शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमिति बैठकमा जुम्लाका ‘बड्डा’ गाँजाको कोट र टोपीको व्यापार चम्काउँदै

बुधबार, ०९ फागुन २०८०, १४ : ३६
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा पार्टीको आगामी नीति कस्तो बनाउने भनेर कांग्रेसका केन्द्रीय तहका नेता, देशभरबाट आएका महासमिति सदस्यहरू भेला भइरहेका छन् । सोही हलको बाहिर सडक किनारमा बसेर कांग्रेस नेता कार्यकर्ताहरूलाई गाँजा र अल्लोको कोट र टोपी बेचिरहेका छन् जुम्लाका गोर्ख बुढा ।   

जुम्ला सिञ्जा गाउँपालिका वडा नम्बर ४ घर भएका बुढा आफू पनि कांग्रेसको साधारण सदस्य रहेको र साथीभाइले पार्टीको कार्यत्रम हुन लागेको बताएपछि व्यापार गर्न आएको बताए । 

उनले भने– ‘नेताहरूले अल्लो र गाँजाबाट बनेको कोट मन पराउँछन् सर, त्यही भएर नेताहरू धेरै हुने ठाउँमा बिक्री गर्न आएको । टोपी लगाउँछन्, कोट लगाउँछन् । म पनि एउटा नेपाली कांग्रेसको साधारण सदस्य हुँ, पार्टीका साथीले मलाई त्यहाँ आउनु बड्डा भनेर खबर गरेकोले यहाँ आएको । साथीहरूले किनेर लगिरहनुभएको छ ।’

उनले कांग्रेस महासमिति बैठकको पहिलो दिन र दोस्रो दिन गरेर गाँजा र अल्लोबाट बनेको १२ वटा कोट बिक्री गरे । यस्तै पहिलो दिन ३० वटा र दोस्रो दिन २५ वटा टोपी बिक्री भएको उनले बताए ।

आफू व्यापारका लागि आएपछि अरू व्यक्ति पनि गाँजा र अल्लोको कोट टोपी बेच्न आएपछि दोस्रो दिन अलि कम व्यापार भएको बुढाले बताए । 

उनले कोटको मूल्य ४५ सय राखेका छन् भने टोपी प्रतिगोटा ३ सयमा बिक्री गरिरहेका छन् । यी समानहरू जुम्लामा आफैँले बनाउने गरेको उनले बताए ।

उनले भने– ‘जुम्लामा हामी तान लगाएर गाँजा, अल्लोबाट हामी आफैँ धागो निकालेर कपडा बुन्छौँ । राडी पाखी पनि बनाउँछौँ । जुम्लामा हामी ठेटुवा भन्थ्यौँ, यहाँ काठमाडौँमा खाडी भन्छन्, दौरा सुरुवालका लागि राम्रो हुने खाडीको कपडा नेताहरूले मन पराउने भएर बेच्न राखेको छु ।’  

उनले अघि पछिका बेला भने विभिन्न सरकारी कार्यालयमा गएर यस्ता कपडाका सामानहरू बिक्री गर्ने गरेको बताए ।  

बुढाले भने– ‘म अरुबेला खानेपानीको अफिस, अदालत, मालपोत र अरू सरकारी कार्यालयमा गएर पनि बेच्छु । गेटबाट पालेले भित्र जान दिए भित्रै गएर बेच्छु नत्र गेटमा बसेर बेच्ने गरेको छु । कर्मचारीहरूले पनि यस्ता कपडाहरू मन पराउनुहुन्छ ।’

झोलामा बोकेर यस्ता सामान बिक्रीका लागि सरकारी कार्यालय पुग्ने गरेका बुढाले यसरी व्यापार गरेरै ५ जना छोराहरूलाई पढाएको र घर खर्च चलाउन सजिलो भएको बताए । 

कान्छो छोरा पढ्दै गरेको, २ जना छोराहरू सरकारी जागिरे र २ जना छोरा करारमा जागिरे रहेको उनले सुनाए । 

उनले यस्ता कार्यक्रम भएको बेला आफ्नो व्यापार धेरै हुने गरेको बताए ।  बुढाले भने– ‘दिनमा अघिपछि अलि कम नै व्यापार हुन्छ, यस्तो कार्यक्रम भएपछि अलि धेरै जान्छ । कोइदिन व्यापार धेर हुन्छ सर कोइदिन हुँदैन । नामै व्यापार, कि वार कि पार, ठेगान हुँदैन ।’

गर्मी तथा जाडो दुवै मौसममा गाँजा र अल्लोको कपडा निकै उपयोगी हुने र आफ्नै स्वदेशी उत्पादन बिक्री गर्न लागिपरेको उनले सुनाए । फागुन ७ गतेदेखि १० गतेसम्म जारी कांग्रेस महासमिति बैठक स्थल गोदावरी सनराइज हलबाहिर उनीजस्तै कपडा, फलफूल, अचार लगायतका सामग्रीका बिक्रेताहरूको चहलपहल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप