यस्तो छ कांग्रेसको आगामी राजनीतिक नीति
काठमाडौँ । नेपाली कांग्रेसले ‘जिम्मेवार नेपाली कांग्रेस : समुन्नत देश’ राजनीतिक नीति अगाडि सारेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको नीति प्रस्ताव मस्यौदामा पार्टीको राजनीति नीतिको विषयमा १७ वटा पेजमा उल्लेख गरिएको छ ।
कांग्रेसको ध्येय र ध्यान भनेकै लोकतान्त्रिक पद्धति र चरित्रको संरक्षणमा रहेको प्रतिवेदनमा उल्लेख छ । २०७४ मा बनेको नेकपाको बहुमतको सरकार सबै क्षेत्रमा असफल हुँदा आम नागरिकमा नैराश्य, आक्रोश र प्रतिरोधी भावना बढेको कांग्रेसको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
नागरिकमा उत्पन्न निराशा चिर्दै जनतामा आशा र भरोसा कायम गरी संवृद्ध मुलुक निर्माण गर्न प्रतिबद्ध रहेको कांग्रेसको भनाइ छ ।
कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो नभएको खड्का प्रस्तावमा भनिएको छ । ‘सुशासन, भ्रष्टाचारको अन्त्य, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, सबै वर्ग, समुदाय, क्षेत्र, लिङ्गका नागरिकको अपनत्वसहित संविधानको पूर्ण पालना र लोकतान्त्रिक पद्धतिबाट लोककल्याणको प्रवर्द्धन गर्दै अगाडि बढ्न नेपाली कांग्रेस दृढ छ,’ प्रस्तावमा उल्लेख छ ।
- खड्काद्वारा तयार पारिएको राजनीतिक नीति
नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि नै नागरिकको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । नेपाली कांग्रेसले वि.सं. २००७ सालमा जहानियाँ राणा शासनका विरुद्धमा गरेको जनक्रान्तिकै बलमा लोकतन्त्र र नागरिकको मतबाट मात्र शासन गर्न पाउने पद्धतिको
स्थापना भएको थियो तर वि.सं. २०१७ सालमा तत्कालीन राजाबाट कपटतापूर्वक लोकतन्त्र र नागरिक अधिकारको अपहरण गरी पञ्चायती व्यवस्था लादियो । नेपाली कांग्रेसले यसका विरुद्ध लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरिरह्यो । वि.सं. २०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा ऐतिहासिक जनआन्दोलन सफल भयो । यस पछि पनि वि.सं. २०५९ असोज १८ गते लोकतन्त्र र नागरिकका अधिकार अपहरण र वि.सं. २०६१ माघ १९ मा राजनीतिक “कु” गरियो ।
लोकतन्त्रले भर्खरै लय समात्दै गरेको अवस्थामा आइपरेको यस विषम परिस्थितिबाट देशलाई मुक्ति दिलाउँदै नागरिक हक अधिकारको सुनिश्चितता तथा लोकतन्त्रको पुनःस्थापनाको लागि नेपाली कांग्रेसले नेतृत्व लियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २०६२/०६३ सालमा अभूतपूर्व जनआन्दोलन भयो । जनआन्दोलनकै बलमा राजतन्त्रको स्वेच्छाचारी युग समाप्त पार्दै माओवादी सशस्त्र युद्धलाई समेत शान्तिपूर्वक समाधान गरी नेपाली कांग्रेसले पुन : एकपटक लोकतन्त्र तथा नागरिक हक अधिकारलाई सुरक्षित गर्यो । साथै दिगो शान्ति र सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको आधार तय गर्यो ।
वि.सं. २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा दुई/दुई पटक निर्वाचित संविधान सभा, संविधान सभाबाटै नयाँ संविधान निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा देशको महत्त्वपूर्ण र अपूर्व राजनीतिक उपलब्धि हो । दुई पटक संविधान सभाको निर्वाचन भएर पनि संविधान जारी गर्ने सन्दर्भमा करिब करिब असफल हुन लागेको अवस्थालाई जोगाउँदै, गल्तीलाई सच्याउँदै, परिस्थितिलाई सम्हाल्दै र सम्हालिँदै हामी आजको अवस्थामा आइपुगेका हौँ । राष्ट्रिय जिम्मेवारीबोध गरेर कांग्रेस पार्टी र यसको नेतृत्वले देखाएको संयम, धैर्य र सिद्धान्तप्रतिको आफ्नो दृढताले सङ्कटको अवस्थामा पनि निर्णायक भूमिका निर्वाह गर्यो । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले संविधान सभा मार्फत ऐतिहासिक संविधान जारी गर्यो ।
