अब हामीकहाँ कस्ता फिल्म बन्न आवश्यक छ ?
कलाकार भनेको विशेष गरेर भावनासँग खेल्ने व्यक्ति हो । भावना मान्छेहरूका लागि असाध्यै महत्त्वपूर्ण छ । विडम्बना के छ भने समाजमा मान्छेले आफूले चाहेजस्तो हिसाबबाट आफ्नो जीवनकालमा भावनाहरू प्रकट गर्न सक्दैन । किनकि समाजमा विभिन्न किसिमका परिधि छन् । समाजमा तपाईंले चाहे जति प्रेम, चाहेजति घृणा, चाहे जति आक्रोश व्यक्त गर्न सक्नुहुन्न । यतिसम्म कि तपाईं चाहेजति हाँस्न सक्नुहुन्न । तपाईं संकुचित बन्नुपर्छ, मैले यसो गर्दा अरुले के भन्लान् भनेर सोच्नुपर्छ ।
रेस्टुरेन्टमा गज्जबकी युवती देख्नुभयो । ‘आहा ! कति राम्री यार, गएर आई लभ यु भन्न पाए’ भनी सोच्नुभयो भने तपाईं ‘भन्न पाए’मै गुम्सिरहनुहुन्छ । तपाईं सोच्नुहुन्छ कि मैले यसो भन्दा उसको प्रतिक्रिया के हुने हो ! सिनेमामा यही खालको स्क्रिप्टमा काम गर्न सकिन्छ । रेस्टुरेन्टमा बसिरहेकी युवतीको अगाडि सिधै गएर एउटा घुँडाले टेकेर आई लभ यु भन्ने दृश्य छ भने कलाकारले निर्देशकको निर्देशन अनुसार दिल खोलेर भन्न सक्छ । सिनेमामा भिलेनको कठालो समातेर चिच्याउन सकिन्छ । वास्तविक जीवनमा यी कार्य गर्न सम्भव छैन । कलाकारिताको भिन्नता यही हो, यी सबै नवरस, सबै भावनाहरूलाई कलामार्फत प्रकट गर्न सकिन्छ ।
गीत, सिनेमा, लेख वा कुनै सिर्जनामार्फत मानिसले आफूलाई अभिव्यक्त गरिरहेको हुन्छ । यस्ता सिर्जना नगर्नेले एकआपसमा कुरा गरेर मात्रै पनि आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन् ।
सिनेमामा जहिले पनि पोजिटिभ र नेगेटिभ तत्त्व राख्नैपर्ने हुन्छ, राख्दिनँ भन्दाभन्दै पनि । कहिलेकाहीँ वा कुनै बेला समाजमा प्रत्यक्ष नेगेटिभ तत्त्व देखिएको हुँदैन, अझ भनौँ टड्कारो रूपमा देखिएको हुँदैन । पहिले सोभियत युनियन कम्युनिस्ट राज्य थियो, त्यो बेला हलिउडले फिल्म बनाउँदा रसियालाई नेगेटिभ देखिरहेको हुन्थ्यो । अहिले सोभियत युनियन कोल्याप्स भयो, त्यसपछि हलिउडले अर्को नेगेटिभ पात्र खडा गर्नुपरेको छ । अहिले हलिउड हेर्नुभयो भने, या त आतंकवादी होला, या केही न केही नेगेटिभ तत्त्व कल्पना गरिएको हुन्छ । उनीहरूले पृथ्वीको मान्छे अन्य ग्रहको एलियनसँग लडेकोसम्म कल्पना गरेका छन् ।
अहिले हामीले सिनेमाको कथामा विदेश जानुपरेको कारण खोतल्न सक्छौँ, राजनीतिका चलखेल, भ्रष्टाचारलाई देखाउन सक्छौँ ।
बलिउडको कुरा गर्दा, राजनीतिक हिसाबले इन्डिया र पाकिस्तानबीच कन्फ्लिक्ट हुनु दुर्भाग्यपूर्ण छ तर सिनेमाको सर्जकले त्यसबाट मसला पाइरहेको छ । हाम्रो पेरिफेरीमा कुरा गर्दा, त्यसरी बाहिरी तत्त्वलाई फिल्ममा ल्याउने स्थानमा हामी छैनौँ । हाम्रो राजनीतिक र सामाजिक परिवेश पनि त्यो खालको होइन ।
यद्यपि राष्ट्रवाद भन्ने चिज यस्तो हो, जसलाई प्रायःले आत्मसात् गर्छन् । नेपाली झन्डा फहराएर रातो र चन्द्र सूर्य भन्ने गीत बज्दा हामीमा राष्ट्रवादको भावना जागिहाल्छ । अहिले इजरायलमा बमबारी भइरहेको छ, त्यहाँ बस्ने नेपाली महिलाले बमबारीकै बीचबाट म पनि गोरखालीको छोरी हो, म डराउँदिनँ भनिन् भने यहाँ नेपाली कता न कता जुर्मुरिइहाल्छन् । फिल्ममा सर्जकले यस्तै भावना तान्ने कोसिस गर्छ । मानिसलाई छुने यस्तो स्युर सट भावनालाई क्यास गर्न खोजिहाल्छन् । यस्ता भावना सशक्त ढङ्गले पस्केको खण्डमा फिल्ममा अन्य त्रुटि पनि नजरअन्दाजमा पर्छन् । जस्तो ः भर्खरै भारतमा गदर २ फिल्म आयो । तपाईंले फिल्म मेकिङको पारखी भएर हेर्नुभयो भने त्यहाँ धेरै त्रुटि छन् । अहिले बलिउडमै पनि फिल्महरू हाई टेक्नोलोजीमा बनिरहेका छन् । त्यसको अनुपातमा यो फिल्म साह्रै फितलो छ तर राष्ट्रिय भावना प्रबल रूपमा आएपछि बाँकी कुरा नजरअन्दाज गरियो ।
नेगेटिभ र पोजिटिभ पक्षहरू फिल्ममा ल्याउने क्रममै राष्ट्रवादको भावना जगाउनेदेखि आफ्नो राष्ट्रको सामाजिक मुद्दाहरू उठाउने गरिन्छ । अहिले हामीले सिनेमाको कथामा विदेश जानुपरेको कारण खोतल्न सक्छौँ, राजनीतिका चलखेल, भ्रष्टाचारलाई देखाउन सक्छौँ ।
पछिल्लो १०–१२ वर्षमा विभिन्न मुद्दामा केन्द्रित भएर धेरै नेपाली चलचित्र बने । ती फिल्म झट्ट हेर्दा विगतका भन्दा अलि बेग्लै स्वादको जस्तो देखिन्थ्यो, दर्शकले यस्तै महसुस गरेको पाइयो ।
सुरुवाती चरणमा मैले जस्ता फिल्म खेलेँ, त्यतिबेला फिल्ममा कुन न कुनै रूपमा नायकको हिरोइजम् देखाइन्थ्यो । हरेक मुद्दामा नायक ‘लार्जर देन लाइफ’ जस्तो देखिएर समस्याको समाधानमा लाग्थ्यो वा त्यस्तै आश्वासन दिन्थ्यो । मैले खेलेका अधिकांश फिल्ममा त्यही किसिमको हिरोइजम् झल्केको हुन्थ्यो । मैले एउटा ‘भरिया’ फिल्म खेलेको छु । ठेलगाडा चलाउने, भारी बोक्ने पात्र नै किन नहोस्, अन्त्यमा ऊ आफ्नो परिवार, परिवेश र समाजमा भएका थिचोमिचो तथा अन्यायमा समाधान खोज्ने विद्रोही भएर निस्कन्छ । अहिलेको नेपाली फिल्ममा त्यो किसिमको हिरोइजम् भएको पात्र देखिँदैन ।
मैले फिल्मका पात्रमार्फत प्रकट गरेको विद्रोह र आक्रोशलाई दर्शकले आफ्नो ठान्थे । जसले विद्रोहको भावना हुँदाहुँदै पनि विद्रोह प्रकट गर्न सक्दैनथे, आक्रोश प्रकट गर्न सक्दैनथे, ती दर्शक मैले निभाएको पात्रमा आफूलाई पाउँथे ।
पछिल्लो दशकमा जस्तो विषयवस्तु पस्कन खोजेको हो, सोहीअनुरूपको चरित्र निर्वाह गर्न सक्ने कलाकारलाई लिएर चलचित्र बनाउन थालियो । अहिले आएर कता–कता नेपाली दर्शकले त्यो (हिरोइजम्) पनि खोजिरहेको जस्तो फिल भइरहेको छ ।
बलिउडमा ८०–९० को दशकको तुलनामा अहिले चलचित्रको प्रस्तुतिमा धेरै भिन्नता आएको छ तर बलिउडले पहिलेको जस्तो हिरोइजम् क्यारेक्टरलाई छाडेको छैन । हामीकहाँ पनि यो आवश्यक देखिन्छ ।
अहिले सामाजिक र राजनीतिक रूपमा हामी यस्तो घडीमा आएका छौँ, आम जनसमुदायले केही समाधान देखिरहेका छैनन् । अहिले समाजमा कुरीति–बेथिति छ, राजनीतिक अवस्था फितलो छ, कोही मार्गनिर्देशन दिनेजस्तो पात्र देखियो भने त्यसलाई समाजले उचालेको देखिन्छ, वास्तविक जीवनमै पनि । कोही हिरोइजम् भएको व्यक्तिले लिड गरिदेओस् भन्ने मनसाय कता–कता समाजमा देखिन्छ । नेपाली चलचित्रमा अब हिरोइजम् क्यारेक्टर आयो भने सामाजिक र राजनीतिक बेथिति, विकृति र किचलोकै खिलाफमा आउने हो । एलियन वा थर्ड कन्ट्रीलाई नेगेटिभ पात्र बनाएर होइन, आफ्नै सामाजिक–राजनीतिक विकृति र विसंगतिका विरुद्ध लड्ने ‘लार्जर देन लाइफ’को क्यारेक्टर आइदियो भने मलाई लाग्छ दर्शकले आफ्ना गुम्सिएका–थिचिएका भावना उजागर भएको महसुस गर्नेछन् ।
किसान, मजदुर, विद्यार्थी वा प्रशासन हाँक्ने पात्र पुलिस इन्सपेक्टरकै चरित्रमा किन नहोस्, एक किसिमको सामाजिक कुरीति, वर्गीय थिचोमिचो, जमिनदारका अन्याय वा राजनीतिक बेथितिकै खिलाफमा उत्रने पात्रको भूमिका मैले अधिकांश चलचित्रमा निभाएको छु । लामो समयसम्म नेपाली समाज यस्तै खालको थिचोमिचोबाट गुज्रिरहेको पनि थियो । मैले गरेको बहादुर, गाउँले, एक नम्बरको पाखे, भरिया, किसान आदि फिल्ममा तत्कालीन सामाजिक थिचोमिचो वा जनसमुदायको असन्तुष्टि देखाइएको छ ।
मैले फिल्मका पात्रमार्फत प्रकट गरेको विद्रोह र आक्रोशलाई दर्शकले आफ्नो ठान्थे । जसले विद्रोहको भावना हुँदाहुँदै पनि विद्रोह प्रकट गर्न सक्दैनथे, आक्रोश प्रकट गर्न सक्दैनथे, ती दर्शक मैले निभाएको पात्रमा आफूलाई पाउँथे ।
(रातोपाटीसँगको अन्तर्वार्तामा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी