दलहरू मिसन ०८४ तिर, जनता विकल्प खोज्दै !
सप्तरी । २०८४ को चुनावका लागि विभिन्न दलले ‘मिसन ०८४’ चलाइरहेका छन् । केही दलले त ०८४ को चुनावमा एक्लै बहुमत ल्याउने दाबीसमेत गरिरहेका छन् ।
४० वर्ष कांग्रेसमा रहेर राजनीति गरेका र त्यसपछि मधेस राजनीतिमा सक्रिय भएर अहिले स्वतन्त्र जीवन बिताइरहेका ८६ वर्षीय खुसीलाल मण्डल अहिले ‘मिसन ०८४’ चलाउनुको कुनै तुक नरहेको तर्क गर्दछन् । ‘२०८४ मा चुनाव हुन्छ कि हुँदैन भन्ने ठेगान छैन, अहिलेदेखि मिसन चलाएर केही हुँदैन,’ उनले भने ।
संघीयता र गणतन्त्रलाई संस्थागत गर्न तथा जोगाउनका लागि मिसन चलाउनुपर्ने बेला मिसन ०८४ वा अरू चुनावको तयारीमा लाग्नु राजनीतिक अपरिपक्वता हुने मण्डल बताउँछन् । उनले अहिले पूरै सिस्टममाथि नै खतरा देखिएको जिकिरसमेत गरे । संघीय लोकतान्त्रिक गणतन्त्र नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठिरहेको उनले बताए ।
खुसीलाल मण्डल मात्र होइन, अहिले तल्लो तहदेखि माथिल्लो तहसम्म २०८४ आउँदा नआउँदै देशमा केही दुर्घटना हुने हो कि भन्ने चिन्ता व्याप्त छ । सबैभन्दा तल्लो तहमा रहेका किसान, मजदुर, साना व्यापारी, पसलेहरूलाई त यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको मोह नै भङ्ग भएजस्तो देखिएको छ । यो तहको जनतामा एक प्रकारको उकुसमुकुस देखिन्छ । त्यो उकुसमुकुस कुन बेला विस्फोट हुन्छ भनेर भन्नसक्ने अवस्था छैन ।
राजविराजको हनुमाननगर जाने सडकमा पान पसल सञ्चालन गर्दै आएका विन्देश्वर साह भन्छन्, ‘यो देशमा जुनसुकै सिस्टम नेताका लागि मात्र आउँछ, जनताका लागि केही हुँदैन, जनता मतदाता भएर मात्र बस्छन् ।’
साहका अनुसार गणतन्त्र आएपछि के के न हुन्छ भनेर नेताहरूले सपना देखाए, गणतन्त्रका लागि लड्न लगाए । त्यसका लागि थुप्रै जनताले ज्यान गुमाए तर अहिले यो गणतन्त्र जनताका लागि होइन, नेताका लागि मात्र आएको रहेछ भन्ने पुष्टि भएको उनको भनाइ छ ।
गणतन्त्र केही नेता, उनीहरूका आसेपासे, परिवारका सदस्यका लागि मात्र फलिफाप भएको बताउँदै उनले अरू कसैको जीवनमा कुनै परिवर्तन नआएको प्रस्ट पारे ।
नेपालमा राजनीतिक परिवर्तनका विभिन्न शृङ्खला भोगिएको उल्लेख गर्दै उनले जुनसुकै परिवर्तनमा तल्लो वर्गका जनताले खासै राहत नपाएको उनको भनाइ छ । मेहनत गरेर खाने वर्गलाई सहज वातावरण बनाइदिनुपर्नेमा त्यो अनुभूति नभएको उनले बताए । ‘महँगी त्यतिकै बढेको छ, कमिसन र भ्रष्टाचारले त सीमा नाघेको छ,’ उनले भने, ‘हामीले व्यापारका लागि भारतबाट भन्सार तिरेर सामान ल्याउँदा चाहँदा भन्सारका कर्मचारीले भन्सार काट्दैनन् बरु केही पैसा लिएर त्यत्तिकै सामान ल्याउन दिन्छन् ।’
एउटा कुनै सरकारी कार्यालयमा कामका लागि जाँदा बिना घुस कुनै पनि काम नहुने साह बताउँछन् । ‘अस्पताल जाँदा औषधि पाइँदैन, डाक्टर हुँदैनन्, डाक्टर भए पनि बिना चिनजान राम्रोसँग जाँच गर्दैनन्, १०–१५ वर्ष अगाडि यो अवस्था थिएन,’ उनले भने, ‘यसैका लागि गणतन्त्र ल्याएको होइन नि ।’
सप्तरीको भूमि सुधार कार्यालय अगाडि टेम्पो उभ्याएर बसेका श्याम मण्डलको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘यो गणतन्त्र कर्मचारी, पुलिस, तथा नेताहरूका लागि मात्र आएको हो, हामीजस्ता मजदुर, किसान वर्गका लागि यो प्रणाली आएकै होइन, हामीले त पहिलाभन्दा बढी दुःख पाउन थालेका छौँ ।’
आफूले टेम्पो चलाउँदाको अनुभव सुनाउँदै उनले अगाडि भने, ‘टेम्पोको सबै कागजपत्र भए पनि प्रहरीले बेलाबेलामा दुःख दिइरहेका हुन्छन्, कहिले नगरपालिकाले लखेटेर भगाउँछ भने कहिले प्रहरीले लखेट्छ । यस्तो दुःख पहिला दिँदैनथे ।’
महँगी दिनदिनै बढेको तर आम्दानी घट्दै गइरहेकाले विपन्न समुदायलाई गुजारा चलाउन कठिन हुँदै गएको उनले सुनाए । ‘दिनभर टेम्पो चलाएर एक दिनको खर्च पनि पुग्दैन,’ उनले भने, ‘दुई हजार पच्चीस सय कमाइ हुन्छ, त्यसबाट केही साहुलाई बुझाउनु पर्छ । साँझ घर पुग्दासम्म चार पाँचसय रुपैयाँ मात्र हातमा हुन्छ ।’
चुनावका समयमा नेताहरू भोट माग्न आउँदा त घरमै बसीबसी खान दिने जस्तो कुरा गर्ने तर चुनाव जितेर गएपछि जनता कसरी बाँचिरहेका छन् भन्ने कहिल्यै सोधखोज नगरेको उनको गुनासो छ ।
खुसीलाल मण्डलले जनतामा व्यापक बढेको उकुसमुकुस र असन्तुष्टिलाई राज्यले समयमै व्यवस्थापन गर्न नसके २०८४ मा चुनाव हुन्छ कि हुँदैन भनेर भन्न नसकिने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र खराब होइन, यसका व्यवस्थापकहरू अदूरदर्शी र कमजोर भए,’ उनले भने, ‘धनी झन् धनी हुँदै गइरहेका छन् भने गरिब झन् गरिब हुँदै गइरहेका छन् । यो कस्तो समाजवादी गणतन्त्र हो भनेर मैले बुझ्न सकेको छैन ।’
सिरहा बरियारपट्टी गाउँपालिकाका शिक्षक रामचन्द्र यादवका अनुसार राज्यको साधन स्रोतमाथि जसको हाली मुहाली छन्, ती व्यक्ति अहिले गणतन्त्र मासिने हो कि भनेर डराएका छन् । ‘गणतन्त्र गएपछि मन्त्री पद जान्छ, मेयर पद जान्छ, विभिन्न नियुक्ति पाएकाहरू आफ्नो पद जान्छ कि भनेर डराएका छन्,’ उनले भने, ‘उनीहरू नै अहिले गणतन्त्रमाथि खतरा छ, यसलाई जोगाउनुपर्छ भनेर हल्ला गरिरहेका छन् ।’
प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा अोलीहरु गणतन्त्र खतरामा छ, यसलाई जोगाउनुपर्छ भनेर हल्ला गर्नुको पछाडि उनीहरूको विरासतमा धक्का लाग्नु नै मुख्य कारण रहेको यादवले दाबी गरे ।
गणतन्त्र आएपछि जनताले के पाए भनेर एउटा पनि उदाहरण कसैले दिन नसक्ने उनको भनाइ छ । उनले भने, ‘स्कुलहरूमा जानुस्, शिक्षकहरू घाम तापेर राजनीतिक कुरा गरिरहेका हुन्छन्, टिफिन टाइमपछि कुनै मास्टर स्कुलमा भेटिँदैन, के यसैका लागि गणतन्त्र आएको हो त ?’
शिक्षा क्षेत्रमा यो भन्दा राम्रो त पञ्चायत व्यवस्थामा रहेको यादव बताउँछन् । ‘कम से कम शिक्षक, विद्यार्थीमा अनुशासन थियो, भय थियो । एउटा सिस्टममा चलिरहेको थियो तर अहिले कुनै सिस्टम, कुनै अनुशासन छैन,’ उनले भने, ‘मैले यो गणतन्त्र ठिक होइन भनेर भन्न खोजेको होइन । व्यक्ति खराब भएका कारण गणतन्त्र पनि बदनाम भयो ।’
मधेस राजनीतिमा लामो समय काम गरेका धनुषा, जनकपुरका सञ्जय साहले पनि तराई मधेसका जनतामा व्यापक असन्तुष्टि बढेको बताए । २०८४ मा चुनाव होला जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।
‘नेताहरू अहिलेदेखि चुनावको तयारीमा लागिसकेका छन् तर जनतामा राज्यप्रति बढ्दै गरेको असन्तुष्टिप्रति कसैले ध्यान दिएका छैनन्,’ उनले भने ।
देशमा गणतन्त्र आएपछि बेरोजगारी झन् बढेको, भ्रष्टाचार र कमिसन लेनदेनमा वृद्धि भएको उनको भनाइ छ । प्रदेशका मन्त्री, पालिकाका अध्यक्ष, मेयरहरू पनि जनताको सेवामा भन्दा आफैँ कमाउन केन्द्रित भएको उनले बताए । ‘कुनै पनि काम गराउन हाकाहाकी कमिसन माग्छन्, जसले बढी कमिसन दिन्छ, उसले काम पाउँछ,’ साहले भने, ‘यस्तो अवस्थामा सोझा जनताका लागि विकल्प के त भनेर गाउँघरमा चर्चा हुन थालेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय