नराम्रो सपना
पेसाले म सरकारी कर्मचारी, अझ भनौँ राष्ट्रसेवक । यही सेवामा एक दशकभन्दा बढी आफ्नो ऊर्जावान् समय व्यतित गरिसकेको छु । जति जति समय बित्दै छ, त्यति त्यति सरकारी जागिरप्रति नैराश्यता, घृणा र डरको पारो बढ्दै गएको छ । घरमा हरेक बेलुका ती सानी छोरीले प्रश्न गर्छिन्, ‘बाबा ! हामी विदेश किन नगएको ? हजुरलाई विदेश जान मन छैन हो ? मेरो साथीका बुवाहरु सबै विदेश जानुभएको छ !’
यतिका वर्ष सरकारी सेवा गर्दा आखिर के नै भयो र ? बिरामी पर्दा पैसाको खाँचो ! बालबच्चालाई राम्रो स्कुलमा राख्ने औकात छैन, रेस्टुराँमा लगेर खाना खुवाएको अहिलेसम्म याद छैन । बिहे भएको यति लामो समय भयो, तर पनि श्रीमतीलाई एउटा राम्रो सारी किनिदिन सकेको होइन । एक छाक खसीको मासु किनेर खानका लागि दशपटक सोच्नुपर्छ । सरकारी जागिरमा त्यही एउटा इज्जत छ भन्ने गरिन्थ्यो, त्यो पनि कुन दिन कसैको सन्कीले वा आफ्नै जान–अन्जानको गल्तीले माटोमा मिल्ने हो, थाहा छैन !
बिहानदेखि बेलुकासम्म दौडेर दुई छाक खान र एकसरो कपडा लगाउन पनि राम्रोसँग पुगेको हैन । अहिले नै विदेश गएँ भने केही समयपछि श्रीमती र छोरीहरूलाई उतै सेटल गर्न सहज हुने थियो । आखिर, यी दुई छोरीहरू पनि केही समयपछि विदेश नगई नछाड्ने नै होलान् । यस्तै यस्तै कुरा मनमा खेलाउँदै सरकारी जागिरबाट राजीनामा दिने र विदेशको यात्रा तय गर्ने निधो गरेँ ।
कागजातको तयारीका लागि काठमाडौँदेखि गृहजिल्ला दाङ जाँदै थिएँ । रात्रिबसमा सुप्रिया केसीसँग भेट भयो । उनी मेरो आडैको सिटमा मोबाइलबाट गीत सुन्दै थिइन्, इयरफोन लगाएर ।
निकैबेरसम्म हामीबिच कुराकानी भएन । कलंकी कटेपछि मैले नै सोधेँ, ‘तपाईंं कहाँसम्म ?’
‘हजुर !’ एयरफोन निकाल्दै उनी बोलिन् । उनी बुटवलसम्म जाँदै रहिछन् ।
‘घर नै बुटवल हो कि !’ मैले सोधेँ ।
‘हजुर, घर नै बुटवल ।’
‘तपाईं कहाँसम्म नि ?’ उनले पनि चासो दिइन् ।
‘दाङसम्म ।’
उनले पुनः सोधिन्, ‘हजुर के काम गर्नुहुन्छ नि ?’
‘अहिलेसम्म सरकारी अफिसर छु,’ मैले भनेँ ।
‘अहिलेसम्म भन्नाले ?’ उनले आश्चर्य व्यक्त गरिन् ।
‘अब अरु केही गरौँ कि भन्ने सोच छ ।’
‘सरकारी स्थायी जागिर छाडेर के फरक सोच नि अब ?’
‘विदेशतिर जाने कि भन्ने सोच बनाएको छु ।’
‘सरकारी जागिर छाडेर विदेश जाने ? आफूले त्यही सरकारी जागिर खानका लागि कतिपटक लोकसेवा दिएँ, चारपटक त प्रारम्भिक र लिखित परीक्षामा पास पनि भएँ तर खोइ अन्तर्वार्तामा सफल हुन सकिएन । अब त जाँच दिनै मन लाग्दैन । त्यत्रो दुःख गरेर नर्सिङमा ब्याचलरसम्म गरियो !’ उनले लामै गुनासो गरिन् ।
‘अहिले के गर्दै हुनुहुन्छ त ?’
‘म पनि विदेशको प्रोसेजमा छु । केही समय प्राइभेट हस्पिटलमा काम गरेँ । धेरै दुःख हुने । रात–दिन कुन बेला ड्युटी पर्ने हो पत्तै नहुने ! १५–२० हजार तलब क्यान्टिनको खाजा–खाना र गाडी भाडामै सकिने !’
उनीसँग लामै कुरा भए । अविवाहित उनको उमेर ३०–३२ जस्तो लाग्थ्यो । पीएलसी नर्सिङ गर्नेबित्तिकै उनलाई विदेशमा पीआर लिएका र उतै सेटल भएका केटाहरूबाट बिहेको प्रस्ताव आएका रहेछन् । ‘देशमै केही गर्ने भन्दै बसियो, उमेर पनि घर्कन थाल्यो, अचेल त पीआरवालाहरुको प्रस्ताव पनि आउँदैन,’ उनले हाँस्दै भनिन् ।
उनले सोधेपछि मैले पनि आफ्नोबारे बताएँ— दुई छोरीहरूको बुवा, कम्प्युटर इन्जिनियरमा मास्टर गरेर सरकारी सेवामा छिरेको आदि–इत्यादि ।
‘आईटी पढ्नेको त राम्रो छरे विदेशमा । मेरो साथीको पनि आईटी पढेको केटासँग बिहे भएको छ । दुवैजना विदेशमै छन्, पीआर भइसक्यो रे,’ उनले सुनाइन् ।
यस्तै कुरा हुँदै गर्दा मुग्लिन पुगियो । सहचालकले चिच्याए— लौ है, खाना खान झर्नुस् ।
हामीले सँगै खाना खायौँ । मैले उनको पनि पैसा तिर्न खोजेको थिएँ, उनले मानिनन्, आफ्नो पैसा आफैँ तिरिन् । गाडी अगाडि बढेसँगै हामीबिच कुराकानी पनि बढ्दै गए । देश–विदेश, समाज, राजनीति आदि सबै क्षेत्रका बारेमा गफ भए । हामी फेसबुकमा पनि साथी भयौँ । साथी बन्ने बेला मात्रै हामीले एकअर्काको नाम थाहा पायौँ— गौरव पाण्डे र सुप्रिया केसी ।
बुटवलमा उनी ओर्लिन् । उनी छुट्टिएको तीन घन्टापछि फेसबुकमा मेसेज आयो, ‘अनि घर पुग्नु भयो त ?’
यसरी नै उनीसँग मेरो कुराकानी भइरह्यो । काठमाडौँ फर्कंदा मिलेसम्म सँगै फर्कौंला भन्नेसम्मको प्रस्ताव उनले गरिन् । चिनजान भएको तीन दिन नहुँदै यस्तो प्रस्ताव आउँदा म अलि सशंकित भएँ । उनीसँगै फर्कन नमिलेको होइन तर उचित लागेन र घुमाउरो ढंगले अस्वीकार गरेँ ।
मेसेन्जरमा उनले लेखिन्, ‘सी यु काठमाडौँ ।’ त्यसमा ‘लभ सिम्बोल’ पनि थियो । मलाई उनको चाला ठिक लागेन । चिनेको चार दिन भएको छैन, लभ सिम्बोल ! मनमा अनेक कुरा खेल्न थाले । भएको घरबार बिग्रेला भन्नेसम्मको डर भयो । त्यसपछि मैले उनको म्यासेजलाई इग्नोरमा राखिदिएँ । यतिन्जेलसम्म हाम्रो सम्पर्क नम्बर साटासाट भएको थिएन । केही दिनपछि मेसेन्जरमा उनको नाम टाइप गरेर खोजेँ, लामै मेसेज आएको रहेछ । कता हुनुहुन्छ ? विदेशको प्रोसेज के भयो ? यस्तै सोधेकी थिइन् । अनि, मोबाइल नम्बर पनि मागेकी थिइन् ।
फोनमा कुरा हुँदै जाँदा असल साथी बन्ने निष्कर्षमा हामी दुवै पुग्यौँ । उनीसँग दिनहुँजसो कुरा नगरी मेरो मनले मान्दैनथ्यो । हाम्रो सम्बन्धको अर्को नाम प्रेम हो कि जस्तो आभास हामी दुवैलाई नभएको होइन । कुराकानी पनि त्यस्तै किसिमले हुन थालेका थिए । यद्यपि यस्ता कुरा हुँदा मेरो स्मृतिमा घरकी श्रीमती र दुई छोरी आइहाल्थे ।
मैले विदेशको प्रक्रिया थालिसकेको थिएँ । एक दिन सुप्रियाले नै प्रस्ताव गरिन्, ‘हाम्रो सम्बन्ध यति माथि पुगिसक्यो । तपाईं आफ्नी श्रीमतीलाई छाड्न तयार हुनुहुन्छ भने म तपाईंकी हुन तयार छु । विदेश गएर सँगै संघर्ष गरौँला ।’
घरमा श्रीमती अलिअलि शंका गरिसकेकी थिइन्, बेला बेला झगडा हुन थालिसकेको थियो । झगडा बढ्दै जाँदा अन्ततः मैले श्रीमतीलाई डिभोर्स दिने कठोर निर्णय लिएँ । सम्पत्ति के कति दिने भन्ने विषयले गर्दा डिभोर्स हुन समय लाग्दै थियो ।
डिभोर्सपछि सुप्रियासँग कोर्ट म्यारिज गर्ने कुरा थियो । तर उनी एकाएक सम्पर्कविहीन हुन पुगिन् । मनमा चिसो पस्न थाल्यो । सम्पर्क गर्ने अनेक उपाय लगाएँ, तर सफल हुन सकिनँ ।
केही दिनपछि सुप्रियाको फोन आयो । सुरुमा बेसरी कराएँ— तिमी कहाँ गायब भएको ? म कत्ति आत्तिएँ, कहाँ कहाँ खोजिनँ !’
उनले सानो स्वरमा भनिन्, ‘मलाई माफ गर्नुस् । मैले तपाईंलाई खबर गर्न सक्ने अवस्थामा थिइनँ । म समस्यामा परेकी थिएँ । बाबा–आमा र आफन्तले जोडबल गरेर मेरो बिहे गरिदिए, अस्ट्रेलियाको पीआरवालासँग । मैले केही भन्न र सोच्नै पाइनँ ।’
‘तिमी धोकेबाज रहिछौ,’ म रिसाएँ । उनले पनि रिसाउँदै भनिन्, ‘आखिर तपाईंसँग के नै छ र ? सरकारी जागिरले खान पुग्ने होइन । विदेशको भिसा लाग्ला वा नलाग्ला, थाहा छैन । त्यसमाथि बच्चाबच्ची भइसकेको मान्छे । तपाईंको बारेमा घरमा कुरा गर्न पनि मलाई गाह्रो पर्यो ।’
म छाँगाबाट खसेँजस्तो भएँ र चिच्याएँ— तिमीले मेरो घरबार बिगार्यौ ! धोकेबाज ।’
यत्तिकैमा श्रीमतीले मलाई झकझक्याएर उठाउँदै सोधिन्— के भयो, नराम्रो सपना देख्नुभएन कि !
यति लामो सपना, यस्तो खराब सपना !
‘अँ, कस्तो नराम्रो सपना देखेँ ।’
‘उठ्नुस्, उज्यालो भइसक्यो ।’
श्रीमतीको आग्रहसँगै उठेर नित्यकर्ममा लागेँ । अहो, यस्तो नराम्रो सपना मैले किन देख्नुपरेको होला !
(लेखक नेपाल सरकारका कम्प्युटर इन्जिनियर हुन् ।)