शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय
डिप्रेसन

डिप्रेसनको सिकार र ध्यान

आइतबार, ०६ फागुन २०८०, १० : ४२
आइतबार, ०६ फागुन २०८०

‘आज म परलोक जाँदै छु । ...ले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ ।’ 

माथिको वाक्य अमेरिकामा आत्मदाह गरी जीवन समाप्त पार्ने काभ्रेका अर्जुनप्रसाद मैनालीको फेसबुकबाट साभार गरिएको हो । उनले आफन्तबाट सहनै नसक्ने व्यवहार भएका कारण आफूले ज्यानै गुमाउनुपरेको उल्लेख गरेका छन् । छोरीको विवाह गर्नुपर्ने अवस्थाका कारण एक वर्ष घाइते अवस्थामै बाँच्नुपरेको पनि उनले उल्लेख गरेका छन् ।

मनोवैज्ञानिकका अनुसार आत्महत्या गर्ने सबैभन्दा चल्तीको कारण मानसिक असन्तुलन हो । विश्वभर गरिएका ६५ वटा अनुसन्धानको सूक्ष्म अध्ययनबाट गम्भीर मानसिक समस्या वा डिप्रेसन भएका मानिस आत्महत्याप्रति आकर्षित हुने तथ्य पत्ता लागेको छ । अमेरिकाको आत्महत्या न्यूनीकरण केन्द्रले उक्त अध्ययन गराएको थियो । डिप्रेसन भएपछि मानिस झन्कने समस्याबाट पीडित हुन्छ, सुत्न सक्दैन । हिँडडुल गर्न मन पराउँदैन भने उसलाई सामान्य रूपमा जान्नुपर्ने कुरा पनि नजानेजस्तो भान हुन्छ । उसलाई एक किसिमको भ्रमले सताउँछ । 

उक्त केन्द्रका अनुसार, यस्तो समस्यामा परेका मानिसले बारम्बार मर्नेबारे सोच्छ, मरिदिन्छु अनि पो थाहा पाउँछन् भन्ने सोच राख्छ । उसले जुनसुकै बेला मरणबारे कुरा गर्दछ, आफूलाई मार्न हतियार वा लागुऔषध खरिद गर्दछ, खानपिन र सुताइमा अपत्यारिलो व्यवहार गर्छ, एकैछिनमा सन्कन्छ, आफ्नो समान अरुलाई दिन पनि रुचाउँछ, अत्यधिक मादक पदार्थ तथा औषधी सेवन गर्छ र बारम्बार आफन्त तथा साथीभाइलाई अब भेटिँदैन होला भनेर बिदा माग्छ । एकान्तमा बस्ने तथा मर्न मन पराउने आदि डिप्रेसनका लक्षण हुन् । 

अमेरिकी मनोवैज्ञानिक संघका अनुसार डिप्रेसनको आनुवंशिक कारण भने आजसम्म पत्ता लाग्न सकेको छैन । परिवारमा कसैलाई डिप्रेसन भएको छ भने अरु सदस्यले यसमाथि निकै सजक रहनुपर्छ । असाध्य रोग, महिलामा महिनावारीमा गडबडी, अनिद्रा र ब्लड सुगर लेभलमा कमी आउनु पनि डिप्रेसनका कारण हुन सक्छन् । लागुऔषध र मादक पदार्थको अत्यधिक प्रयोग पनि डिप्रेसनको कारण बन्छ । धेरै त्रास र तनावमा बाँचेका मानिसलाई पनि डिप्रेसन हुने सम्भावना रहन्छ । 

  • उपचार हुन्छ कि हुन्न ?

अमेरिकाको लस एन्जलसस्थित क्यालिफोेर्निया विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागका निर्देशक डा. आयन कुकका अनुसार, डिप्रेसनबाट बाहिर आउनका लागि सबैभन्दा पहिले मादक पदार्थ र लागुऔषधको लतबाट मुक्त हुनुपर्छ । दैनिक शारीरिक अभ्यास, सन्तुलित भोजन, पर्याप्त निद्रा, हाँसखेल, सिर्जनात्मक काममा व्यस्त, नयाँ–नयाँ ठाउँको भ्रमण, जिम्मेवारी, नकारात्मक सोचसँग लड्ने अभ्यास, चिकित्सकको सुझाव अनुसारको खानपान वा औषधि सेवन आदिले डिप्रेसनबाट मुक्ति मिल्छ । 

  • ध्यान अचुक उपाय

हार्वर्ड विश्वविद्यालयको स्वास्थ्य अध्ययन संस्थानका अनुसार, नियमित ध्यान गर्नाले मानिसलाई तनावबाट मुक्ति मिल्छ । जसबाट जोकोही डिप्रेसनको सिकार बन्नबाट जोगिन्छ । संस्थानले ६५ उमेर कटेका २० प्रतिशत मानिस डिप्रेसनको सिकार बन्ने र तीमध्ये ४० प्रतिशतले मात्र आफूलाई विभिन्न माध्यमबाट उपचार गरी फेरि पूर्वावस्थामा फर्काउन सक्ने जनाएको छ । 

मानिसको मस्तिष्कमा लाखौँ वर्षको इतिहासमा एक अङ्ग (अमिगडला)को विकास भएको वैज्ञानिक तथ्य छ । अमिगडलाका विभिन्न काममध्ये एक हो, मानिसलाई त्राससम्बन्धी जानकारी प्रदान गर्नु । जब यसले त्राससम्बन्धी जानकारी दिन्छ, तब दिमागले शरीरमा कोर्टिसोल नामक ग्रन्थी प्रदान गर्दछ ।

सन् २०१८ मा न्युरोलोजी जर्नलमा छापिएको अध्ययन प्रतिवेदनका अनुसार औसत उमेर ७१ वर्ष भएका १,१११ ज्येष्ठ नागरिकबिच ध्यानको प्रभावबारे अनुसन्धान गरिएको थियो । ‘ध्यानका कारण मानिसको मस्तिष्कमा एक किसिमको तरंग पैदा गर्दछ । यसले मानिसमा नकारात्मक सोच उत्पन्न हुनबाट विमुख पार्दछ । नकारात्मक सोचले तनाव हुँदै डिप्रेसनसम्म पुग्ने बाटो हो,’ अध्येता तथा बेन्सन हेनरी अनुसन्धान संस्थाका निर्देशक डा. जोन हेनिङ्गर भन्छन् । यस संस्था हार्वर्ड र मासाचुसेट्स विश्वविद्यालयको संयुक्त प्रयासमा सञ्चालित छ । 

मानिसको मस्तिष्कमा लाखौँ वर्षको इतिहासमा एक अङ्ग (अमिगडला)को विकास भएको वैज्ञानिक तथ्य छ । अमिगडलाका विभिन्न काममध्ये एक हो, मानिसलाई त्राससम्बन्धी जानकारी प्रदान गर्नु । जब यसले त्राससम्बन्धी जानकारी दिन्छ, तब दिमागले शरीरमा कोर्टिसोल नामक ग्रन्थी प्रदान गर्दछ । मानिसको शरीरमा ग्लुकोजको मात्रा अत्यधिक बढ्छ र ऊ भिड्न तयार हुन्छ । यसलाई स्नायु विज्ञानको भाषामा ‘फ्लाइट अर फाइट’ अथवा ‘लड कि भाग’को स्थिति भनिन्छ । अमिगडलाका कारण मानव ऐतिहासिक कालमा अन्य प्राणीबाट सुरक्षित रहेर आज हामी सभ्य मानिस बन्न पायौँ । यो क्रम लामो समयसम्म रहे मानिसमा नकारात्मक असर परी तनाव सिर्जना हुन्छ । लामो समयसम्म तनाव सिर्जना भए मानिस डिप्रेसनमा जान्छ । 

आज हामीमा मृत्युको भय लाखौँ वर्षअघिको जस्तो छैन तर करोडौँ वर्षको प्राकृतिक मेहनतबाट बनेको अमिगडला आज पनि हाम्रो मस्तिष्कमा छँदै छ । यसले स–साना समस्याजस्तै आर्थिक अभाव, गाली–बेइज्जती, परीक्षाको त्रास आदिलाई पनि जीवन नै हरण हुने त्रासका रूपमा परिभाषित गर्दछ र नचाहिँदो रूपमा शरीरमा ग्रन्थी पैदा गराई तनाव सिर्जना गर्दछ । स्नायुविज्ञहरू तनावको स्थितिलाई अमिगडला असन्तुलन भन्छन् । ध्यानले अमिगडलालाई सन्तुलित पार्छ र हामी तनावबाट मुक्त बन्छौँ । 

बुद्ध, ओशो जे कृष्णमूर्ति आदि दार्शनिकले विकास गरेको आधुनिक ध्यान विधिलाई मासाचुसेट्स विश्वविद्यालयका चिकित्सक प्रा.डा. जोन कोबाट जिनले पुनव्र्याख्या गरी अझ आधुनिक र वैज्ञानिक तथ्ययुक्त बनाएका छन् । उनको अन्वेषणलाई टारा बार्क, ज्याक कर्नफिल्ड, सुसान स्पिङ्क जस्ता ध्यानवादी स्नायुविज्ञले अझ अगाडि बढाएका छन् । अझ अमेरिकाकै यल विश्वविद्यालयकी प्राध्यापक डा. लोरी स्यान्टोसले त आजकल ‘साइन्स अफ वेलबिइङ’ नामक कोर्स नै प्राध्यापन गर्न थालेकी छन् । 

आज विश्वमा ध्यानले उद्योगको रूप लिएको छ । सन् २०२१ को तथ्यांक अनुसार ध्यान उद्योगको कमाइ दुई अर्ब अमेरिकी डलर मानिन्छ । सन् २०३० सम्म यसको कमाइ बढेर वार्षिक सात अर्ब डलर पुग्ने अनुमानमा आज पश्चिमा देशमा ध्यान तथा योगको बजार विस्तार हुँदै गएको छ । 

मानसिक स्वास्थ्य बाहिर देखिने विषय होइन । मानिस आन्तरिक रूपमा कति कमजोर हुन्छ भन्ने दुई सयपटकभन्दा बढी विश्वका मानिसलाई सय लिटरभन्दा बढी रगत दान गरेका मैनालीको आत्मदाहले देखाउँछ । सामान्य भनाभनमा ससुरालीपट्टिका आफन्तले गरेको मौखिम दुव्र्यवहारलाई उनले वर्ष दिनसम्म पचाउन सकेनन् । यसबिचमा उनलाई ध्यानको बाटोमा कसैले हिँडाइदिएको भए उनको ज्यान बच्ने थियो । उनको परिवारका सदस्यलाई यत्रो घात पर्ने थिएन । त्यसैले आउनुस्, माथि उल्लेख भएका लक्षण देखिएका मानिस भए हतारहतार नजिकैको ध्यान केन्द्रमा पठाऔँ । आफू बाचौँ र अरुलाई पनि बाँच्ने अवसर प्रदान गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप