सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली कविता फैलिएको छ

आइतबार, ०६ फागुन २०८०, १८ : ४७
आइतबार, ०६ फागुन २०८०

पोखरा । कविताले भाव मात्र लेख्दैन । क्रान्ति लेख्छ, पोख्छ । कविताले प्रहार गर्छ शब्द मार्फत । यसका विविध आयाम प्रश्न गर्छ । प्रेमिल भाव पोख्न होस् वा प्रहार गर्न कविताको लयात्मक प्रस्तुति बेजोड हुन्छ । यी आयामहरू फेरिँदो छन् । गद्य र छन्द बाहेक कविता लेख्ने आफ\नै शैली बनेका छन् । आजकल कवितामा शब्दमा मात्र पोखिँदैन । सङ्गीतको धुनमा कविताको लय साटिन्छ । प्रस्तुतिका शैली फेरिएका छन् । 

तर पनि बेलाबेला नेपाली कविताले आलोचना खेपिरहन्छ । भूपी शेरचन  र वैरागी काइँलाको पेरिफेरिमा नेपाली कविता पोखिएको आरोप लाग्छ । नयाँ फरक शैली र ढंगमा कविले स्वाद पस्कन नसकेको बहस बेलाबखत भइरहन्छन् । 

यायवत् आलोचना खेपिरहेका कविता क्षेत्रका विषयमा फरक धारण राख्छन् कविहरू । नेपाली कविता शैली फैलिएकोमा सन्तोष रहेको सुनाउँछन् कवि नवराज लम्साल । विविधता रहेको नेपाली कविताले आजको मुद्दाहरूको उठाइरहेको उनको भनाइ छ । पहिलेको समय प्रेमभाव कोरिने शब्द अहिलेको समयसम्म आइपुग्दा विद्रोह लेख्न थालेको विचार राख्छन् । 

‘हिजो कविता प्रेमको खोलासँग मात्र सीमित थियो त्यो प्रेमको फैलावट छ । आफ्नो अधिकार निम्ति लडिरहेका अधिकार मागिरहेको पहिचान खोजिरहेको जमात सँग छ । वर्षौँदेखि दासत्व शोषण छुवाछुत र अमानवीय व्यवहार भोगिरहेका मानवहरूको विद्रोहसँग छ । नेपाली कविता फैलिएको छ । आजको कविता सन्तोषका साथ अघि बढेको छ,’नवराजले सुनाए । 

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन भएको ‘कविताका आयाम’ सत्रमा सहजकर्ता शकुन्तला जोशीले प्रश्नको जवाफ दिँदै नवराजले सो बताएका हुन् । उनको यो विचारमा एकै भाव पोख्छन् वक्ताका रूपमा रहेका तीर्थ श्रेष्ठ । नेपाली कविता सङ्कुचित भएर बसेको आफूलाई नलाग्ने उनको विचार थियो । 

‘कविता राजनीतिक व्यवस्था जस्तो झयाकझाकी परिवर्तन हुने कुरा पनि होइन । तर, कविता कविहरू पिच्छे बेग्लाबेग्लै ढङ्गले प्रस्तुत पनि हुन्छ । नेपाली कविता सङ्कुचित भएर बसेको भन्ने लाग्दैन । नेपाली कविता भूपी र वैरागी काइँलो सेरोफेरोमा बसेको छ भन्ने मलाई लाग्दैन । त्यसमा जति चर्चा परिचर्चा हुनुपर्ने हो त्यो नभएको हो,’ उनले सुनाए । 

कविताका आयाम विषयमा चर्चामा अर्की वक्ता थिइन् सुमिना । पछिल्लो समय बागी स्त्रीको आत्मकथा कविता सङ्ग्रह प्रकाशित गरेकी उनलाई प्रश्न थियो ,‘बागी हुन हामीलाई के ले प्रेरित गरेको छ ?’ 

लेखनका अनेक विधामा आफ्नो मनलाई घत लाग्ने विषयमा कलम चल्ने सुनाउँछिन् सुमिना । सामाजिक परिवेशले नै बागी बनाएको सुमिनको भनाइ छ ।

‘हामीलाई बागी बनाउने भनेको सामाजिक परिवेश नै हो लाग्छ । विभेद हिंसाका शृङ्खला देख्छौँ । त्यतिबेला हामीसँग विकल्प नै हुँदैन कि हामी बागी न बनौँ । निर्विकल्प विकल्प नै विद्रोही आवाज लाग्छ त्यसलाई मैले चाहिँ कवितामा प्रस्फुटन गरिराखेको छु,’उनले सुनाइन् । 

कविले शब्द मार्फत अँध्यारो समयमा टुकी जलाउने काम पनि गर्नुपर्ने बताइन् । वैचारिक जागरणका लागि कविताले भूमिका खेल्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप