पार्टी एकताका लागि नेसपाको सर्त, माओवादीमा अलमल
काठमाडौँ । फागुन १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्तालाई ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गरे । २९ औँ जनयुद्ध दिवस र प्रथम विधान अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि जोड दिएका हुन् ।
‘माओवादी जनयुद्धमा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्दछु । जति ढिलो गर्यो, त्यति ठुलो क्षति र यो राजनीति परिवर्तनप्रति घाटा हुन सक्छ । त्यसकारण आउनुहोस् । बसौँ, समीक्षा गरौँ । कहाँ कमी भए ? ठुला मनले, एउटा कम्युनिस्ट मनले आत्मालोचना गरौँ र, एक भएर प्रतिक्रियावादी तथा प्रतिक्रान्तिकारीविरूद्ध प्रतिवाद गरौँ’, उनले अपिल गरेका थिए ।
पूर्वमाओवादी घटक र समाजवादी आन्दोलनका सहयात्रीहरू एकजुट भएमा जनयुद्ध, जनआन्दोलन वा क्रान्तिको उपलब्धिमात्र नभइ समाजवादी क्रान्तिमा नयाँ लहर सृष्टि गर्न सकिने उनको भनाइ थियो । प्रचण्डले जनयुद्धमा नेतृत्व स्थापित गर्न सबैले महत्त्वपूर्ण भूमिका रहेको भन्दै जीवनको उत्तरार्द्धमा देशलाई फेरि क्रान्तितिर लैजान आफूले संकल्प गरेको बताएका थिए । नेतृत्वको लागि तर्कसहित कोही आएमा आफूले मार्गप्रशस्त गर्ने उनको भनाइ थियो ।
‘तपाईँ जहाँ भए पनि माओवादी युद्धका सहयात्रीहरूले मलाई नेतृत्वमा स्थापित गर्न मद्दत गर्नुभयो । जीवनको यो उत्तरार्द्धमा फेरि एउटा क्रान्तितिर देशलाई लिएर जाने संकल्प गरेको छु’, नेतृत्व हस्तान्तरणका लागि उनले भनेका थिए, ‘कोही कमरेडहरू आउनुहुन्छ । तर्कसहित भन्नुहुन्छ भने म नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन । यो कुरा पनि म प्रस्ट भन्न चाहन्छु । आउनोस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौँ । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूले टाउको उठाउन खोजेका छन्, तिनलाई प्रतिवाद गरौँ ।’
समाजवादी क्रान्तिको लागि आफूले संकल्प गरेको, प्रतिक्रान्तिको खतरा रोक्न पूर्वमाओवादी घटकबिच एकता आवश्यक भएको र तर्कसहित नेतृत्व दाबी गर्न आएमा पद त्याग्न तयार भएको प्रचण्डको अभिव्यक्तिले स्पष्ट पारेको छ । सोही मञ्चबाट उनले एकातिर समाजवादी मोर्चा बनेको र अर्कोतिर समान विचार भएका शक्तिहरूसँग एकता प्रक्रिया अगाडि बढेको दाबी गरेका थिए । तर एक वर्षअघि नै पार्टी एकताका लागि पहल गरेको नेपाल समाजवादी पार्टीका नेताहरूले एकताको सम्बन्धमा कुनै प्रगति नभएको बताएका छन् । प्रचण्डको अभिव्यक्ति सार्वजनिक खपतका लागि आएको हुन सक्ने उनीहरुको आशंका छ ।
- ९ बुँदेको जवाफ नआएसम्म एकता प्रक्रिया अगाडि नबढ्ने हिसिलाको दाबी
नेसपाका उपाध्यक्ष हिसिला यमीले पार्टी एकताका लागि माओवादी केन्द्रबाट कुनै पहल नभएको दाबी गरिन् । आफूहरूले एकताका ९ बुँदे आधार पत्र माओवादी केन्द्रलाई पठाए पनि त्यसको कुनै जवाफ नआएको यमीको गुनासो छ ।
‘हामीले यसअघि एकताका लागि ९ बुँदे आधार पत्र पठाएका थियौँ । त्यसको जवाफ अहिलेसम्म आएको छैन । प्रत्येक पटक मिटिङ बस्दा यसै सम्बन्धमा स्मरण गराइराखेका छौँ । एकता वैचारिक समानता र संगठनात्मक सिद्धान्तको आधारमा हुन्छ । प्रत्येक पटक हामीले नै स्मरण गराइराख्नुपर्ने स्थितिमा कसरी अगाडि बढ्छ ? कुरा ९ बुँदेमै आएर अड्किएको छ’, पार्टी एकता सम्बन्धमा यमीले भनिन् ।
उनले ९ बुँदे सम्बन्धमा माओवादीले कि त ‘एस’ कि त ‘नो’ वा केही थप गर्नुपर्ने भए स्पष्ट रुपमा भन्नुपर्ने बताइन् । ९ बुँदेको जवाफ नआएसम्म एकता प्रक्रिया अगाडि नबढ्ने यमीले स्पष्ट पारिन् ।
गत वर्ष चैत ३ गते नेसपाले एकताका लागि समाजवादी ध्रुवीकरणको औचित्य र आधारसम्बन्धी पत्र पठाएको थियो । जसमा सांगठनिक सिद्धान्त, पार्टीको नाम र चिह्न परिवर्तन, निर्वाचन प्रणालीको साथै वैचारिक र सैद्धान्तिक पक्षमा स्पष्टता खोजेको थियो । असोज ३० गते पत्रको जवाफ फर्काउँदै माओवादीले पार्टीको नाम परिवर्तनको विषयमा विशेष महाधिवेशनमा छलफल गर्न सकिने स्पष्ट पार्यो ।
माओवादीको फागुन ३ गते सकिएको विधान अधिवेशनले सबै तहको समितिमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गर्यो तर पदाधिकारी चयन पुरानै अबलम्बन गर्यो । पार्टीको नाम र चुनाव चिह्न फेर्ने ५० प्रतिशत प्रतिनिधिले दिएको सुझावलाई प्रचण्डले अङ्कुश लगाउँदै तत्काल नाम परिवर्तन नहुने घोषणा गरेका थिए ।
- सहमतिमा एकता प्रक्रिया अगाडि बढ्ने देव गुरुङको दाबी
गत वर्ष संघीय संसद् र प्रदेशसभा सदस्य निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाबिच पार्टी एकता गर्ने सहमति भएको थियो । निर्वाचनपछि दुवै पार्टीले वार्ता टोली गठन गरी एकताका आधारहरू पहिल्याएका थिए । वार्ता टोलीमा माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् । नेसपातर्फ सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव रहेको वार्ता समिति बनाइएको थियो । यद्यपि दुवै तर्फको वार्ता टोलीले एकताका आधार तय गरे पनि निष्कर्ष निकाल्न सकेको छैन ।
आफूलाई बाइपास गरी गत असारमा माओवादीसहित चार दलीय समाजवादी मोर्चा घोषणा र एकताका लागि असोजको अन्तिमसाता भएको पत्राचारले बाबुराम माओवादीसँग बिच्किएका छन् ।
मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड र बाबुरामबिच एकता समायोजन समिति बनाउने सहमति जुटेको थियो ।
सहमति बमोजिम मङ्सिरको पहिलो साता बसेको नेसपाको केन्द्रीय समिति बैठकले बाबुरामकै नेतृत्वमा एकता समायोजन समिति गठन गर्यो । समायोजन समिति गठन भएको दुई महिना बितिसक्दासमेत माओवादीबाट एकताका लागि कुनै पहल नभएको बाबुराम पक्षका नेताहरूको आरोप छ ।
माघ १९ गते केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा एकताका लागि बाबुराम तयार नभएको आरोप लगाउँदै महिन्द्र यादव पक्षले विद्रोह गर्ने धम्की दिएका थिए । भोलिपल्ट जडीबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादीसहित वामपन्थी ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसका लागि माओवादीको आधिकारिक निर्णय कुर्दै गरेका नेसपाका नेताहरू आधिकारिक जवाफ नआएपछि निराश देखिएका छन् ।
तथापि एकता समायोजन समिति बनाउन पहल भइरहेको माओवादीका महासचिव देव गुरुङले बताए । आपसी सल्लाह गरेर छिट्टै दुवै पक्षको बैठक बस्ने उनको जिकिर छ ।
‘एकता समायोजन समिति बनाउन पहल भइरहेको छ । कहिले बनाउने, कहिले बस्ने भन्ने कुरा बाँकी रहेको अवस्था हो । आपसी सहमति र सरसल्लाहमा छिट्टै बैठक बस्नेछौँ’, महासचिव गुरुङले भने ।
पुस २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी समिति बैठकले आवश्यकता अनुसार अध्यक्ष प्रचण्डको नेतृत्वमा समायोजन समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसको एक महिनापछि लगातार माओवादीको स्थायी समिति, केन्द्रीय समिति र विधान अधिवेशन सम्पन्न भयो तर नेसपासँग एकताका लागि ठोस निर्णय भएन ।
एक केन्द्रीय सदस्यले बाबुरामसँग एकता गर्न प्रचण्ड तयार भए पनि पार्टीभित्रको शक्ति संघर्षका कारण प्रक्रिया अगाडि बढ्न नसकेको जिकिर गरे ।
‘बाबुरामसँग एकता गर्न प्रचण्ड तयार हुनुहुन्छ । तर पदाधिकारीका केही नेताहरू एकताका लागि तयार देखिएका छैनन् । शक्ति संघर्षका कारण एकता प्रक्रिया अगाडि बढ्न नसकेको देखिन्छ । नेसपासँग एकता हुने सम्भावना निकै कम देखिन्छ’, ती नेताले भने ।
- माओवादीको विधान अधिवेशनप्रति बाबुरामको कडा टिप्पणी
माओवादीको विधान अधिवेशनबारे बाबुरामको टिप्पणीले पनि तत्काल एकताको सम्भावना टर्दै गएको सङ्केत गरेको छ । माओवादीको विधान अधिवेशन सम्बन्धमा बाबुरामले निरन्तरतामा क्रमभङ्गताको अभाव, विचारको बन्ध्याकरण र सारसंग्रहवाद, संगठनमा डेन्टिङ पेन्टिङ र भावनात्मक दोहनमात्र नहोस् भनी टिप्पणी गरेका थिए ।
उनको पहिलो टिप्पणी संविधान जारी भएपश्चात माओवादी चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्तासम्म केन्द्रित रहँदै आएको भन्नेतिर लक्षित छ । दोस्रोमा उनले माओवादीको विचार र सारसंग्रह उस्तै भएको र मालेमावाद र समाजवादी विचार अवलम्बन गरी दुई वटा डुङ्गामा खुट्टा राख्न खोजेको आरोप लगाएका छन् । तेस्रो, संगठनात्मक सिद्धान्त स्टालिनकालीन पुरानै मोडेललाई डेन्टिङ पेन्टिङ गरी नयाँ बनाएको उनको बुझाइ छ ।
यस्तै, चौथोमा पुरानो विचारको धङधङीबाट मुक्त भएर नयाँ समाजवादी विचारमा लाग्न उत्प्रेरित गरेका छन् ।
- यस्तो छ माओवादी अधिवेशनबारे बाबुरामको टिप्पणी
१.निरन्तरतामा क्रमभङ्गताको अभाव
नेपालमा माओवादी आन्दोलनको चामत्कारिक उदय, विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्याङ्कनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभङ्ग गर्ने र नयाँ पहल गर्ने सोच, साहस र शैली हो । तर वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो ।
२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद
राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक–राजनीतिक दिशा प्रस्ट्याउँछ । माकेको नयाँ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता, नयाँपन, प्रस्टता छैन, बरु पुरानै विचार र केही नयाँ शब्दावलीहरूको सारसंग्रहवादी ककटेल मात्र छ । उदाहरणको निम्ति ‘मार्क्सवाद–लेनिनवाद–माओवाद’लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोच र बहुदलीय प्रतिस्पर्धी राजनीतिबाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घोलमेल गरिएको छ । मा–ले–मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो । यसरी एकै साथ दुई वैचारिक डुङ्गामा चढेर पुग्ने कता हो ? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ?
३.संगठनात्मक डेन्टिङ पेन्टिङ
विधानले पार्टीको विचार र राजनीतिलाई संगठन, नेतृत्व, शैलीमा ढाल्दछ र जनतासँग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ । परन्तु माकेको संगठनात्मक सिद्धान्त, ढाँचा र शैलीमा कुनै नयाँ क्रमभङ्गता छैन । बरु स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको ‘जनवादी केन्द्रीयता’ लाई अलिकति डेन्टिङ पेन्टिङ गरेर निरन्तरता दिएको छ । अहिलेको बहुवर्गीय अर्थ–राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाँचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले माकेलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ ।
४. भावनात्मक दोहनमात्र नहोस्
अतः माके नेतृत्वले यस्तो दोधारे, अस्पष्ट सोच, नीति र शैली अवलम्बन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार, राजनीति, संगठन, नेतृत्व, शैलीको छलाङमय विकास गर्दै एक्काइसौँ शताब्दीमा समाजवादको नयाँ मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
-
भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद : सर्वोच्चले खारेज गर्यो हिमाल आइरनको रिट
-
स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा
-
उमागौरी कृषि सहकारीमा छापा, ताला फुटाएर कागजात लगेको अध्यक्ष रौनियारको आरोप
-
मनाङेको सांसद पद के हुन्छ ?