कांग्रेस महासमिति सदस्यलाई खुला पत्र
आदरणीय महासमिति सदस्यज्यूहरू
जय नेपाल ।
धेरै ठुलो उत्साह र निराशाका बिचबाट हामीहरू यही २०८० फागुन ७ गतेदेखि काठमाडौँमा हुन लागेको महासमितिको बैठकमा भेट हुँदै छौ । हामी यस कारण उत्साहित छौँ कि यो महासमितिको बैठकले नेपाली कांग्रेस र समग्र नेपाली समाजको रूपान्तरणका लागि स्पष्ट दिशा बोध गर्ने छ । फेरि अर्कोतर्फ यो महासमितिको बैठक पनि विगतको जस्तै कर्मकाण्डी मात्रै हुने हो की भन्ने निराशा पनि उत्तिकै बलियो भएर अगाडि उभिएको छ । जे भए पनि हामी भेट हुँदै छौँ । यो सुखद विषय हो ।
साथीहरू, यो पत्र मार्फत यहाँहरूको बिचमा आफ्ना केही कुराहरू राख्नु भन्दा अगाडि महामानव बिपी कोइरालाको एउटा महान् र सान्दर्भिक भनाइलाई जोड्न चाहन्छु । बिपीको यो महान् भनाइ हो, ‘देशका बारेमा दुबिधा भएमा निर्णय लिनु पर्दा मातृभूमिको एक मुठी माटो एउटा हातमा समात्नुस्, अर्को हात छातीमा राख्नुस्, एकाग्र भएर सोच्नुहोस् अनि मनमा जे निर्णय आउँछ त्यही गर्नुहोस् ।’ हो यही भनाइको मर्मभित्र रहेर आज हृदयबाटै केही कुराहरू राख्न इच्छा भएका कारण महासमितिको बैठक अगावै यो पत्र लिएर तपाईँहरूको बिचमा आएको हुँ ।
एकै छिन देशको वर्तमान अवस्था तर्फ हेरौँ, हामी कहाँ छौ ? आजको मितिमा हामीसँग १० खर्व भन्दा बढीको वैदेशिक ऋण छ । व्यापार घाटा यति बेला १७ खर्व पुगेको छ । कृषि प्रधान देशका हामीहरू २ खर्व भन्दा बढी कृषिजन्य पदार्थहरू आयात गरिरहेका छौ । खेती योग्य जमिन मध्य एक तिहाइ जमिन बाँझो छ । प्रत्येक दिन एक हजार भन्दा बढी युवाहरू देश छोडेर बिदेसिएका तथ्याङ्कहरू छन् । उद्योगी व्यवसायीहरू मर्माहत भएका छन् । विद्यालय र विश्वविद्यालयका कक्षा कोठाहरू क्रमशः खाली हुँदै छन् । जताततै भ्रष्टाचार र बेथितिहरू छन् । जनतामा व्यापक आक्रोश र निराशा छ । राज्यका सबै संयन्त्रहरू राजनीतिबाट डरलाग्दो गरी प्रभावित भएका छन् ।
सुशासन भन्ने कुरा राज्यको सबै संयन्त्रहरुवाट हराएको छ । राजनैतिक पार्टी र तिनका नेताहरू प्रतिको विश्वास डरलाग्दो गरी भत्किएको छ । देशले संसारकै दोस्रो गरिब राष्ट्रमा आफ्नो नाम लेखाएको छ । तर पनि राजनैतिक पार्टीका हामीहरू देशको यो डरलाग्दो अवस्था प्रति चुपचाप छौँ । हामीमा कहीँ कतै पनि चासो र चिन्ता देखिँदैन । गम्भीरता छैन कहीँ पनि । देशको यस्तो डरलाग्दो तस्बिर अगाडि राखेर हामीले महासमितिको बैठक गर्न लागि रहेका छौँ । यसैले तपाई हामीमाथि यतिखेर सर्वत्र चासो छ । दुनियाँले तपाई हाम्रो क्षमता र इमानदारितालाई जोख्न तराजु लिएर बसेको छ । हामीले आफूलाई नेताको रूपमा स्थापित गर्न विचार, योजना र कार्यक्रम माथि छलफल गर्ने ? की थपडी बजाएर आज्ञाकारिताको धनुष्टङ्कार गर्ने ? महासमितिको बैठकबाट निस्कँदै गर्दा हामीले दुनियाँलाई यसको जवाफ दिनु पर्ने छ । यदि यसो हुन सकेन भने हामी आ–आफ्नो जिल्लामा फर्किनु भन्दा अगाडि नै महासमिति सदस्यको गरिमा र यसको पहिचान गुमाई सकेका हुने छौँ । जिम्मेवार हुन आवश्यक छ । यसैले अव महासमितिको बैठकबाट हामीले राजनीतिको परिभाषा बदल्न सक्नु पर्छ । हामीले राजनीति भित्र राजनीतिलाई बुझ्न र बुझाउनै सकेका छैनौँ । हामीले राजनीतिको उचाइ नै भेटाउनै सकेनौँ ।
साथीहरू, समय सधैँ एउटै गतिबाट अगाडि बढ्न सक्दैन । समयसँगै आफूलाई अगाडि बढाउन नसक्ने व्यक्ति र संस्थाको जीवन केही निश्चित समयसम्म जेनतेन अगाडि बढे पनि परिवर्तनले दिने दबाबका अगाडि उनीहरू प्रभावहीन र भुत्ते ठहरिँदै जान्छन् । यसैले अव प्रश्न उठ्न सक्दछ, वर्तमान समयमा परिवर्तन भनेको के हो त ? यो एउटा अहम् सवाल हो । यसले सत्ता, कुर्सी वा पदमा व्यक्तिको परिवर्तन मात्रै खोज्दछ ? कि परिवर्तनको मर्मले विचार, दृष्टिकोण, कार्यक्रम, व्यवहार र संस्कार पनि खोज्दछ ? अहिलेको अवस्थामा जनताले खोजेको परिवर्तन भनेको सुख, शान्ति, समृद्धि र सुशासन हो । राजनीति यसैसँग जोडिनु पर्छ भन्ने बुझाई नै परिवर्तन हो र यो नै परिवर्तनले खोजेको राजनैतिक उचाइ हो । हामीले कति वटा बाटो बनायौँ ? कति किलो मिटर बाटो पिच गर्यो ? कति वटा अस्पताल, हेल्थ पोस्ट बनायौँ? , कति वटा विद्यालय र विश्वविद्यालयहरू बनायौ ? अथवा के कस्ता नियम , कानुन र नीतिहरू बनायौ ? भन्ने कुराहरू जनताको सुख, शान्ति र समृद्धि सँग जोडिनु पर्दछ । यदि यसो हुन सकेन भने त्यो विकास नै होइन । त्यो केवल समय र सम्पत्तिको वरवादी हो , राजनीतिक धुर्त्याइँ हो । अहिले नेपालको राजनीति यही बरबादीको बाटोबाट अगाडि बढिरहेको छ । यसतर्फ नेपाली कांग्रेसको महासमितिका हामी सदस्यहरू जिम्मेवार र संवेदनशील हुन आवश्यक छ ।
साथीहरूलाई स्मरण गराउन चाहन्छु, महामानव बिपी कोइरालाले राजनैतिक र आर्थिकरुपले समृद्ध नेपाली समाज निर्माणका लागि प्रजातान्त्रिक समाजवादको स्थापनामा जोड दिनु भयो । त्यसको व्याख्या गरेर त्यस प्रतिको महत्त्व दर्साउनु भयो । यसै भएर प्रजातन्त्र र समाजवादलाई हामीले अहिले पनि हाम्रो मूल आदर्शहरू बनाएका छौँ । लामो राजनैतिक लडाइँपछि हामीले प्रजातन्त्र वा लोकतन्त्र त प्राप्त गर्यौँ तर समाजवादको प्राप्तिका निम्ति हामीले लड्नु पर्ने आर्थिक लडाइँमा हामीहरू कहाँनेर छौ ? प्रजातन्त्र वा लोकतन्त्रको भविष्यका बारेमा हामीहरू कति धेरै ढुक्क छौ ?
