शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : मातृभाषा दिवस

मधेसमा मातृभाषा र शिक्षा

बुधबार, ०९ फागुन २०८०, ११ : १७
बुधबार, ०९ फागुन २०८०

भनिन्छ, मातृभाषा मानिसका लागि सबथोक हो । जीवन संघर्षको दुनियाँमा मातृभाषाको अहं भूमिका हुन्छ । भाषा भनेकै विचार गर्ने यन्त्र हो । विचार तब नै जन्मन्छ, जब आफ्नो भाषामा बोल्न, लेख्न र पढ्न पाइन्छ । 

मातृभाषा र स्थानीय विषय शिक्षालाई बेवास्ता गर्ने हाम्रो शिक्षा प्रणालीले नेपाली मौलिक, कला, संस्कृति र सौन्दर्य बुझेको नागरिक उत्पादन गर्ला ? बालबालिकाको दिमागमा पश्चिमा संस्कृति र बाहिरी आडम्बरी शिक्षा हुलेर यो सम्भव छैन । संस्थागत स्कुलले २५ केजी वजन भएको बच्चालाई १० केजीको झोला बोकाइरहेका छन् । त्यो झोलाभित्र आमाको काखबाट सिकेको भाषाको न एउटा किताब हुन्छ, न त उसको गाउँ, परिवेश, समाज, इतिहास, संस्कृति र सभ्यता जोडिएको स्थानीय विषयको कुनै किताब । विद्यार्थीलाई बच्चैदेखि अंग्रेजी घोकाएर अमेरिका र बेलायत उड्ने मनोविज्ञान विकास गरिएको छ । अनि ऊ १० कक्षा पुग्दानपुग्दै परिवार नचिन्ने, समाज नबुझ्ने अर्कै मान्छे बन्छ । 

अहिले अमेरिकाको भिसा लाग्ने हो भने कोही पनि युवा नेपाल बस्दैनन् । आफ्नो देशप्रतिको मोह हराएको जनशक्ति उत्पादन गर्ने हाम्रो शिक्षा प्रणाली मुख्य जिम्मेवार छ । त्यसकारण यस्तो शिक्षाबाट भोलिका दिनमा हाम्रो गाउँ, समाज र नेपाल भन्ने देश बनाउने जनशक्ति तयार हुन्छ कि युरोप, अमेरिका बनाउने जनशक्ति ? 

नेपालको तथ्यांकमा देखिएका १२३ भाषामध्ये ६ दर्जनभन्दा बढी भाषा आदिवासीले बचाइराखेका छन् । अहिले देशमा अंग्रेजी र नेपाली भाषा हाबी हुँदै गइरहेको छ । त्यसका साथसाथै कोरियन भाषा, जापानिज भाषा र अरु देशका भाषाहरूप्रति युवाको मोह बढ्न थालेको छ । त्यो स्वाभाविक पनि हो । किनभने यो जीवनयापनसँग जोडिएको विषय हो । यसै सन्दर्भमा एक समयताका जब भारतमा अंग्रेजी भाषाको हाबी हुँदै जाँदा महात्मा गान्धीले भनेका थिए, ‘मातृभाषा भनेको आमाको दूध हो र बेलायती भाषा भनेको पाउडरको दूध हो । आमाको दूधबाट बच्चा जति तन्दुरुस्त हुन्छ, त्यति पाउडरको दूधबाट सम्भव छैन । पाउडरको दूधले दक्ष र बलियो जनशक्ति निर्माणमा टेवा पु¥याउँदैन ।’ 

तथ्यांकमा देखिएका १२३ भाषामध्ये ६ दर्जनभन्दा बढी भाषा आदिवासीले बचाइराखेका छन् । अहिले देशमा अंग्रेजी र नेपाली भाषा हाबी हुँदै गइरहेको छ । त्यसका साथसाथै कोरियन भाषा, जापानिज भाषा र अरु देशका भाषाहरूप्रति युवाको मोह बढ्न थालेको छ ।

 

नेपालको दोस्रो भाषा मैथिली हो, जुन भाषा मधेसका अधिकांश जनताले बोल्ने गर्छन् । अहिले दिन प्रतिदिन मधेसका भाषाहरू (मैथली, भोजपुरी, अवधी लगायत) लोप हुँदै गइरहेका छन् । त्यसलाई जोगाउने दायित्व सरकारको हुनुपर्छ । जबसम्म विद्यार्थीले आधारभूत शिक्षा आफ्नो मातृभाषामा पढ्दैनन्, तबसम्म दक्ष हुँदैनन् । अहिले मधेसमा शिक्षास्तर विभिन्न प्रदेशभन्दा खस्किँदो अवस्थामा छ । त्यसको प्रमुख कारण मातृभाषामा पढाइ नहुनु हो । कमसे कम एउटा विषय पनि मातृभाषामा पढाइ भयो भने आउने दिनमा विद्यार्थीलाई पढाइप्रति रुचि जाग्छ । जब कि घरमा सिकेको एउटा भाषा र स्कुल जाँदा अर्को भाषामा पढाइ हुँदा विद्यार्थीलाई पहाड बोकेझैँ अनुभूति हुन्छ । अनि विद्यार्थी अलमलमा पर्छ । 

मधेसका अधिकांश कक्षा १० का विद्यार्थीलाई पनि नेपाली भाषा राम्रोसँग बोल्न आउँदैनन् । त्यसैले मधेसी मूलका विद्यार्थी आफ्नो मैथिली भाषा पनि विद्यालयमा पढाइ हुनुपर्ने माग राख्छन् । विद्यार्थीको परिवारमा बोलिने स्थानीय भाषा आफ्नो विद्यालयमा पढाइ हुने भए पनि उनीहरूलाई केही रुचि हुन्थ्यो होला । विद्यालयमा अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र नेपाली सिक्नैपर्ने हुन्छ, अनिवार्य नै गरिएको छ । नर्सरीमा भर्ना भएका विद्यार्थीका लागि भाषाका रूपमा यी दुई भाषा सिक्न धेरै समय लाग्छ । विश्वमा प्रचलनमा रहेका जुनसुकै भाषा लेख्न सक्नु वा बोल्न सक्नु राम्रो कुरा हो । यसले विद्यार्थीमा ज्ञानको भण्डार बढाउँछ र विश्वको जुनसुकै कुनामा गए पनि प्रयोग हुन सक्छ, तर आफ्नो मातृभाषा वा स्थानीय भाषा नै नजानी अरु भाषा बोल्नुपर्दा आफ्नै भाषा लोप हुने डर रहन्छ । त्यसलाई मध्यनजर गर्दै मधेसका केही विद्वान्ले पाठ्यक्रम अनुसार मैथिली भाषामा किताब लेखेका छन् । केही स्थानीय तहले आधारभूत शिक्षा या कक्षा ५ सम्म सय मार्कको मैथिली भाषा पढाउँछन् । अहिले मधेसका आम मानिसको यस क्षेत्रका स्कुलमाथिको भरोसा न्यून हुँदै गइरहेको छ । शिक्षणदेखि परीक्षासम्म सेटिङमा भइरहेको छ भने बुझाइ अभिभावकहरूमा बाक्लिएको छ । अनि उनीहरूले भन्न थालेका छन्— दरिद्र भयो स्कुल, न शिक्षा दिन सक्यो न संस्कार । त्यस कारण दिन प्रतिदिन मधेस प्रदेशका विद्यार्थी काठमाडौं, विराटनगर, चितवन र पोखराका साथै भारतका विभिन्न सहरमा पलायन हुँदै छन् । उदाहरणका लागि आधुनिक राष्ट्रिय मावि, हेटौँडामा ७० प्रतिशतको हाराहारीमा अस्थानीय अर्थात् बाहिरका विद्यार्थी छन् । सो विद्यालयको कक्षा ८, ९ र १० का एक हजार २८४ विद्यार्थीमध्ये ९२२ विद्यार्थी (करिब ७५ प्रतिशत) मधेसका जिल्लाका रहेको प्रधानाध्यापक रामसागर गुरागाईं बताउँछन् । त्यसैले देश र समाजका लागि हो शिक्षा । देश कस्तो बनाउने, कस्तो समाज बनाउने भन्ने स्कुल शिक्षाको मोडेलमा निर्भर हुन्छ । तसर्थ स्कुलको मोडेल निर्धारण गर्नुअघि देश र समाजको मोडल तय गरिनुपर्छ । 

अन्तमा, प्रत्येक भाषाको आफ्नै किसिमको बानी–व्यहोरा हुन्छ, जसलाई अर्को भाषाका आधारमा अथ्र्याउन गाह्रो पर्छ । त्यसैले भनिन्छ, दुनियाँमा कुनै पनि जात, समुदायमाथि शासन गर्नु छ भने सबभन्दा पहिला उसको भाषा खोसिहाल्नू । मधेसको शिक्षास्तरलाई सुधार्नका लागि मधेसका विभिन्न संवैधानिक अंगहरू (जस्तै : मधेस लोक सेवा आयोग, शिक्षक सेवा आयोग)मा अनिवार्य मातृभाषामा परीक्षा लिने परिपाटीको व्यवस्था अवलम्बन गरियोस् । मातृभूमि, आमा र मातृभाषाभन्दा ठूलो संसारमा केही हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम एकबाल यादव
राम एकबाल यादव
लेखकबाट थप