मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
राष्ट्रिय प्रजातन्त्र दिवस

प्रजातन्त्र कसरी र किन आयो ?

सोमबार, ०७ फागुन २०८०, ०६ : ११
सोमबार, ०७ फागुन २०८०

आजभन्दा ७३ वर्षअघि एक सय तीन वर्षे लामो जहाँनियाँ राणाशासन ढलेर प्रजातन्त्र आउनुको पछाडि चारवटा परिस्थिति कारक थिए — १) जंगबहादुरको जातीय कानुन (१९१० को मुलुकी ऐन) । २) राणाहरूभित्र ‘क्लास’ अर्थात् वर्ग विभाजन । ३) १९९० सालको भूकम्प । ४) अन्तर्राष्ट्रिय परिस्थिति । 

सर्वप्रथम मुलुकी ऐन र यसले सिर्जना गरेको सामाजिक अवस्थाको चर्चा गरौँ । मूल रूपमा मनुस्मृति र जयस्थिति मल्लको कानुन (न्यायविकासिनी)मा आधारित जंगबहादुरको मुलुकी ऐनले मानिसको कथित जातलाई झार्ने र सर्वस्वहरण गर्नेसम्मको सामथ्र्य राख्थ्यो । 

यस ऐनले उपाध्या, रजपूत, जैसी बाहुन, तागाधारी क्षत्रीय, नमासिन्या मतुवाली, मासिन्या मतुवाली, छिटो हाल्नुनपन्र्या, छिटो हाल्नुपन्र्या, पानी नचल्न्याजस्ता जात छुट्टयाई दण्ड र सजायको व्यवस्था गरेको थियो ।

यसमा पनि राणा प्रधानमन्त्रीहरूलाई जात चढाउने र झार्नेसम्मको शक्ति थियो । उनीहरूले अपराध गर्नेलाई दण्ड दिँदा जात पतीत गर्थे । उनीहरूलाई खुसी लागेमा पानी नचल्ने भनिएको जातलाई पानी चल्ने जातमा ल्याउन सक्थे । वीरशमशेरले ‘कौ’ जात (नेवारभित्रको पानी नचल्ने जात)लाई पानी चल्ने गराएका थिए । कारण उनकी कान्छी महारानी कौ जातकी थिइन्, (राजेश गौतमको पुस्तक ‘राणाकालीन नेपालको एक झलक’) ।

यस ऐनको ‘भातमा बोन्र्याको’ महलले आफूभन्दा घटी जुनसुकै जातले छोएको भात र पानी खाए त्यही जातमा झर्ने व्यवस्था गरेको थियो । ‘अंश सर्वस्व गरी उसै जातको १ अक्षर खोसी भातपानी बाहेक गरी उसै जातमा मिलाइ छाडिदिनू’ भन्ने व्यवस्था यस महलले गरेको थियो । यसो हुँदा आपसमा माया–प्रेम र सद्भाव राख्नेहरूको जात खस्नेदेखि सर्वस्वहरणको क्रम चलिरहेकै थियो ।  

कानुनले नै जातीय ऊँच–नीचको व्यवहार तोकिदिएकाले नेपाली समाज जड बन्न पुगेको थियो । यही बेला उता भारतमा सामाजिक विभेदहरूलाई औँल्याएर र केही सुधारका कदम चालेर अंग्रेजले आफ्नो उपनिवेशको पन्जालाई थप मजबुत बनाउँदै थिए । जस्तो ः उसले सती प्रथालाई अवैध घोषणा गरेको थियो । त्यसैले त्यहाँ समाजका अगुवाहरूबाटै सुधार अभियान सुरु हुन थालेका थिए । खासगरी स्वामी दयानन्द सरस्वतीको आर्यसमाजी विचारधारा उत्तरी भारतमा प्रचार हुँदै थियो । ललितपुरका माधवराज जोशीले भारतमा रहँदा तिनै आर्य समाजी कार्यकर्तासँग काम गरेका थिए । पछि देश फर्केर उनले १९५३ सालमा पोखरामा एउटा आर्य समाजी संस्था खोले । श्राद्ध, दान, मूर्तिपूजा, कर्मकाण्ड, जातपात आदिको विरोधमा उनले प्रचार गर्थे । ‘उनी भन्थे— पशुपतिनाथ ढुंगाको मूर्ति हो, देउता होइन । सूर्यलाई उनी घडी भन्थे । बाहुनलाई दिइने दान इत्यादिलाई अन्धविश्वासमा अल्झाएर गरिएको शोषण हो भन्थे,’ भुवनलाल प्रधानको पुस्तक ‘नेपालको जनक्रान्ति’मा उल्लेख छ । 

यो थाहा पाएर चन्द्रशमशेरले राजगुरु हेमराज शर्मन्को अध्यक्षतामा पण्डित मण्डली बोलाई माधवराजसँग शास्त्रार्थ गराए । ‘नेपालमा सामन्तहरूलाई जी–हजुर गर्दै प्रजामा नारदको पालादेखि फाटोमाथि फाटो पारी शासकहरूको दक्षिणा पचाइरहेका राजाका गुरुबाजेहरूले माधवराज जस्ता आर्यसमाजीलाई के सक्थे ?’ धर्मरत्न यमिले आफ्नो पुस्तक ‘नेपालका कुरा’मा लेखेका छन्, ‘अरु केही निहुँ पाएनन्— तँ जाँड, रक्सी, राँगाको मासु खाने खपर्नेले हाम्रा हजुरहरूको सामुन्ने हाम्रा गुरु–पुरोहितसित निहुँ खोजी वेद ऋचाजस्ता मुखले झिक्न नहुने ब्रह्मवाक्य झिक्ने, सिआमा ! भनी जेलमा ठुसिदिए । पछि उनको कुरा मुद्दाको रूपमा छलफल हुँदा भ्रष्टधर्मका प्रवर्तक दयानन्देको ‘सत्यार्थ प्रकाश’ कसैले राख्यो भने ६ महिना कैद र धर्म ग्रहण ग¥यो भने अछुत बनाई देशनिकाला गर्ने भन्ने ऐन बनाए ।’

धर्मरत्नको उपर्युक्त पुस्तक अनुसार, वीरशमशेरको पालासम्म सर्वसाधारणले घरमा बज्र ठोकी चुन लगाउन पाइँदैनथे । यसमा वीरशमशेरले छुट दिए । पछि चन्द्रशमशेरको समयमा दमाई टोलदेखि कंकेश्वरी जाने बाटोमा एक धनी कसाईले भव्य तीनतले घर बनाएका थिए । अनेक बुट्टादारी खम्बा, झ्याल, बुर्जा राखी आस्मानी रङ लगाएर बनाइएको त्यस घरलाई सत्ताधारीले देखिसहेनन् । ‘सो कसाईको घरनजिकै माहिला गुरुज्यू हेमराज शर्मा र कान्छा गुरुज्यूका महल पनि आस्मानी रंगका नै भएको हुँदा सायद उनीहरूले नै कसाई भएर हाम्रो देखासिकी ग¥यो भनेर उजुर गरे होलान्,’ धर्मरत्नले लेखेका छन्, ‘र चन्द्रशमशेरले दश हजार जरिवाना गरी सो घरको रुपरंग बदल्न लगाए ।’

मुलुकी ऐनले खासगरी दलित र जनजातिहरूलाई चरम रूपमा थिचेको थियो नै, बाहुन–क्षत्रीलाई पनि सजिलो थिएन । त्यसैले राणाशासनविरुद्ध साना–ठुला विद्रोह गर्ने परिस्थिति सिर्र्जना हुँदै आए । गोर्खाका लखन थापाले सेना नै बनाएर राणाविरुद्ध विद्रोह गरे ।

झट्ट हेर्दा मुलुकी ऐनले मनुस्मृति लगायत धर्मशास्त्रका मर्मलाई आत्मसात गरेको वा जोगाउन खोजेको देखिन्छ । यसमा ‘गोवध गन्र्या’ भन्ने महल राखिएको छ तर राणाशासकले आफ्नो स्वार्थका लागि गोवधलाई सामान्य मान्थे । भोटमाथि आक्रमण गर्न गएको ब्रिटिसलाई चन्द्रशमशेरले चार हजार चौँरी गाई मद्दतमा र पच्चीस सय गाई सित्तैमा दिएका थिए । धर्मरत्नले लेखेका छन्, ‘कट्टर हिन्दू (राणाशासक)ले जहिले पनि हिन्दूस्तानको मुक्ति–संग्रामलाई कुल्चँदै हिन्दुस्तानमाथि ब्रिटिस जस्तो गौ ब्राह्मण धर्मको विरोधी शक्तिलाई राखी छाड्ने काममा अन्धो भई मद्दत दिएर आएको कुरा भारतका बच्चा–बच्चाले जति जति समय बित्दै गयो, त्यतित्यति थाहा पाउँदै आए ।’ 

कमारा–कमारी (दासदासी)को जथाभावी बिक्री नगरिओस् भनी मुलुकी ऐनले मूल्य समेत तोकेको थियो— तीन वर्षदेखि मुनिको कमाराको मूल्य २० रुपैयाँ र कमारीको २५ रुपैयाँ, तीनदेखि ६ वर्षसम्म उमेर समूहको कमाराको मूल्य ३० रुपैयाँ र कमारीको ३५ रुपैयाँ, ६ देखि १२ वर्षसम्म उमेर समूहको कमाराको मूल्य ५० रुपैयाँ र कमारीको ५५ रुपैयाँ । यस्तै, १२ देखि ४० वर्षसम्म उमेर समूहको कमाराको मूल्य एक सय रुपैयाँ थियो भने कमारीको १२० रुपैयाँ । ४० देखि ५० वर्षसम्म उमेर समूहका कमाराकमारी दुवैको ६०–६० रुपैयाँ तोकिएको थियो । यहाँ महिलाको मूल्य बढी किन छ भने, उनीहरूले दास जन्माउन सक्थे । 

चन्द्रशमशेरले १९८१ मंसिर १४ गते दासदासीलाई मुक्त घोषणा गर्नुअघि मुलुकभर ५९ हजार ८७३ दासदासी थिए । जब कि त्यतिबेला कुल जनसंख्या ५६ लाख थियो, जसमा  १५ हजार ७१९ मालिक थिए ।  यसले के देखाउँछ भने, मुठीभर राणाहरूको कब्जामा देश त थियो तर देशमा दासदासी राख्ने सामन्तहरूको पनि कमी थिएन । अर्कोतिर सतीप्रथा, बालविवाह आदिले महिलाहरू चरम उत्पीडनमा थिए । 

  • राणाहरूको ‘क्लास’ 

राणाहरूको ‘क्लास’ विभाजनसम्म पुग्नुअघि जंगबहादुरको पृष्ठभूमिको सामान्य चर्चा गर्नुपर्ने हुन्छ ।

जंगबहादुरका पिता बालनरसिंह कँुवर रणबहादुर शाहका अंगरक्षक थिए । २४ अप्रिल १८०६ मा रणबहादुरमाथि सांघातिक हमला हुँदा बालनरसिंहले शेरबहादुर शाहलाई काटे । यसपछि उनको चर्चा र पदोन्नति बढ्दै गयो, अन्ततः उनी काजी भए (प्रमोदशमशेर राणाको पुस्तक ‘राणाशासनको वृत्तान्त’) । 

पिता शक्तिमा भएकाले जंगबहादुरले पनि सेनामा सुबेदार पद पाएका थिए । पछि राजनीतिक खिचातानीकै क्रममा बालनरसिंहको सर्वस्वहरण भयो । त्यसपछि जंगबहादुर कामको खोजीमा काशी पुगे । त्यहाँ भनेजस्तो काम नपाएर देश फर्कंदा यिनकी श्रीमतीको देहान्त भइसकेको थियो । 

सन् १८३९ मा यिनले काजी सनकसिंहकी छोरीसँग दोस्रो विवाह गरे । श्रीमतीले राम्रै दाइजो ल्याएपछि यिनको आर्थिक अवस्था सुध्रियो । पछि यिनले राजा राजेन्द्रसँग हात्ती खेद्न तराई जाने अवसर पाए, त्यतिबेला साहसका साथ हात्ती पक्रेकाले यिनलाई कप्तानको दर्जासहित दरबन्दी दिइयो । 

यतिन्जेल यिनी जंगबहादुर कुँवर थिए । विक्रम संवत् १९०३ आश्विनमा भएको कोतपर्वपछि यिनी मुख्तियार भए । यस बेलासम्म मुख्तियारलाई ‘प्राइममिनिस्टर एन्ड कमान्डर इन् चिफ’ भन्ने चलन चलिसकेको थियो । संवत् १९१३ मा जंगबहादुरले राजीनामा दिएपछि उनका भाइ बमबहादुर कुँवर मुख्तियार अर्थात् प्राइममिनिस्टर एन्ड कमान्डर इन् चिफ भएका थिए । उनकै भाइले पद पाए पनि यस बेलासम्म राणाशासकको रोल प्रथा सुरु भइसकेको थिएन ।

चित्तरञ्जन नेपालीको पुस्तक ‘राणाशासनको रोल व्यवस्था र धर्मपत्रहरू’ अनुसार, बमबहादुर मुख्तियार भएको ६ दिनपछि अर्थात् संवत् १९१३ साल साउन सुदी ५ दिन राजा सुरेन्द्रविक्रमले एउटा लालमोहर जारी गरी जंगबहादुरलाई कास्की र लमजुङ राज्यको महाराज पदवी प्रदान गरे । चित्तरञ्जन लेख्छन्, ‘उक्त लालमोहरमा कास्की र लमजुङ राज्यको महाराज पदवी जंगबहादुरका सन्तान दरसन्तानले तथा नेपाल अधिराज्यको मुख्तियार अर्थात् प्राइममिनिस्टर पद उनका भाइहरूले पाई कान्छो भाइ धीरशमशेरपछि उनका जेठा छोरा जगतजंगले पाउनेछ भनी रोलको समेत उल्लेख गरिएको थियो ।’ 

चित्तरञ्जनको पुस्तक अनुसार, महाराज पदवी पाउनु अघिदेखि नै जंगबहादुरले आफू र आफ्ना परिवारका सदस्यहरू चित्तौढगढका रजपूत राणा खान्दानका हुन् भनी प्रतिस्थापित गरिसकेका थिए । आफ्नो कुल खान्दानको श्रेष्ठतामाथि कसैले प्रश्न नउठाओस् भन्ने उनको मनसाय थियो । राजा सुरेन्द्रविक्रमले वि.सं. १९०५ वैशाखमा जंगबहादुर एवं उनका सबै भाइहरूको नाममा एउटा लालमोहर जारी गरे, जसमा जंगबहादुरका पुर्खा चित्तौढगढका रजपूत भएको बेहोरा उल्लेख थियो । यसै लालमोहरमा उनीहरूलाई राणा थर लेख्ने अधिकार दिइयो । त्यसै सालको जेठमा राजाले अर्को एउटा लालमोहर दिई जंगबहादुरहरूलाई ‘श्रीमद्राजकुमार कुमारात्मज’ भन्ने प्रशस्ति लेख्न पाउने अधिकार पनि दिए । 

‘यस प्रकार आफू र आफ्नो परिवारका सदस्यहरूलाई रजपूत स्थापित गरी अरु जातका भाइभारदारहरूभन्दा भिन्न एवं उच्च कुलका भनी दर्शाएपछि जंगबहादुरले आफ्नो घर–व्यवहार एवं बोली वचनमा पनि तदनुरूप श्रेष्ठता कायम गर्नु आवश्यकता महसुस गरे होलान्,’ चित्तरञ्जन लेख्छन्, ‘संवत् १९०७ सालमा उनले अर्को लालमोहर प्राप्त गर्न सफल भए— तिमीलाई दुनियाँदारले रजपुत चलनसँग हजुर गरिप्रवर मर्जि भन्नू । संवत् १९१४ सालमा श्री ३ महाराज प्राइममिनिस्टर एन्ड कमान्डर इन् चिफ भएपछि त यो ‘मर्जि’ हुकुममा परिणत हुन पुग्यो ।’ 

सत्ताका लागि आफ्ना भाइ छोराहरूबिच मारकाटको अवस्था नआओस् भनी जंगबहादुरले वि.सं. १९२४ मार्ग १० गते उत्तराधिकारी अधिनियम (रोल अफ सक्सेसन) बनाएका थिए । जस अनुसार, श्री ३ को पद आफूपछि आफ्ना छोराहरूमा र प्रधानमन्त्रीको पद आफ्ना भाइहरूमा, त्यसपछि आफ्ना छोरानाति र भतिजाहरूमा जान्थ्यो । 

जंगबहादुरले बनाएको रोल क्रमलाई पछि वीरशमशेर खारेज गरी नयाँ रोलक्रम बनाए । यसपछि चन्द्रशमशेरका पाला रोलक्रम संशोधन भयो । उनले वि.सं. १९७७ मा धीरशमशेरका सन्तानलाई ए, बी, सी गरी तीन श्रेणीमा वर्गीकृत गरे— ‘ए’ क्लासमा विधिपूर्वक विवाह गरिएकी जातभात मिल्ने क्षेत्री–ठकुर्नीपट्टिका सन्तान, ‘बी’ क्लासमा विधिपूर्वक विवाह नगरी ल्याएकी जातभात मिल्ने क्षेत्री–ठकुर्नीपट्टिका सन्तान र ‘सी’ क्लासमा जातभात नमिल्ने तर पानीसम्म चल्ने ल्याइते, रखौटी आदिबाट जन्मेको सन्तान परे, (डा. सूर्यमणि अधिकारीको पुस्तक ‘नेपालको इतिहास र समाज अध्ययन’) ।

यसपछि भीमशमशेरले रोल क्रममा परिवर्तन गरे । अझ जुद्धशमशेरका पालामा आएर सी क्लासका राणाहरू प्रधानमन्त्री हुन सक्ने अवस्था समाप्त पारियो र ए क्लासका राणाहरू मात्रै प्रधानमन्त्री हुन पाउने भए । 

धर्मरत्न यमिको उपर्युक्त पुस्तक अनुसार, जुद्धशमशेर र चन्द्र खलकहरूले सी क्लास राणाहरूलाई रोलबाट झिकी देश निकाला गर्ने गुप्त योजना बनाए । ‘जुद्धशमशेरले आफूभन्दा एक सिँढी मात्र तल भएका कमान्डर इन् चिफ रुद्रशमशेर लगायत उच्च–उच्च पदमा पुगिसकेका सी क्लास राणाहरूलाई चार भञ्ज्याङ छाड्ने र ठाउँठाउँको बडाहाकिम हुने हुकुम दिए,’ धर्मरत्नले लेखेका छन्, ‘बस्ने र रोल प्रमोसन पाउने ए क्लास जति हाँसे, बाहिर जाने सी क्लास कोही रोए, कसैले औँला ठड्याएर हिँडे ।’

यसरी सी क्लास राणा, राजा र प्रजा एक ठाउँमा हुने परिस्थिति सिर्जना भयो । धर्मरत्नको पुस्तक अनुसार, भीमशमशेरले आफ्नो शासनकालमा आफ्ना सन्तानका लागि पुग नपुग दश करोड रुपैयाँ विदेशी बैंकमा जम्मा गरेका थिए । जंगलसहितको लाखौँ बिघा जमिन आफ्ना सन्तानका नाममा बिर्ता जनाए । यस प्रकारको राणाहरूको लुटतन्त्रले गर्दा पनि राजा, सी क्लास राणा र जनताले विद्रोह गर्नैपर्ने अवस्था सिर्जना भएको थियो । 

यसरी केही न्यायप्रेमी र चेतनशील जनता जुर्मराउन थालेकै बेला १९९० को भूकम्प गयो । विपत्पछि मानिसमा बुद्धि र साहस समेत आउँछ । विद्रोह विवेकबाट जन्मने कुरा हो । भूकम्पले जनजीवन कष्टकर हुँदै जाँदा विद्रोहको सम्भावना झनै बढेर गयो । 

अर्कोतिर, दोस्रो विश्वयुद्धपछि उपनिवेश मुलुकहरू स्वतन्त्र हुन थालेका थिए । भारतमै स्वतन्त्रता आन्दोलन चर्किरहेको थियो । यस्तो अन्तर्राष्ट्रिय परिस्थितिले पनि नेपालमा प्रजातन्त्रका लागि विद्रोहको माहोल सिर्जना ग¥यो । कांग्रेसले आन्दोलन छेड्यो, जनताहरू जागे र दिल्लीमा त्रिपक्षीय सम्झौता भयो । भारत मध्यस्थकर्ता रही कांग्रेस, राजा र राणाका बिचमा भएको सम्झौताले देशमा २००७ सालमा प्रजातन्त्र ल्यायो । त्यस प्रजातन्त्रलाई राजा महेन्द्रले निमोठे । त्यसपछि ०४६ को जनआन्दोलन, दशवर्षे जनयुद्ध, ०६२÷६३ को आन्दोलन हुँदै आज हामी संघीय गणतान्त्रिक नेपालमा छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप