तीन लघुकथा
१) सजाय
‘केको हल्ला हो गाउँमा ?’ राकेशले श्रीमतीसँग सोध्यो । ‘के हुनु, नरेले आजभोलि दिनदिनै रक्सी खाएर स्वास्नी पिट्छ । त्यही हल्लाखल्ला होला नि !’ रमाले भनी ।
‘कसलाई बबितालाई ?’ सिरक फालेर राकेश जुरुक्क उठ्यो र सोध्यो । ‘अझै माया लाग्छ कि कसो ? जुरुक्क उठ्नुभयो त हजुर ।’ जिस्काउने पाराले रमाले सोधी । ऊ पुनः सिरक ओढेर सुत्यो । रमा दराजमा कपडा मिलाउन थाली । ‘त्यसको माया लाग्ने ? बुढी आमा उसैको जिम्मा लगाएर गएको, ऊ त हिँडी छ म आउँदा । पोइल पनि सात डाँडा काटेर जानु नि ! गाउँमै मुन्टिएकी रहिछ । मागेको हो कि किनेको हो कुन्नि गहना देखाउँदै हिँड्थी रे हैन ?’ उसले रमालाई भन्यो ।
‘ढाँटेर भए पनि कन्या केटी पाउनुभयो क्यारे,’ रमाले भनी । ‘आमाको सेवा गर्न तिमीलाई लेखेको रहेछ । हामी छोरा भनेका बाहिरका काठ हुँदा रहेछौँ । तिमी नभए त मेरी आमाको के हालत हुन्थ्यो होला ।’ राकेश भावनामा बग्न थाल्यो ।
दुई दिनपछि गाउँमा हल्ला सुनियो, ‘साँझको अँध्यारोमा कसैले नरेको हात भाँचिदियो रे ।’
२) पर्खाइ
‘ओहो हात त झर्लाजस्तो भयो ।’ बरफको डल्ला छुँदै रमेशले भने ।
‘पन्जा लगाएर कपडाले समातेको भए हुन्थ्यो । ल सबैले हात लगाऊ त । चिप्लिएर खस्यो भने खुट्टा काट्ने गरेर फुट्छ ।’ नीलकण्ठ बाले भने । पर्खालमा बसेका स्कुले केटाकेटी उठेर गए र रमेशलाई सहयोग गरे । स्कुले केटाकेटीबाहेक कुनै तन्नेरी गाउँमा छैनन्, सबै विदेशी भएका छन् ।
‘कहाँबाट ल्याएको हो ?’ धर्मराजले सोधे । ‘सहरबाट ल्याएको हो । एक घन्टाको बाटो हो, मगाएपछि उसैको गाडीमा ल्याइदिन्छ । लागेको ढुवानी तिर्नुपर्छ ।’ रमेशले भन्यो ।
‘अब यतिले पुग्ला ?’ धर्मराजले सोधे ।
‘के धान्थ्यो अर्को पनि ल्याउनु भोलि भनेको छु ।’ रमेशले भन्यो ।
तुलसीको मठमा बरफ राखेर र त्यसमाथि मृत शरीर राखेपछि रुँदारुँदै आँसु सकिएर सुक्खा भएकी खगेश्वरीलाई रमेशले सोध्यो, ‘चार दिनसम्म त छोराहरू आइपुग्लान् नि है काकी ?’
३) नाफा
आँगनमा मानिसहरू जम्मा भएका थिए । टुल्कीको अनुहार मलिनो थियो । ‘धेरै टाढा लैजान सकिँदैन । कता पु¥याउने हो ?’ मानेले सोध्यो ।
‘त्यही त बारीको वल्लो पाटोभन्दा पर लैजान सकिँदैन ।’ हर्केले भन्यो । टुल्कीको लोग्ने विदेश गएको पनि धेरै भयो, तर पैसा पठाएको थिएन । छोराछोरी साना थिए ।
‘बारीको वल्लो पाटोमा लैजाने सल्लाह भयो भने ल कोदाली र साबेल निकाल न त । खन्न सुरु गरौँ ।’ मानेले भन्यो । कोही खाडल खन्न थाले । कोही बाँसको घोँचा र डोरी खोज्न थाले ।
केही समयपछि खाडल खन्ने काम सकियो । सबैको मद्दत पुगेपछि सजिलो भयो । बाँसको घोँचा र डोरीको सहायताले मरेको जर्सी गाई तानेर खाडलसम्म पु¥याइयो । नन्दलाल बाले सोधे, ‘ऋण कति बाँकी थियो नि टुल्की ?’
आँखाभरि आँसु टिलपिल गर्दै टुल्कीले भनी, ‘छोराछोरीको मुखको कटाएर भने पनि अघिल्लो महिना अन्तिम किस्ता बुझाएकी हुम् । अब त नाफा भनेको यही गाई थियो, त्यै पनि बूढो भएर म¥यो ।’
पोखरा ७ मासबार, कास्की ।