बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा ७८* जना दोषी ठहर, २१ जनालाई सफाइ, ७५ जनाको जग्गा जफत (नामावली र सजायसमेत)

जग्गा किनेकाहरूले रकम फिर्ता पाउन ठगी मुद्दा दिनुपर्ने
बिहीबार, ०३ फागुन २०८०, २३ : २१
बिहीबार, ०३ फागुन २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ । ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ७८ जनालाई दोषी ठहर गरी सजाय तोक्नुका साथै अरूका नाममा लगिएका सबै जग्गा जफत हुने फैसला समेत सुनाएको छ । 

बिहीबार विशेष अदालतका न्यायाधीश त्रय डा. खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाले २३ दिन निरन्तर सुनुवाइ गरी फैसला सुनाएका हुन् । बिहीबार सुनाइएको फैसलामा सरकारी जग्गा व्यक्तिको बनाउन संलग्न सरकारी कर्मचारी, बिचौलिया, भू माफिया र गैरकानुनी लाभ लिने ७८ जना दोषी ठहर भएका छन् । त्यसैगरी हाल आफ्नो नाममा जग्गा रहेकामध्ये ६५ जना तथा सट्टाभर्नामार्फत् जग्गाधनकिो हैसियतमा जग्गा प्राप्त गरेका १० जना गरी कुल ७५ जनाको नाममा रहेको जग्गा जफत भएको छ भने २१ जनाले सफाइ पाएका छन् । 

विशेष अदालतको फैसलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित पूर्व सचिव छविराम पन्तसमेत दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ भने पूर्व सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् । 

विशेषको फैसलामा सबैभन्दा बढी जरिवाना र जग्गा जफत भाटभटेनी डेभलपर्स समेतका सञ्चालक रहेका मिन बहादुर गुरुङलाई भएको छ । गुरुङलाई सरकारी जग्गा गैरकानुनी लाभ लिई आफ्नो नाममा ल्याएको कसुरमा समेत ८० लाख ४८ हजार जरिवाना र दुई वर्ष कैद तथा भाटभटेनी डेभलपर्स, उनी आफू, छोरा, बुहारी, भाइ आदिको नाममा भएको जग्गासमेत जफत भएको छ । 

भू माफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई पनि जनही २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । 

आफू मालपोत अधिकृत हुँदा श्रीमतीको नाममा जग्गा जोडिदिने पूर्व निर्वाचन आयुक्त सुधीर शाहमाथि मुद्दा नचलेको भएपनि सुधीर शाहकी श्रीमती उर्मिला शाहलाई पनि २ वर्ष कैद र ७ लाख ५९ हजार ४ सय रुपैयाँ जरिवाना सुनाइएको छ । 

विशेष अदालतको फैसलामा हाल जग्गा जफत हुने प्रयोजनका लागि मुद्दा दायर भएकाहरुको हकमा जग्गा जफत भएकाले उनीहरुले कोही कसैसँग खरिद गरेको भए त्यसवापतको रकम प्राप्त गर्न आफूले जो सँग जग्गा किनेको हो, ती व्यक्ति वा संस्थाविरुद्ध छुट्टै मुद्दा दायर गरेर लिनुपर्ने भएको छ । 

 नोट : यसअघिको समाचारमा सट्टाभर्ना गरी धनीका हैसियतमा जग्गा प्राप्त गरी जफत हुने फैसला भएकामा अन्यथा भएकाले सच्याइएको छ । सं

ललिता निवास प्रकरणमा कसलाई के भयो ? हेर्नुहोस् पूरा विवरण ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप