बालकुमारी घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको निष्कर्ष

काठमाडौँ । ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ ।
पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।
जाँचबुझ आयोगका एक अधिकारीले रातोपाटीसँग भने, ‘घटनाको मुख्य जिम्मेवार नै मन्त्री भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उनकै कारणले यति ठुलो घटना भएको जाँचबुझबाट खुलेको छ ।’ आयोगले शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।
ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप हुँदा गत पुस १३ गते दुई युवाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने घटनामा कमजोरी भएको निष्कर्षका साथ सरकारले ललितपुरका तत्कालीन प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह र प्रजिअ रुद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएको थियो ।
त्यस्तै, प्रदर्शनस्थलमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गृह मन्त्रालयले गरेको थियो ।
प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वाला र उनका पीएसओको लापरबाही देखिएको बताइएको छ । प्रदर्शन भएकै स्थलबाट ज्वालाको गाडी लापरबाही ढंगले लगिएको र सो क्रममा गाडीबाट झरेर ज्वालाले विवाद समेत गरेको बताइएको छ ।
सो घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरेको थियो । यस्तै यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो भने चौतर्फी आलोचना भएपछि सरकारले पुस १६ गते जाँचबुझ आयोग बनाएको थियो ।
मन्त्रीपरिषद्को निर्णयअनुसार आयोगमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेका थिए । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको भएपनि म्याद थप गरेर शुक्रबार मात्रै बुझाइएको हो । घटनाको छानबिनका क्रममा आयोगले मन्त्री ज्वालासहित सम्बन्धित सबैसँग बयान लिएर प्रतिवेदन तयार गरेको हो ।
मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी दिएको थियो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?
-
रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो
-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै
-
सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ : ट्रम्प