के हामीले प्राप्त गरेको लोकतन्त्रको जीवन स्वस्थ, सबल र सुरक्षित छ ? यी प्रश्नहरूको एउटै जवाफ हुन्छ हाम्रो लोकतन्त्रको जीवन स्वस्थ्य, सबल, तन्दुरुस्त र सुरक्षित छैन । यो किन भन्न सकिन्छ भने जुन समाज आर्थिकरुपले सबल र सक्षम हुन सक्दैन त्यो समाजले जनताका राजनैतिक अधिकार र स्वतन्त्रताका आकाङ्क्षाहरूलाई जोगाउनै सक्दैन ।
कुनै पनि देशको लोकतन्त्र प्राप्तिको लडाइँको प्रमुख उद्देश्य भनेको लोकतन्त्रको माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्नु हुन्छ । नेपालको सन्दर्भमा पनि बिपी कोइरालाले समाजवादको लक्ष प्राप्तिका निम्ति लोकतन्त्रको आवश्यकतालाई महसुस गर्नु भएको हो । जनताहरूलाई राजनैतिकरुपमा अधिकार सम्पन्न नबनाएसम्म आर्थिक विकास गर्न सकिँदैन र आर्थिक विकास विना राजनैतिक अधिकारको संरक्षण गर्न सकिँदैन भन्ने बिपीको ठम्याई बाट निस्किएको विचार हो प्रजातान्त्रिक समाजवाद । यसैले अव प्राप्त लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि आर्थिक लडाइँको रूपरेखा तयार पार्नतर्फ नेपाली कांग्रेस इमानदार र प्रतिबद्ध हुन आवश्यक छ । राजनैतिक र आर्थिक लडाइँहरू भनेका नितान्त फरक विषयहरू हुन् । यी दुई लडाइँहरूको व्यवहार, प्रवृत्ति र ढाँचा नै फरक हुन्छ । हामीहरूले हिजो जुन हतियार, सांगठानिक व्यवहार र शैलीले राजनैतिक लडाइँ लड्यौ त्यही हतियार, सांगठानिक व्यवहार र शैलीबाट आर्थिक लडाई लड्नै सकिँदैन । यसैले आर्थिक समृद्धिका लागि चाहिने आवश्यक बहस, छलफल र त्यसबाट निस्कने तागतबाट आर्थिक समृद्धिको रणनीतिक योजना निर्माण तर्फ अब हामीहरू जुट्न पर्दछ । यसतर्फ साथीहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।
साथीहरू हामीले अत्यन्तै कठोरताका साथ के स्वीकार गर्नै पर्नै भएको छ भने अव हामीलाई पुरानो संगठानिक शैली, सोच, प्रवृत्ति र हाम्रो गौरवपूर्ण इतिहासको गाथाले मात्रै बचाउनै सक्दैन । फरक परिणामका लागि अव हामीले फरक तरिकाट सोच्नै पर्दछ । यसका लागि नेपाली कांग्रेसमा आमूल परिवर्तन ल्याउने गरी यसको विनिर्माण वा विखण्डन गर्न आवश्यक छ ।
विनिर्माण वा विखण्डन भनेको के हो ? र यसको आवश्यकता किन पर्यो भन्ने बारेमा केही छलफल र बहस गरौँ । ‘विनिर्माण’ वा विखण्डन शब्द सुन्नमा त्यति मिठो लाग्ने शब्द अवश्य पनि होइन । तर पनि औषधी तितो हुन्छ भने जस्तै जति नमिठो र अप्रिय लागे पनि नेपाली कांग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि विनिर्माण वा विखण्डनको मूल मर्मभित्र प्रवेश गरेर हामीले व्यापक छलफल र बहस गर्न आवश्यक छ ।
त्यसो भए राजनैतिक संगठनमा विनिर्माण वा विखण्डन भनेको के हो त ? के यसको अर्थ राजनैतिक पार्टीलाई पूर्ण रूपमा नामेट पारेर अर्को राजनैतिक पार्टीको स्थापना गर्नु हो ? विखण्डनभित्र राजनैतिक संगठनको सुधारको सम्भावना कहाँनेर रहन्छ ? भन्ने जस्ता प्रश्नहरूको उत्तर यहाँनेर खोज्नु पर्ने हुन्छ । विखण्डनको अर्थ कुनै पनि राजनैतिक संगठनको आधारभूत तत्त्व तथा जगलाई भत्काउने भन्ने होइन । कुनै पनि राजनैतिक संगठनको उत्पत्तिको स्वरूप र जगलाई अझै मजबुत तरिकाले स्थापित गर्ने एउटा क्रान्तिकारी प्रयास हो यो । कुनै राजनैतिक संगठनको बाहिर देखिएको संरचनालाई भत्काएर यसको जग के को आधारमा वा कुन मूल्य, मान्यता र सिद्धान्तमा खडा भएको छ भनेर त्यसलाई देखाउने र त्यही जगको आधारमा खडा भएर नयाँ सम्भावना र विश्वास निर्माण गर्ने भन्ने यसको मूल मान्यता हो ।
विनिर्माणको सिद्धान्तका प्रवर्तक प्रसिद्ध फ्रान्सेली चिन्तक ज्याक डेरिडा हुन् । उनका अनुसार, विनिर्माण एक गम्भीर प्रकृतिको विश्लेषणको रणनीति हो; जसलाई भाषा, साहित्य, राजनीति र दर्शनशास्त्रमा स्थापित गर्न सकिन्छ । यो एउटा सिद्धान्त हो; जसले कुनै पनि वस्तु वा विषयको सीमा, अर्थ र धारणालाई उल्टाई दिने काम गर्दछ ।
अब एकै छिन विनिर्माणको मर्म भित्र छिरेर सबैभन्दा पहिला नेपाली कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई हेरौँ त । हामीले नेपाली कांग्रेसलाई वर्तमान समयमा कहाँनेर पाउँछौँ ? यसको छलफल र लेखाजोखा गरौँ । प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्ति नै नेपाली कांग्रेसको प्रमुख सपना हो । प्रजातान्त्रिक समाजवाद समाजलाई उत्पादनसँग जोडेर विवेक तथा न्यायोचित वितरणको जगमा लोककल्याणकारी राज्यको स्थापना गर्न चाहन्छ ।
जसका लागि यसले अनुशासित, मर्यादित, स्वावलम्बी, उद्यमी, सृजनशील तथा सादा जीवन उच्च विचारका नेता तथा कार्यकर्ताहरू खोज्दछ । तर यतिखेर हामीले प्रजातान्त्रिक समाजवाद भित्र लुकेका यी मर्महरूलाई छिया छिया बनाएर चिथोरेका छौँ र हेर्दा पनि डर लाग्ने गरी कुरूप र भद्दा बनाएका छौँ । सुदृढ संगठनको तागतबाट देश र जनताको समृद्धि गर्ने विषय केवल भाषण र नारामा मात्रै सीमित भएका छन् । आज अधिकांश नेता तथा कार्यकर्ताहरूको प्रयास पार्टी संगठनलाई कब्जा गरेर शक्ति आर्जन गर्ने र राज्य सत्ताको दोहन गर्ने केन्द्रमा गएर ठोक्किएको छ । कुनै पनि निर्वाचनमा अस्वाभाविकरुपमा पैसा खर्च गर्ने, नेताको वरिपरि घुमेर ज्यूहजुरी गर्ने, नेतालाई कुरा लगाउने, होटेल र रेस्टुरेन्टमा तामझाम गर्ने, दश बिस जना कार्यकर्ताहरूलाई वरिपरि राखेर हिँड्ने, राजनीतिलाई आफ्नो घर व्यवहार सञ्चालन गर्ने व्यवसायको रूपमा प्रयोग गर्ने, आफ्नो व्यक्तिगत स्वार्थका लागि गुट उपगुटहरू निर्माण गर्ने, आफ्नो क्षमतामाथि कत्ति पनि विश्वास गर्न नसकी नेताको भर र आशीर्वादमा आफ्नो सम्भावना खोज्ने जस्ता निकृष्ट संस्कृतिलाई हामीले यतिखेर राजनीति भनेका छौँ ।
यो संस्कृति नेपाली कांग्रेसको हरेक तह र तप्कामा झाँगिएको छ । यस्तो संस्कार र प्रवृत्तिभित्रको राजनीतिबाट प्रजातान्त्रिक समाजवादको कुरा गर्नु अत्यन्त हास्यास्पद विषय हो । तर पनि हामीले यसै गरिरहेको छौँ । झाँगिँदै गएको यो प्रवृत्तिको जालो नतोडेसम्म आर्थिक, सामाजिक तथा राजनैतिक समृद्धिको यात्रा तय गर्नै सकिँदैन । यो विकृत संस्कृतिको जरा यति धेरै गहिराइ भित्र प्रवेश गरिसकेको छ कि जसलाई सजिलै उक्काएर फाल्न सकिने अवस्था पनि छैन । कांग्रेस भित्र फैलिँदै गएको विकृतिको उपचार सामान्य शल्यक्रियाबाट सम्भव नै छैन; यसका लागि मेजर शल्यक्रिया आवश्यक छ । यसैले नेपाली कांग्रेसको मूल्य, मान्यता र आदर्शलाई बचाउन तथा नेपाली कांग्रेसको सञ्चालन प्रक्रियाको परम्परागत ढर्रालाई समूल नष्ट गर्न कांग्रेसको विनिर्माणको आवश्यकता भएको हो ।
साथीहरू, आफ्नो स्थापनाको मूल्य, मान्यता र आदर्शको जगमा उभिएको एउटा तन्दुरुस्त कांग्रेसको निर्माण गर्नका लागि यो महासमितिको बैठक कामयाबी हुनै पर्दछ । यसका लागि महासमितिको बैठक भित्रबाट तपसिल अनुसारका केही महत्त्वपूर्ण प्रश्नहरूको जवाफ खोज्न सक्नु पर्दछ । यी प्रश्नहरूको उत्तर भित्र कांग्रेसमा विनिर्माण प्रक्रियाको सुरुवात भई सबल र आदर्श मैत्री कांग्रेसको निर्माण गर्न सकिन्छ भन्ने विश्वास साथीहरूको बिचमा राख्न चाहन्छु ।
१. हामीले जुन खालका र सङ्ख्याका क्रियाशील सदस्यहरू बनाएका छौँ के त्यसको आधारमा बलियो कांग्रेस र निष्ठावान् नेताको चयन गर्न सक्दछौ ? आम निर्वाचनमा अन्य राजनैतिक पार्टीहरुलाई मतदान गर्ने क्रियाशील सदस्यहरुबाट चयन गरिने हाम्रो नेतृत्व कस्तो हुन्छ होला ? संगठन सुदृढीकरणको बलियो आधार सदस्यहरूको ठुलो सङ्ख्याले निर्धारण गर्दछ ? की गुणात्मक सदस्यहरूको सामाजिक प्रभावले निर्धारण गर्दछ ? छलफल गरौँ, क्रियाशील सदस्यको वितरण प्रक्रियालाई वैज्ञानिक र विश्वसनीय कसरी बनाउन सकिएला ? नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले कम्युनिस्ट पार्टीहरू जस्तो संगठनको तागत सदस्यहरूको संख्यामा खोज्ने हो की समय सापेक्षरुपमा निर्माण गरिने भिजन, कार्यक्रम र योजनाको बलमा खोज्ने हो ? सूचना प्रविधि र चेतनाको स्तर बढिरहेको वर्तमान अवस्थामा पनि हामी अझै पनि किन पूर्णरुपमा मास वेस्ड पार्टीको अवधारणामा दृढतापूर्वक उभिन सकेका छैनौ ?
२. एउटै पदमा धेरै पदाधिकारीहरूको व्यवस्थाले दिन खोजेको सन्देश के हो ? पार्टीमा पदको व्यवस्था व्यक्तिको महत्त्वाकाङ्क्षा व्यवस्थापनका लागि हो की पार्टीको सांगठनिका प्रभावकारिताका लागि हो ? यदि सांगठनिक प्रभावकारिताका लागि हो भने यसको प्रभावकारिताको परिणाम सांगठानिक सुदृ्रणीकरणमा कहाँनेर देखिएको छ ?
३. पार्टीमा गर्नु पर्ने बहस उमेरको हो कि विचार, दृष्टिकोण र योजनाको हो ? के हामी विचार, दृष्टिकोण र योजनाको हिसाबले सर्वाङ्ग नाँगा र खोक्रा भई सकेका हौ ? जसलाई छोप्न हामीले उमेरको सहयोग लिनु पर्ने निराशाजनक अवस्थाको सिर्जना भएको हो ? यस अवस्थामा नेपाली कांग्रेसलाई विचार , दृष्टिकोण र योजनाका हिसाबले कसरी सम्पन्न र समृद्ध बनाउन सकिएला ?
४. ट्रेड युनियनहरू पार्टीका लागि स्थापना गरिएका हुन की पेसागत मर्यादा र त्यसको सुरक्षाका लागि स्थापना गरिएका हुन् ? पाटीको आस्थाको आधारमा खोलिएका ट्रेड युनियनहरुले पार्टीका लागि काम गर्दछन् की देश र जनताका निम्ति ? यदि पेसागत मर्यादा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर ट्रेड युनियन अधिकारको सम्मान गर्नका लागि संविधानमा ट्रेड युनियन अधिकारको व्यवस्था गरिएको हो भने राजनैतिक पार्टीको आस्थाको आधारमा ट्रेड युनियनहरूको स्थापना गर्नु पर्ने आवश्यकता किन पर्न गयो ? ट्रेड युनियनहरूको भूमिकालाई राजनैतिक प्रभावबाट मुक्त गर्न र सुरक्षित, मर्यादित र व्यावसायिक बनाउन के गर्नु पर्ला ? के यसमा पार्टीको कुनै चासो हुनु पर्दैन ?
५. विद्यालय , विश्वविद्यालय , न्यायालय र निजामती जस्ता पवित्र क्षेत्रहरूलाई राजनीति मुक्त बनाउनु पर्ने दायित्व र जिम्मेवारी के राजनैतिक पार्टीहरूको होइन ? विद्यालय र विश्वविद्यालयमा राजनैतिक पार्टीको भातृसंस्थाको रूपमा व्यवस्था गरिएका विद्यार्थी सङ्गठनहरूको राजनैतिक प्रभाव के माथि उल्लेखित क्षेत्रहरूमा पर्दैन ? अनुशासन , हार्दिकता , प्रेम , प्रशंसा, सृजनशीलता र आलोचनात्मक चेतको विकास गर्न सिकाउनु पर्ने विद्यालय र विश्वविद्यालयमा हामीले आफ्नो राजनैतिक पार्टीको इरादा पुरा गर्नका लागि विद्यार्थी सङ्गठनको नामबाट एकले अर्कालाई गाली गर्न , घृणा गर्न , अविश्वास गर्न , ढुंगा हान्न र जिन्दाबाद र मुर्दावाद भन्न सिकायौ । यसरी हुर्काएका विद्यार्थीहरुबाट भोलिको राज्यको प्रशासनिक संयन्त्र भित्र निष्पक्षता, पारदर्शिता र प्रभावकारिताको परिकल्पना गर्न सकिन्छ ? यसबारे समीक्षा र विश्लेषण कहिले गर्ने हो ? यसैले विद्यालय र विश्वविद्यालयमा राजनैतिक पार्टीकारुपमा क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरूको भूमिकालाई कसरी नयाँ ढङ्गबाट परिभाषित गरेर शैक्षिक, सामाजिक र आर्थिक गुणस्तर विकासको अभियन्ता बनाउन सकिएला ?
६. राजनैतिक पदको जिम्मेवारी र राज्यको सार्वजनिक पदको जिम्मेवारी लिने व्यक्तिको क्षमता र रुचिहरू के एकै प्रकारका हुन्छन् ? जसरी राजनैतिक पार्टी सञ्चालनको रुचि र क्षमता भएका मानिसहरूको क्षमता र रुचि राज्य सञ्चालनमा नहुन पनि सक्दछ ठिक त्यसै गरी राज्यको सार्वजनिक पदमा रहेर काम गर्ने क्षमता र रुचि भएको मानिसको क्षमता पार्टी सञ्चालनमा नहुन पनि सक्दछ भन्ने विषयमा के हामीले कहिल्यै छलफल र बहस गरेका छौ ? यसैले एक पद एक जिम्मेवारी वा एक व्यक्ति एक पद को व्यवस्थाका बारेमा हामीले किन वृहद छलफल र बहस गर्न सकेको छैनौ ? यसो गर्न नसक्नुका पछाडिका कारणहरू के के हुन सक्दछन् ?
७. के हामीले संघीयतालाई देश र जनताको जीवनसँग जोड्न सकेका छौ ? के संघीयताले जनतामा आशा र भरोसा जगाउन सकेको छ ? यदि यसो गर्न सकिएको छैन भने संघीयताको स्थापनाको औचित्य माथि छलफल र बहस गर्न हामी किन डराइरहेका छौ ? कि त हामीले संघीयता स्थापनाको औचित्यलाई जनताले विश्वास गर्ने गरी पुष्टि गर्न सक्नु पर्दछ हैन भने यसको विकल्पको खोजी किन नगर्ने ?
८. जुन विश्वासको उचाइका साथ नेपाली जनताले नेपाली कांग्रेसलाई पटक पटक सत्तामा पुराए त्यही रूपमा नेपाली कांग्रेसले काम नगरेको आम गुनासो भित्र सत्यता छ कि छैन होला ? नेपाली कांग्रेसका नेता कार्यकर्ताको रवैया, कुनै व्यापार व्यवसाय र उद्योग धन्धामा संलग्न नभई कन पनि उनीहरूको आर्थिक जीवनमा देखिएको परिवर्तन , कुनै स्पष्ट दृष्टिकोण , योजना र कार्यक्रमको अभावका कारण पार्टी सञ्चालनमा देखिएको असजिलोपना आदि कारणहरू नेपाली कांग्रेस प्रतिको जनताको गम्भीर गुनासाका प्रमाणहरू हुन् भनेर भन्न सकिएला कि नसकिएला ?
यदि माथि उल्लेखित जनताका भनाइहरू गलत हुन भने त्यसलाई कसरी खण्डन गर्न सकिएला ? यदि सत्य हुन भने देश , जनता र नेपाली कांग्रेसको गौरवपूर्ण इतिहासलाई साक्षी राखेर नेपाली कांग्रेसका सबै तहका नेताहरू जो जनताको अभिमतका साथ सत्तामा पुगे उनीहरूले सार्वजनिक क्षमा याचना समारोहको आयोजना गरेर नेपाली जनतासँग क्षमा माग्ने र आफ्नो सम्पत्तिको सार्वजनिक गर्ने अदम्य साहस र इमानदारिता देखाउन सक्दा हामीले के गुमाउँछौँ होला ? क्षमा माग्नु भनेको आफ्ना कमिकमजोरीहरुलाई छोड्ने र आफूलाई रूपान्तरण गर्ने पहिलो अभ्यास होइन र ? क्षमा माग्ने भनेको एउटा उच्च सामाजिक राजनैतिक संस्कार हो र आशाले भरिएको दृढ निश्चयी र इमानदार मनले मात्रै क्षमा माग्न सक्दछ भन्ने कुरालाई हामीले किन बुझ्न सकेका छैनौ ? यसका बारेमा छलफल र बहस कसले गर्ने र कहिले गर्ने ? देशको सबै भन्दा ठुलो र आफ्नो गौरवपूर्ण इतिहास प्रति गर्व गर्ने नेपाली कांग्रेसले त्यही उचाइको राजनैतिक संस्कार देखाउनु पर्दैन ?
९.नेपाल ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ मानिन्छ । पूर्वीय सभ्यता र संस्कृतिको जननीको रूपमा रहेको नेपालले हजाराँै वर्षको सनातन धर्मको इतिहास बोकेको छ । हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन लगायतका सबै धर्ममा आस्था राख्नेले आआफ्नो रीतिरिवाज निर्बाध ढङ्गले गर्न पाएका कारणले पनि नेपालको विश्व इतिहासमा छुट्टै पहिचान र विशिष्ट स्थान रहिआएको पनि छ । यस्तो अवस्थामा सनातन हिन्दु धर्मलाई हामीले केही सीमित जात र मानिस विशेषको धर्म बनाएर मात्रै किन हेरेका ? हिन्दु सामर्थ्यको अन्तर्राष्ट्रियकरण गरेर यसलाई देशको आर्थिक समृद्धिसँग जोड्न सकिँदैन ?
१०. सूचना प्रविधिको यो समयमा अव हामीले नागरिकहरूलाई हाम्रा विचार र कार्यक्रमहरूको जानकारी गराउन कुनै चौतारो वा खुला चउरमा वा हामी जहाँ छौ त्यो ठाउँमा ल्याउने हो ? कि उनीहरू जहाँ छन् पार्टी संगठनका विचार र कार्यक्रमहरूलाई त्यही ठाउँमा पुर्याउने हो ? अब पार्टीको आफ्नो राजनैतिक सङ्गठनप्रतिको जनआकर्षणको मूल्याङ्कन सडकमा देखिने दुई चार हजारको नारा जुलुस भित्र खोज्ने हो कि ? फेसबुक, इन्स्टाग्राम, युट्युब, पोडकाष्ट, आदि सामाजिक सञ्जालमा हुने लाइक, कमेन्ट, सब्सक्राइब, सेयर आदि दुई चार लाख वा त्योभन्दा पनि बढीको अनलाइन र्याली र अनलाइन सभाका मार्फत खोज्ने हो ? के अव यसका बारेमा छलफल र बहस आवश्यक छैन ? यसैले अव हामीले हाम्रा परम्परागत सभा समारोहलाई अनलाइन सभा समारोहमा रूपान्तरण गर्ने क्षमता र कौशल कसरी निर्माण गर्न सकिएला ?
११. संसदीय शासन प्रणाली स्वयममा एउटा अत्यन्त राम्रो व्यवस्था भएता पनि यसलाई हामीले सही तरिकाबाट प्रयोग गर्न र यसको मर्मलाई चिन्न, बुझ्न र आत्मसाथ गर्न सकेनौ । हामीले संसदीय शासन प्रणालीका लागि आवश्यक पर्ने उच्च चेत, अनुशासन र संस्कार विकास गर्नै सकेनौ । के भनिन्छ भने यदि कुनै कार्यले लामो समय सम्म कुनै राम्रो परिणाम दिएन भने राम्रो परिणामका लागि फरक तरिकाबाट सोच्नु पर्दछ र फरक तरिकाबाटै काम गर्नु पर्दछ । यसैले यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाका लागि हामीले छलफल र बहस किन नगर्ने ? प्रत्यक्ष निर्वाचित कार्यकारीको संवैधानिक व्यवस्थाका लागि नेपाली काँग्रेस अलमलिनुको कारण के होला ?
११. यति बेला समानुपातिक निर्वाचन प्रणालीका बारेमा हुने गरेका टीकाटिप्पणीहरू डरलाग्दा र गम्भीर छन् । समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै एउटा राजनैतिक पार्टीले संसदमा बहुमत प्राप्त गर्न सजिलो नभएकाले यसले निम्त्याउने राजनैतिक अस्थिरताको भयावहका कारण यसको खारेजीको माग एकातिर गरिँदै आएको छ भने अर्को तिर समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको चयन गर्दा यसको मर्म र अन्तर्य भित्र नेपाली राजनीति प्रवेश गर्न नसक्नाले राजनैतिक पार्टी र यसका नेताहरू प्रतिको जन वितृष्णाको पहाड अग्लो हुँदै गएको छ । यसलाई दृढतापूर्वक छलफल र बहसको विषय बनाएर नेपाली राजनीतिमा कसरी संस्कारको मूल्य स्थापित गराउन सकिएला ?
१२. गुटको नाममा अनुशासनहीनता र अन्तर्घातलाई प्रश्रय दिने पार्टी भित्रको हाम्रो प्रवृत्ति र संस्कार बोकेर के हामीले बलियो र समृद्ध काँग्रेस निर्माण गर्न सक्दछौ ? पार्टी हित विपरीत काम गर्ने गराउनेलाई कार्यवाही गर्ने दृढता नराख्ने हो भने स्वस्थ पार्टी निर्माणको सम्भावना कहाँनेर रहन्छ ? पार्टीमा अनुशासन स्थापनाका लागि अध्ययन र अनुसन्धानका आधारमा दोषी ठहरिएकाहरूलाई कार्यवाही गरेर अनुशासनको महत्वलाई स्थापित गर्न नसकिने हो भने पार्टीमा अनुशासन समितिको किन व्यवस्था गरिएको हो ?
१३. नेपालको वर्तमान राजनीति भित्र देखा परेको भ्रष्टाचार र अनुशासनहीनता नेता तथा कार्यकर्ताहरू उद्यमशील र सृजनशील भएर आय आर्जनको क्षेत्रमा लाग्ने परिपाटी र संस्कारको स्थापना गर्न नसक्दाको परिणाम हो भन्ने भनाई सँग के हामी सहमत हुन सक्दछौ ? यदि यसो हो भने एक नेता एक उद्यमशीलतालाई राष्ट्रिय अभियान बनाएर यसलाई कसरी अगाडि बढाउन सकिएला ?
१४. प्रजातान्त्रिक समाजवाद हाम्रो दिमागको चलाखीपूर्ण धुर्त्याइँ हो ? की हृदयको इमानदार आवाज हो ? यदि यो हाम्रो हृदयको आवाज हो भने यसको प्राप्तिका निम्ति हामी कहाँनेर इमानदार भएका छौ ? बिपीले प्रजातान्त्रिक समाजवादको प्राप्तिका निम्ति प्रचुर उत्पादन र यसको विवेकपूर्ण तथा न्यायोचित वितरणमा जोड दिनु भएको होइन ? यदि यसो हो भने यसका लागि हामीले उत्पादन, उद्यमशीलता र विवेकको बिचको सम्बन्धको बारेमा किन कहिल्यै पनि चासोपूर्ण छलफल र बहस गरेनौ ? के यसको आवश्यकता छैन ?
१५. बिपी को प्रजातान्त्रिक समाजवादले प्रचुर उत्पादनका लागि उद्यमशीलता र यसको न्यायोचित वितरणका लागि विवेक निर्माणको उच्च तहको राजनैतिक संस्कार खोज्दछ । मानिस ठुलो होइन , असल हुनु पर्दछ भन्ने बिपीको यो भनाइभित्र यही मर्म लुकेको छ । बिपी कोइरालाले मानव सभ्यताका लागि दिनु भएको यो महान् विचार नै बिपी शिक्षा हो ।
बिपी शिक्षा उत्पादन, उद्यमशीलता र विवेकको सुन्दर संयोजन हो । प्रजातान्त्रिक समाजवादको लक्ष प्राप्तिका निम्ति बिपी शिक्षालाई राष्ट्रिय अभियानकोरुपमा अगाडि बढाउनका लागि तपसिल अनुसारका कार्यक्रमहरू सञ्चालन गर्न कसरी सकिएला ?
अभियानहरू
क) उत्पादनसँग काँग्रेस अभियान (नेपाली कांग्रेसका हरेक नेता तथा कार्यकर्ताहरू अनिवार्य रूपमा उत्पादन , रोजगारी र सृजनशीलतासँग जोडिने)
ख) शिक्षासँग उद्यमशीलता अभियान (विद्यालय र विश्वविद्यालय शिक्षालाई उद्यमशीलता र सीपसँग जोडने कुराको अगुवाइ नेपाली कांग्रेसले गर्ने)
ग) समाजसँग विवेक निर्माण अभियान (नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आफ्नो रहन सहन, व्यवहार र प्रवृत्तिमा सुधार गरी समाजमा विवेक निर्माणका लागि शब्द विनाको सन्देश दिने )
माथि उल्लेखित यी प्रश्नहरू र यसमा छुट हुन पुगेका र साथीहरूबाट आउने अन्य केही महत्त्वपूर्ण प्रश्नहरूतर्फ समेत केन्द्रित भएर यसको उत्तर खोज्न सके मात्रै हामीले महासमितिको सदस्य हुनुको गरिमा र यसको साखलाई बचाउन सक्दछौ । यदि हामीले गम्भीर भएर माथि उल्लेखित विषय वस्तुहरूको अध्ययन र मनन गर्यौ भने माथि उल्लेखित प्रश्नहरू भित्रनै धेरै उत्तरहरू भेटाउन सकिन्छ । साथीहरूको सृजनशीलता भित्रबाट खोजिने उत्तर र दृढताको संयोजनले मात्रै हामीले महासमितिको बैठकलाई परिणाममुखी बनाउन सक्दछौ भन्ने विश्वासका साथ साथीहरूलाई यो पत्र प्रेषित गरिएको हो । यही उचाइबाट साथीहरूले यो पत्रलाई स्वीकार गर्नु हुनेछ भन्ने विश्वासका साथ साथीहरूको बिचबाट बिदा हुन चाहन्छु ।
तपाईँको मित्र
किशोरदत्त बराल
सभापति, नेपाली कांग्रेस, कास्की ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष