बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘सङ्कटमा सेवा जस्तो हुनुपर्ने थियो, त्यस्तो भएन’

शनिबार, ०५ फागुन २०८०, १८ : ४१
शनिबार, ०५ फागुन २०८०

सुर्खेत । कर्णालीवासीले विभिन्न समयमा झाडापखाला, बाढी पहिरो, भूकम्प र कोभिडजस्ता मानवीय र प्राकृतिक सङ्कट झेल्दै आएका छन्। सङ्कटका बेला सरकारी तथा गैर सरकारी निकायहरू सेवामा खटिन्छन्। कोही स्वच्छ मनले सेवा गर्छन् त कोही सेलिब्रेटी बन्नकै लागि पनि सेवा गर्छन्।

विशेष गरी उनीहरूले उद्धार, उपचार तत्कालीन राहत लगायतका मानवीय सहायतामा पीडितलाई सघाउँदै आएका छन्। सङ्कटमा सेवा गर्नेहरूको विषयमा शनिबारदेखि वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा  बहस भयो ।

छलफलमा सहभागी थिए समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र  भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्ती। उनीहरूलाई पत्रकार प्रकाश पन्तले सङ्कटमा गरिने सेवाका बारेमा प्रश्न गरे। तीनै जनाले एउटै जवाफ थियो, ‘सङ्कटमा सेवा जस्तो हुनुपर्ने थियो त्यसो भएन ।’

छलफलमा बोल्दै गायिका आनीले सेवा नै आनन्दको श्रोत भएको बताइन् । उनले भनिन्, ‘कर्म त्यस्तो गर्नु हो, जसले बेलुका सुत्दा मनमा डर, त्रास  हैन । आनन्द देओस् । सेवा नै आनन्दको श्रोत बनोस् ।’ उनले सङ्कटका बेला पनि ‘राहतमा भ्रष्टाचार भयो । नेताहरूको आफन्तलाई मात्रै राहत’ भन्ने जस्ता मिडियामा आउने समाचारले मन पोल्ने गरेको बताइन् ।

‘मान्छेले जालझेल गर्न सक्छ । बनाएको कानुन छल्न सक्छ । भनसुन गर्न सक्छ तर कुद्रतले बाएको कानुन छल्न सक्दैन । मोलमोलाइ गर्न सक्दैन,’ उत्सवको मञ्चमा बोल्दै उनले भनिन्, ‘पैसा हुँदैमा ठुलो भइन्छ भन्ने भ्रमबाट माथि उठौँ । सङ्कटका बेला सहयोग गरौँ । मान्छेले कर्मको फल भोग्छ । सत्य कर्म गरौँ । ’

उनले काम गर्ने मान्छेहरू गुमनाम हुने तर नगर्नेहरूको चर्चा बेसी हुने गरेको बताइन् । ‘डिजास्टरको सबैभन्दा सुन्दर पक्ष भनेको, विपद्ले सबैको मन पोल्न आवश्यक छ । पोल्नु पर्छ । त्यसले सामूहिक भावना पैदा गर्छ,’ उनले भनिन्, ‘सबैमा रक्सीको लत नलागोस्, भ्रष्टाचारीको लत नलागोस्, सबैमा सेवा गर्न लत लागोस् ।’

सोही मञ्चमा अर्का वक्ता थिए, डाक्टर डम्बर खड्का । झन्डै ४० वर्ष कर्णालीमा रहेर स्वास्थ्य सेवा गरेका खड्का प्रदेश अस्पतालका निर्देशक हुन् । कोभिड महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरेका खड्काले सङ्कटका बेला स्वच्छ मनले काम गरे पुग्ने बताए । ‘आफूले पाएको जिम्मेवारी उत्कृष्ट ढङ्गले तवरले पुरा गरे मात्रै हुन्छ । स्वच्छ मनले काम गर्‍यो भने राम्रो परिणाम आउँदो रहेछ,’ उनले भने,  ‘राम्रो काम गर्नेलाई सरकार, जनता सबैले धन्यवाद दिँदा रहेछन् ।’

उनले विपद्का बेला सरकारी तयारी भने पर्याप्त नहुने गरेको बताए । तर सरकारी संयन्त्र भने गम्भीर भएर लाग्नु पर्ने उनको सुझाव छ । ‘सङ्कट जतिबेला पनि आउन सक्छ । त्यसका लागी हरेक संरचनाहरू तयारी अवस्थामा रहनु पर्छ,’ उनले भने । तर प्रदेश अस्पताल आइपर्ने विपद्को समानका लागि सधैँ तयारी अवस्थामा रहेको बताए । ‘कोभिडको बेला पनि हामीले ५०० बेडको सेवा दिन सक्ने गरी तयारी अवस्थामा थियौँ । कोभिडकै कारण सहकर्मी डाक्टर गुमायौँ । तर सेवा उत्कृष्ट नै दियौँ’ डाक्टर खड्का भने ।  

सङ्घीयताको ब्युटी विपद्को बेला देखिएको भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती बताउँछन् ।  गत १७ कातिकमा जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले उनको पालिकामा नै सबैभन्दा ठुलो मानवीय क्षति भयो ।  

‘सरकार र सहयोगी मनहरूको सहयोगमा २४ घण्टा भित्रै खोज र उद्धारका काम गरेका थियौँ’ उनले भने, ‘सङ्घीयताको ब्युटी भनेको यही हो सायद भूकम्पको बेला केन्द्र, प्रदेश र स्थानीय तह सबैले चासोका साथ हेर्नुभयो । खटिनु भयो । थुप्रै दातृ निकायले सहयोग गरे । र, धेरैको ज्यान जोगियो ।’

तर कतिपय व्यक्तिहरू भने सेलिब्रिटी समाजसेवी पनि देखिएको भन्दै मेयर घर्तीले दुखेसो पोखे । ‘कतिपय व्यक्तिहरू सेल्फ र फोटो खिच्नकै लागि पनि समाज सेवा गरेझैँ गर्नेहरू पनि देखिए’ उनले भने ।

विपद्जन्य सङ्कटबाट बच्नका लागि समुदाय स्तरमै विपद् व्यवस्थापन सम्बन्धी तालिम वा विशेष कोर्स सञ्चालन गर्न आवश्यक रहेको मेयर घर्ती बताउँछन् । ‘विद्यालय र टोल स्तरबाटै विपद् व्यवस्थापन सम्बन्धी विशेष कोर्स सञ्चालन गर्न आवश्यक छ । अझै पनि कर्णालीमा ठुला प्राकृतिक प्रकोप आउन सक्ने प्रक्षेपण गरिएको छ,’ उनले भने ।

सङ्कटका बेला समुदायमा पनि सबैलाई सहयोग गरौँ भन्ने सामूहिक भावना नभएको घर्तीले बताए । उनले भने, ‘भूकम्पका बेला मैले त्रिपाल पाए, छिमेकीले पाएको छैन । उसलाई दिनुहोस् भनेर एक जनाले पनि भनेको सुनिएन,’ उनले भने,  ‘हामीमा सामूहिक भावना मर्दै गएको छ । मानवीयता हराउँदै गएको छ । यसको विषयमा पनि गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप