बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

अब संघका सांसदसँग पनि नयाँ लडाईं गर्नुपर्ने बेला भयो : मुख्यमन्त्री पाण्डे

शुक्रबार, ०४ फागुन २०८०, २३ : ३१
शुक्रबार, ०४ फागुन २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारसँगै सांसदहरूसँग पनि नयाँ लडाईं लड्नुपर्ने बेला आएको बताएका छन् । सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध नभएको पटक पटक आरोप लगाउँदै आएका पाण्डेले संघका सांसदहरू पनि यसप्रति जिम्मेवार हुन नसकेको तर्क गरे ।

पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनमा संघको केन्द्रिकृत मानसिकता नहटेको अभिव्यक्ति दिएपछि पाण्डेले सांसदहरूले पनि सङ्घीयताको पक्षमा काम नगरेको प्रतिक्रिया दिएका हुन् । गण्डकी प्रदेश सरकारको सातौँ स्थापना दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाका सांसदहरू पनि सङ्घीयताको पक्षमा नरहेको बताएका हुन् ।

‘आज जे अभिव्यक्तिहरू भएको छ, म सुन्न चाहन्छु कि उहाँको आवाज यो भन्दा चर्को रूपमा संसदमा पनि आओस् । संघीय संसदमा प्रदेशको अधिकारका लागि गुन्जिएको सुन्न चाहन्छौँ,’ उनले भने, ‘प्रदेशले संघ सरकारसँग मात्रै होइन, संघीय सांसद सँग पनि नयाँ लडाईं गर्नुपर्ने बेला भएको छ । कानुन बनाउने जिम्मा सरकारको मात्रै होइन । तपाईंहरुको पनि हो ।’ अहिलेसम्म कुनै पनि सांसदले प्रदेशको अधिकारका पक्षमा आवाज नउठाएको पाण्डेको भनाई छ ।

‘चाहे हिजो प्रदेशमा बसेर संघमा पुगेका भन्नुस्, चाहे हिजो संघमा बसेर प्रदेशमा झरेका माननीय ज्यूहरू भन्नुस्, सङ्घीयता कार्यान्वयनको पक्षमा हामी कति इमानदारिताका साथ प्रयत्न गरिरहेका छौँ ? केवल समारोहमा मात्रै होइन, जहाँबाट कार्यान्वयन गर्नुपर्ने हो परिणाम आउने किसिमबाट कामको सुरुआत होस्,’ उनले भने ।

उनले यसअघि बनेका प्रदेश र संघको संरचनाबारे पुनरावलोकन गर्ने बेला आएको बताएका छन् । संघीय संरचनापछि पुराना कार्यालयहरू खारेज हुने संवैधानिक व्यवस्था विपरीत प्रदेशले आफ्ना छुट्टै जिल्ला कार्यालय खोलिरहेको छ ।

यसबारे अब पुनरावलोकन गरेर मितव्ययी बनाइने उनले सुनाए । ‘धेरै संरचना बनेका छन् । ती संरचनाको औचित्य पुष्टि कति भएको छ ? चाहे अनुसार प्रतिफल दिए कि दिएनन् ? त्यसको पनि परीक्षण गर्ने बेला भएको छ,’ अघि भने, ‘त्यसैले समिति बनाएर ती संरचनाको पुनर्गठन गर्ने छौँ । प्रतिवेदनका आधारमा पुनरावलोकन गरेर जान्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप