सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

पाकिस्तान : नयाँ सरकार गठनको प्रतीक्षा अन्त्य हुँदै, नवाज र बिलावलको पार्टीबिच अन्तिम सहमति

बुधबार, ०९ फागुन २०८०, १० : ४६
बुधबार, ०९ फागुन २०८०

इस्लामाबाद । पाकिस्तानमा विवादित निर्वाचनपछि नयाँ सरकार गठनको प्रतीक्षा अन्त्य हुन लागेको छ । दुई प्रमुख दलले नयाँ सरकार गठनको औपचारिक घोषणा गरेका हुन् ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) लाई समर्थन गर्ने घोषणा गरेको छ । यी दुवै दलले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारको तुलनामा कम सिट पाएका थिए ।

पीटीआईले यो नयाँ गठबन्धनलाई 'जनमतको लुटेरा' भनेको छ। पार्टीले निर्वाचनमा धाँधली भएको र सत्ताबाट बाहिर राख्न जनमत खोसिएको बताउँदै आएको छ ।

प्रारम्भिक सहमति भएको ६ दिनपछि मंगललबार पत्रकार सम्मेलन गरी पीएमएल–एन र पीपीपीले अन्तिम सहमति भएको घोषणा गरेका हुन् । पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले भने, ‘गठबन्धनको उद्देश्य देशको आर्थिक सङ्कट समाधान गर्नु हो।’

यसैबिच, पूर्व प्रधानमन्त्री तथा पीएमएल-एनका अध्यक्ष शाहबाज शरीफले आर्थिक र अन्य चुनौतीहरूको सामना गर्न संयुक्त प्रयास गरिने बताएका छन्।

पीएमएल–एन र पीपीपीबिच भएको सहमतिअनुसार शहबाज सरिफ प्रधानमन्त्री बन्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । साथै यस नयाँ गठबन्धनबाट पीपीपीका आसिफ अली जर्दारी राष्ट्रपतिको उम्मेदवार हुनेछन्। उनी यसअघि पनि देशको राष्ट्रपति भइसकेका छन् ।

प्रधानमन्त्री चयनका लागि संसदको निर्वाचन हुनेछ । यो प्रक्रिया फेब्रुअरीको अन्त्यमा हुनेछ। अबको एक सातामा देशको अर्को राष्ट्रपति चयन हुनेछ । तर, सरकारमा कुन दलले मुख्य पद पाउने र कुन दलबाट कति मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन ।

सन् २०२२ मा पनि यी दुई पार्टी एकसाथ आएका थिए, त्यसपछि इमरान खानले नाटकीय रूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

जनवरी २०२४ मा, इमरानलाई सरकारी गोप्य जानकारी लिक गरेकोमा १० वर्षको जेल सजाय सुनाइएको थियो। इमरानले यी आरोपलाई निराधार भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप