह बनाएर समूहगत छलफल भइरहेको छ । 

उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि सदस्यहरुले राय राख्ने क्रम जारी छ । 

प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरुलाई गोदावरी हल, कर्णाली र मधेस प्रदेशका लागि विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुलाई कोन्ज्योसोम हल छुट्याइएको छ । चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले महासमिति सदस्यहरुको सुझावहरुलाई टिपोट गरिरहेका छन् ।

विभिन्न चार वटा हलमा भएको बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा व्यक्त गरेका थिए । 

छलफलमा देशभरबाट आएका महासमिति सदस्यहरुले पनि प्रतिवेदनमा आफ्नो विचार राखेका थिए । महासमितिमा पेस भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरुले सुधारका केही सुझावहरु पेस गरेका थिए ।

छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरुले आफ्नो धारणा राखेका छन् । ६० प्रतिशत महासमिति सदस्यलाई धारणा राख्न दिने बताइए पनि ३० प्रतिशतले पनि बोल्न नपाउने देखिएको छ । अहिलेसम्म करिब ४ सय जनाले मात्र धारणा राखेका छन् । महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहेको कांग्रेसले जनाएको छ ।

महासमिति बैठकमा कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नु पर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरुलाई रोक्नक नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै  पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने,  पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलश्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबिचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वाधार विकास गरी खेल पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको संकटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने लगायतका विषयमा उनीहरूको जोड छ  । सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरुले सुझाव दिए ।

महासमिति बैठकको बन्द सत्रको बिहानी सत्रमा मूल हलमा समूहगत छलफलबाट प्राप्त सुझावहरु प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने छन् । त्यसपछि बिहीबार नै अपराह्न २:३० बजेपछि समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप