मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

वाफ च्याम्पियनसिप जित्नेछौँ : कप्तान एञ्जिला

शुक्रबार, ०४ फागुन २०८०, १८ : १७
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएकी छन् । 

साउदी अरबमा आगामी फेब्रुअरी २० देखि नेपालले वाफ च्याम्पियनसिप खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले सोही दिन सिरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने तालिका छ । अर्को टोली प्यालेस्टान र इराकसहित यो समूहमा चार राष्ट्र छन् । नेपाली टोलीकी कप्तान एञ्जिलाले एशियाली क्षेत्रमा नेपालको महिला फुटबल राम्रो रहेको र सोहीअनुरूप तयारी पनि सुखद रहेकाले आफ्नो टोली च्याम्पियन बन्ने आशा व्यक्त गरिन् । यद्यपि प्रतियोगितामा साउदी अरेबियाको टोली बलियो रहेको बताइन् ।  

गल्फ राष्ट्रले प्रतिष्पर्धा गर्ने यस वाफमा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । फेब्रुअरी २२ मा नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनबिरुद्ध फेब्रुअरी २४ मा खेल्नेछ । कप्तान एञ्जिलाले यो प्रतियोगिताका लागि भने तयारी पर्याप्त नभएको उल्लेख गर्दै ६ जना खेलाडी देश बाहिर खेलेकाले त्यसको फाइदा टोलीमा पुग्ने विश्वास व्यक्त गरिन् । धेरै खेलाडी बाहिर रहेकाले प्रशिक्षकलाई सुरुवाती चरणमा टिम सेट गर्न गाह्रो भएको बताइन् ।

साउदीमा प्रतियोगिता खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार एक कार्यक्रमबिच बिदाइ गरेको थियो । टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यो प्रतियोगिताका लागि करिव तीन हप्ता तयारी गरेको उल्लेख गर्दै टिमका धेरै खेलाडी बाहिर रहेकाले पूर्ण टोलीसहित पर्याप्त तयारी गर्न नपाएको बताए । यद्यपि, नतिजा भने आफ्नो पक्षमा आउने उनको विश्वास छ ।

आठ टोलीले प्रतिष्पर्धा गर्ने यस प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूहचरणका खेलहरू जेडाह शहरस्थित किङ अब्दुल्ला स्पोर्टस सिटी रंगशालामा हुनेछन् । सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्टस सिटीमा हुनेछन् । प्रशिक्षक तामाङले गत सोमबार एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका थिए । डिफेण्डर सविना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्रा भण्डारीलाई पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका छन् ।

नेपाली टोलीको सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर, व्यवस्थापकमा ब्रिन्दा दीवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धर छन् । नेपाली टोलीमा गोलकिपरमा एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ, डिफेण्डरमा अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी छन् । मिडफिल्डरमा भने अमिषा कार्की, अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्रा भण्डारी तथा फरवार्डमा सविता रानामगर, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ र रेखा पौडेल छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप