आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबारदेखि चार हलमा छलफल हुने

मङ्गलबार, ०८ फागुन २०८०, १९ : ४३
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस गरिएका छन् । सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका हुन् ।

कांग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माका अनुसार बैठकमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । यस्तै महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका छन् । 

सो क्रममा उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । जिम्मेवार नेपाली कांग्रेसः समुन्नत देश नारा दिएर कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए ।  

यस्तै महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिए । उनले भने, “पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभूत गराउनेछौँ । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।”

महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरे । 

यस्तै महामन्त्री शर्माले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरे । उनले संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्‍याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा कांग्रेस स्पष्ट भएको बताए । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरे ।  

कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मासाथ गर्ने बताए । उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिए । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय प्रणालीमा ३२१० अर्बबाट वृद्धि भई कर्जा प्रवाह ०७९ असार मसान्तसम्म ४६२१ अर्ब पुगेको डा। महतले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको बताए । अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समष्टिगत आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाएका छन् । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराए ।

सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलहरुमा छलफल हुने संयोजक मीन बहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप