शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कांग्रेस महासमिति बैठक

चुनावअघि गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन गगनलाई देउवाको दबाब

सोमबार, ०७ फागुन २०८०, ०९ : ३५
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने उल्लेख छ । तर उक्त विषयप्रति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । 

गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन सभापति देउवाले दबाब दिइरहेका छन् । तर महामन्त्री थापा उक्त प्रतिवेदन नसच्चाई जस्ताको तस्तै महासमितिमा पेस गर्ने अडानमा छन् । प्रतिवेदन सच्चाएर मात्रै महासमितिमा लैजानभन्दै देउवाले आइतबार महामन्त्री थापालाई आफ्नै निवासमा बोलाएका थिए । त्यसक्रममा थापाले आफ्नो प्रतिवेदन महासमितिले नै अस्वीकार गरे आफूलाई स्वीकार्य हुने तर पहिल्यै आफू प्रतिवेदन सच्चाउन तयार नभएको जवाफ दिएका थिए ।

त्यसपछि आइतबार दिउँसो पनि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश  शर्माका साथै प्रमुख सचेतक रमेश लेखकबिच संसद् भवनमा छलफल भएको थियो । तर सो छलफलमा समेत थापाले प्रतिवेदन सच्चाउन तयार नभएको बताएपछि उनीहरूबिचको छलफल त्यसै टुङ्गिएको थियो । 

चार नेताबिचको आइतबारको छलफल सकारात्मक हुन नसकेपछि सोमबार बिहान सभापति देउवाले चारै जना नेतालाई बुढानीलकण्ठ बोलाएका छन् । नेता लेखकले हिजो दिनभर सहमतिको प्रयास गरे पनि सफल नभएको बताए । त्यस्तै उनले महामन्त्रीको गठबन्धन गर्ने नगर्ने भन्ने कुरा रणनीतिक विषय भएकाले अहिले नै गठबन्धन गर्ने नगर्ने भनेर घोषणा गर्ने कुरा राम्रो नहुने बताए । उनले कांग्रेस एक्लै लडेर बहुमत ल्याउने भन्ने कुरा समेट्न महामन्त्रीलाई सुझाव दिएको बताए । 

नेता श्याम घिमिरे पनि महामन्त्री थापाको प्रस्ताव परिमार्जनका लागि नेताहरूबिच छलफल भइरहेको बताए । ‘चुनावअघि भविष्यमा गठबन्धन नगर्ने गगनको प्रस्तावमा मुख्य समस्या हो’, नेता श्याम घिमिरेले भने, ‘संसदीय अभ्यासमा गठबन्धन नै गर्दिन भन्नु भोली नेमकिपा जस्तो भइन्छ कि भन्ने हो ।’

छलफलमा रहेका गगन बाहेकका तीन जनाको राय तत्कालीन परिस्थितिको रणनीति अनुसार गठबन्धनबारे धारणा तय गर्नुपर्छ भन्ने रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप