बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
एसीसी महिला प्रिमियर कप क्रिकेट

थाइल्याण्डमाथि रोमाञ्चक जीत हासिल गर्दै यूएई फाइनलमा

शुक्रबार, ०४ फागुन २०८०, ११ : ०१
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । थाइल्याण्डमाथि ४ रनको रोमाञ्चक जीत हासिल गर्दै यूएई एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै यूएईले आगामी जुलाईमा आयोजना हुने टी–२० एसिया कपमा स्थान पक्का गरेको हो ।

यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डले १९।२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६६ रन बनाउन सक्यो । थाइल्याण्डका लागि थिपाटचा पुथावोङले सर्वाधिक २१ रनको योगदान दिइन् । त्यस्तै, सुवाना खायोटोले १२ तथा नानापत कोन्चारोनकाइले ११ तथा फनिता मायाले १० रन बनाइन् ।

यूएईका लागि हिना एन होटचादनीले ४ तथा वैष्णवी महेशले ३ विकेट लिइन् । कभिसा एगोडागेले २ विकेट लिँदा सुरक्षा कोटेले १ विकेट हात पारिन् । यसअघि कभिसाको सर्वाधिक २१ रनको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७० रन बनाएको थियो । कप्तान इशा ओजाले १४ तथा समाइरा धर्नीधर्काले १३ रन हिर्काइन् । थाइल्याण्डकी थिपाटचा पुथावोङ र अफिसारा सुवानचोनराथीले २–२ विकेट लिए ।

अब दोस्रो सेमिफाइनल खेलमा नेपाल र मलेसिया भिड्नेछन् । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप