बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदनमा गठबन्धनको छाया देखियो : शेखर कोइराला

शुक्रबार, ०४ फागुन २०८०, १५ : ४९
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया परेको बताएका छन् । शुक्रवारको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेसको मौलिकतामा आधारित नरहेको बताए । 

बिहीबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठिनक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि टिप्पणी गर्दै कोइरालाले भने, ‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू हेर्दा कता—कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन।’

आफ्नो इतिहासको गुणगान मात्र गाउन र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न उनको सुझाव छ । ‘सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौँ । कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन ? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौँ ,’ उनले भने ।

महासमिति बैठकमा २९ वटा संसदीय निर्वाचन क्षेत्र र केही भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व नहुने अवस्था आएको भन्दै यो  विषयलाई तुरुन्त टुङ्ग्याउनुपर्ने कोइरालाको भनाइ छ ।

महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति” बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको उनले बताए ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा १५ औँ महाधिवेशनको कार्यतालिका आएको भन्दै महासमितिको बैठकले त्यो कार्यान्वयनको सुनिश्चित गरिनुपर्ने कोइरालाको भनाइ छ ।

प्रस्तावहरूमा धेरै राम्रा कुराहरू समेटिए पनि युवामा आशा जगाउन नसकेको भन्दै रोजगारी सिर्जना, सुशासन कायम गर्ने, उद्योगी, व्यवसायीका मागहरू संशोधन हुनेगरी थप स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।

‘कृषि क्षेत्रमा मलखाद, सिचाई, बजार लगायतका कुराको संशोधन गर्ने गरी थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । त्यसैगरी सूचना, प्रविधि क्षेत्रमा राम्रो वातावरण बनाएर र हाम्रो ऊर्जा र पर्यटन क्षेत्रलाई लगानीको माहौल सिर्जना गरेर दिगो रूपमा रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनी भन्छन् ।

नेपालीहरू विभिन्न बहानामा बाहिरिने गरेको भन्दै  यस विषयमा दस्ताबेजमा उचित समाधान नदेखिएको उनले बताए । ‘सामाजिक नीति तर्फ सामुदायिक विद्यालयको उत्थान, विश्वविद्यालयलाई राजनीति मुक्त र कक्षा सञ्चालनमा भन्दा अनुसन्धानमा प्राथमिकता, प्रभावकारी स्वास्थ्य बिमा, वृद्ध भत्तामा पुनरावलोकन, यातायातलाई राज्यको दायित्वमा लिनुपर्ने विषयमा स्पष्टता जरुरी छ,’ उनले भने ।

राज्यको विभिन्न अङ्गमा फैलिएको भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने कोइरालाको भनाइ  छ । हाम्रो देशको विकास र सुशासनको प्रमुख बाधक बेरोजगारी समस्या र युवा पलायन हो । यसको विस्तृत अध्ययन गरी समस्या समाधानका सूत्र पहिल्याउन एक उच्चस्तरीय कार्यदल बनाउन आवश्यक देखिन्छ ।

हालसालै सहकारी र लघुवित्तमा देखिएको देशव्यापी समस्याको परिणाममुखी समाधान खोज्दै पीडितहरूलाई यथोचित न्याय दिनुपर्ने उनले बताए । हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्न नहुने कोइरालाको मत छ ।

‘अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन । तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने,’ उनले भने ।

पार्टी र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि बिच समन्वय गर्न पार्टी तहमै स्थायी संयन्त्र निर्माण गरिनुपर्ने कोइरालाले बताए ।

पार्टीका भातृ एवं शुभेच्छुक संघसंस्थाहरुको अधिवेशन यथाशक्य छिटो गर्नुपर्ने उनले बताए । अब परम्परागत तरिकाले जनसम्पर्क समिति नचल्ने भन्दै यसलाई परिमार्जित तरिकाले चलाउन जरुरी रहेको बताए ।

‘जनसम्पर्क समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउनको लागी जनसम्पर्क समिति मध्यबाटै एक जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान विधानमा राखिनु पर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप