कांग्रेस महासमिति : पाँच प्रदिवेदनमाथि सुझाव दिन पाँच मिनेटको समय
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत पाँचवटा प्रतिवेदनमाथि आज समूहगत छलफल सुरु भएको छ । महासमिति बैठकअन्तर्गत हिजोको बन्दसत्रमा पेस भएका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूहका लागि छुट्टछुट्टै छलफल कक्ष बनाइएको छ । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेनमाथि बहस गर्नेछन् भने विशंखु नारायण हलमा मधेश र कर्णाली, फुलचोकी हलमा बागमती र गण्डकीका प्रतिनिधिले छलफल गर्नेछन् ।
यस्तै केन्ज्योसोम हल लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुको लागि छुट्याइएको छ। केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन्।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक, अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदनमाथि समूहगत रुपमा सुझाव लिँदै छ ।
एक महासमिति सदस्यले ५ प्रस्तावमाथि ५ मिनेटभित्रै सुझाव दिइसक्नुपर्नेछ। सबै प्रतिवेदनमाथि आज समूहगत छलफल गर्ने र भोलि प्रतिवेदन पारित गर्दै बैठक सक्ने कांग्रेसको तयारी छ ।