शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अंग्रेजी ट्रेलरमा यस्तो देखियो ‘शाम्बाला’

मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । मीन बहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । निर्देशक भामसहितको टिम फिल्मको प्रिमिएरका लागि बर्लिन पुगिसकेको छ । 

फिल्म प्रिमियरको पूर्वसन्ध्यामा फिल्मको अंग्रेजी सबटाइटलमा ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ ।

ब्यवसायको सिलसिलामा परदेश गएका श्रीमान्को खोजिमा गर्भवती श्रीमती पेमाले गर्ने यात्राको कथामा फिल्म बनेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । ट्रेलरमा टिबेटियन भाषाको बढी प्रयोग छ । नेपाली भाषा एक दृश्यमा मात्र सुन्न पाइन्छ । कार्म, सोनम तोप्देन लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् ।

‘शाम्बाला’ बर्लिनको प्रमुख प्रतिस्पर्धा अर्थात् अन्तर्राष्ट्रिय विधातर्फ यो फिल्म छानिएको छ, जसमा विश्वका अरु १९ वटा फिल्म प्रतिस्पर्धामा छन् । बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

१४ करोड निर्माण लागत बताइएको फिल्ममा निर्देशक भाम र ‘लोरी’ निर्देशक अविनाश विक्रम शाहको संयुक्त लेखन छ । फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाईंमा खिचिएको हो । नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा फिल्म निर्माण सहकार्य भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया