चितवनमा एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै
चितवन । जिल्लामा एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिए । उनका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ ।
यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ ।
अन्यमा राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ । जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् ।
केही सङ्ख्यामा राप्ती नगरपालिकामासमेत यो रोगको सङ्क्रमण रहेको दुवाडीले बताए । गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन । दुई सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् ।
यसैगरी सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा, अन्तरदेशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उनले जानकारी दिए । खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुईवटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीनवटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ । अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप लगाइने छ ।
दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उनको भनाइ छ । पाँच वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश
-
पेप्सीको नक्कली भ्याट बिल प्रकरण : उच्च अदालतको फैसला ‘त्रुटिपूर्ण’ भन्दै सर्वोच्च पुग्यो सरकार
-
सरकार, अख्तियार लगायत संवैधानिक निकायले टेरेनन् लेखा समितिलाई