बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
महासमिति बैठक

‘सिटौलाले राष्ट्रियसभा अध्यक्ष पाउने माहोललाई खलबल्याउने प्रयत्न भयो’

बुधबार, ०९ फागुन २०८०, १५ : २७
बुधबार, ०९ फागुन २०८०

ललितपुर । नेपाली कांग्रेस राष्ट्रियसभा दलका नेता रमेशजंग रायमाझीले महामन्त्री गगन थापाको प्रतिवेदनको चर्को आलोचना गरेका छन् । उनले गगनले वर्तमान गठबन्धनलाई गिजोल्ने गरी महासमिति बैठकमा प्रस्ताव पेश गरेको भन्दै यसले पार्टीकै पनि हित नहुने बताए । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको बन्दसत्रमा बुधबार समूहगत छलफलमा भाग लिँदै उनले  महासमिति बैठकमा भविष्यमा गठबन्धन नगर्ने भनेर आएको प्रस्ताव वर्तमान गठबन्धनलाई गिजोल्ने गरेर आएको बताउँदै भने, ‘यसले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसले पाउने माहोललाई खलबल्याउने प्रयत्न गरिरहेको छ ।’

नेता कृष्ण सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउनुभन्दा अघि नै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच अध्यक्ष दिने भनेर एकखालको सहमति भएको उनको जिकिर छ । तर, पार्टीमा एकाएक गठबन्धनलाई गिजोल्ने प्रयत्न हुँदा त्यो नपाउने हो कि भन्ने आशंका पैदा हुन थालिसकेको बताए । ‘हामीले के अध्यक्ष नलिन चाहेको हो ?’, उनको प्रश्न थियो । 

उनले मंगलबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबिच ५० मिनेट छलफल भएको पनि बैठकलाई बताए । ‘यो विषयलाई नेताहरुले कसरी लिनुभएको छ ?’, उनले भने, ‘भोलिका दिनमा गठबन्धन तलमाथि हुँदा हामी कतिका ओठमुख सुक्ने हुन् ? हामी सबै सुकाउन तयार हो ?’

गठबन्धनलाई रणनीतिक विषयमात्र बनाउनुपर्ने तर नीतिका रुपमा ल्याइन नहुने उनको धारणा छ । रणनीति काल परिस्थितिअनुसार निर्माण हुनुपर्ने उनको धारणा छ । उनले हिजो गठबन्धनको मतको बलमा चुनाव जितेकाहरुले नै अहिले गठबन्धनको विरोध गरिरहेको भन्दै उनले आक्रोश पनि पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप