गठबन्धनबाट उपलब्धिसँगै चुनौती पनि बढ्यो : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले गठबन्धन गर्दा उपलब्धि भए पनि असन्तुष्टि र चुनौती समेत बढेको निचोड निकालेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विधान अधिवेशनका लागि तयार ‘राजनीतिक प्रस्ताव’ पेस गर्दै यस्तो बताएका हुन् ।
अघिल्लो प्रतिनिधिसभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू गएको निर्वाचनमा एक भएर मैदानमा गएको स्मरण गर्दै शर्माले यसो गर्दा केही उपलब्धि भए पनि असन्तुष्टि र चुनौती पनि बढेको राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन् ।
‘पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा ‘प्री पोल एलायन्स’ हुनु सही या गलत भन्ने दुई थरी मतबिच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौँ’, शर्माले भनेका छन्, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन् ।’
महामन्त्री शर्माले गठबन्धनबाट प्राप्त गणितको समीक्षामा ‘भोट ट्रान्सफर’ को विषय चुनौतीपूर्ण विषय रहे पनि ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस पछिल्लो निर्वाचनमा तीन वटै तहमा पहिलो दलका रूपमा स्थापित हुनु गठबन्धनको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
‘स्थानीय निर्वाचनमा ७५३ पालिका मध्ये १८८ गा.पा. अध्यक्ष र १४१ नगर÷उपमहानगर र महानगर प्रमुख सहित ३२९ पालिकाको नेतृत्वमा कांग्रेस उम्मेदवार विजयी भए’, शर्माले आफ्नो तथ्य पेस गर्दै भनेका छन्, ‘प्रमुखतर्फ करिब ४४ % हो यो ।’ त्यस्तै उनले ७५३ उपप्रमुखमध्ये नेपाली कांग्रेसका उम्मेदवार ३०० स्थानमा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) विजयी भएको जुन कुल स्थानको ४०% हुने बताएका छन् ।
प्रतिनिधिसभातर्फ २७५ मध्ये प्रत्यक्षमा ५७ क्षेत्र र समानुपातिकमा ३२ सिट गरेर ८९ स्थानमा कांग्रेस विजयी बन्यो भने ५५० सिट रहेको प्रदेशसभामा प्रत्यक्षतर्फ १११ र समानुपातिकतर्फ ६४ गरी १७५ सिटमा जित हासिल गरेको शर्माको भनाइ छ । ‘तिन वटै तहमा काँग्रेसको पहिलो स्थान जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीहरूको जोडबलले थियो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन’, शर्माले गठबन्धनप्रति अगाध आस्था देखाएका छन् ।
शर्माले ०७९ को चुनावमा भएको गठबन्धन र परिणाम पश्चात् उब्जिएको केही प्रश्नमा दुई सूक्ष्म आत्म चिन्तन भने महासमितिमा गर्नुपर्ने बताएका छन् ।
‘पहिलो, कांग्रेसका परम्परागत मतदाताले अन्य चिन्हमा मत दिन पार्टीले गरेको आग्रह रुचाएनन्, तिनको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न । दोस्रो, गठबन्धन मार्फत पहिलो दल त बन्यौँ, तर समानुपातिकतर्फ ०७४ को तुलनामा हामीले करिब ७ % मत गुमाउनुको वास्तविक कारण के हो ?’, शर्माले प्रश्न पनि गरेका छन् ।
उनले गठबन्धनबारे अहिले बोल्ने समय नभएको निष्कर्ष निकाल्दै भनेका छन्, ‘त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो ।’ गठबन्धनमा निरन्तरता चाहँदा अलमल या अस्पष्टता नभई सुस्पस्ट प्रतिबद्धता जरुरी रहेको पनि स्मरण गराएका छन् ।
महामन्त्री शर्माले ०७९ को निर्वाचनपछि पुस १० गते अनपेक्षित रूपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुन ‘ट्रयाक’ मा फर्किएको दाबी गरेका छन् । ‘एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा हाम्रो छ’, हालको गठबन्धनबारे शर्माको दृष्टिकोण छ ।
त्यस्तै कोशी प्रकरणमा गठबन्धनप्रति उब्जिएको प्रश्नमा पनि शर्मा दस्तावेजमा बोलेका छन् ।
‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति छ, यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ’, शर्माले भनेका छन् । संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भए त्यसले कांग्रेसभित्रै द्वन्द्व सृजना भएको स्वीकार गर्दै शर्माले माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको शर्मा बुझाई छ । ‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन’, शर्माले भनेका छन्, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ ।’ केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न नसके गठबन्धनको भविष्य संकटमा पर्ने भन्दै उनले अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बिच संस्थागत निर्णयको आधारमा हुने बताएका छन् ।
‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न’, शर्माले नेतृत्वलाई सचेत गराउँदै थप भनेका छन्, ‘पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’