संविधान जारी भएपछि पनि संविधानकै विषयमा केही अस्थिरता र अन्योलको संकेत नदेखिएको होइन तर यसलाई व्यवस्थापन गर्दै संविधान कार्यान्वयनको पहिलो निर्वाचन नेपाली कांग्रेसकै नेतृत्वमा भयो । नेपाली कांग्रेसले द्वन्द्वकै चपेटा र त्यसपछिका अविश्वास र संशयका बिच पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएर सहज रूपमा सत्ता हस्तान्तरण गर्यो । यो अभ्यास लोकतान्त्रिक विश्वका लागि नमुनायोग्य सफल उदाहरण पनि हो । यसमा नेपाली कांग्रेसको सन्तुलित, समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व, भूमिका, विचार र नीति निर्णायक रहेको छ ।
वि.सं. २०७४ को निर्वाचनपछिको समय द्वन्द्वबाट मुलुकले त्राण पाएर नयाँ संविधान र संवैधानिक व्यवस्थामार्फत हिँड्नु पर्ने महत्त्वपूर्ण समय थियो । अनेकौँ हथकण्डा र परिवेश खडा गरेर तत्कालीन नेकपाले निर्वाचनमा झण्डै दुईतिहाइ मतसहित सुविधाजनक अवसर पायो तर दलीय सङ्कीर्णता, सुशासनको अभाव र अन्तरकलहको कारण देशमा विकास, समुन्नति तथा आर्थिक वृद्धिले लय समात्न सकेन । कम्युनिस्ट पार्टीको गैरजिम्मेवारपनको कारण राजनीतिक स्थिरता हुन सकेन । संविधान घोषणा भएर निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यास सुरु भएपछि मुलुक नयाँ चरणमा प्रवेश गर्ने आम नागरिकको अपेक्षा थियो ।
जनताको सुख, शान्ति र देशको समृद्धिको यात्रा दृढतापूर्वक प्रारम्भ हुने अपेक्षा थियो तर यी सबैका विपरीत तत्कालीन नेकपाको सरकार संविधान उल्लङ्घन गर्दै पश्चगामी बाटोमा हिँड्न थाल्यो । ऐन कानुन निर्माणको काम सकिइसक्नु पर्थ्यो ।
शान्ति प्रक्रिया टुङ्गोमा पुग्नुपर्थ्यो । द्वन्द्व पीडितले न्याय पाइसक्नु पर्थ्यो । संघ, प्रदेश र स्थानीय तहका अधिकार, दायित्व र कर्तव्यमाथि उठेका प्रश्नहरूको निवारण भइसक्नु पर्थ्यो । नयाँ र दीर्घकालीन योजनासहित नयाँ यात्रा प्रारम्भ भइसक्नु पर्थ्यो । जनताका मुद्दामाथि संसद्मा छलफल हुनुपर्थ्यो । राष्ट्रवाद र स्थायित्वको नारा दिएको नेकपाको सरकारले जनजीविकाको सवालमा ठोस काम गर्नु पर्दथ्यो तर उल्टै समस्यामाथि छलफल गर्नुपर्ने थलो संसद् नै दुई दुई पटक विघटन गरेर तत्कालीन नेकपा र त्यसको नेतृत्वले पार्टीको आन्तरिक झगडामा देशलाई फसाएका कारण सङ्क्रमणकालीन अवस्था लम्बियो र आम नागरिकमा निराशा पनि बढ्यो । सम्वृद्धिका ठुला ठुला नारा त लगाइयो तर व्यवहारमा कुशासन, अराजकता, अलोकतान्त्रिक सर्वसत्तावादी चरित्र ह्वात्तै बढ्यो । सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा कुनै सुधार हुन सकेन । रोजगारी सिर्जनाजस्ता विषयमा ध्यान गएन । परिणामतः आम नागरिकमा नैराश्य, आक्रोश र प्रतिरोधी भावना बढ्यो ।
आम नागरिकको अपेक्षाको ठिक विपरीत राष्ट्रिय राजनीति सर्वसत्तावादको गहिरो चङ्गुलमा फस्न पुग्यो । आम नागरिकको कठोर संघर्षबाट प्राप्त संविधान सभाले बनाएको संविधानमाथि निर्मम प्रहार सुरु भयो । करिब दुई तिहाइ बहुमत प्राप्त जनअभिमतको उपहास मात्र गरिएन, नयाँ संविधानको पूर्ण कार्यान्वयन मार्फत नागरिकको जीवनस्तर उठाउने राष्ट्रिय कार्यभार पूर्णतः कुल्चिइयो । अहङ्कारको सर्वसत्तावाद र सर्वसत्तावादको अहङ्कार सँगसँगै मौलाइरहेको थियो ।
त्यतिखेर जनअधिकारको रक्षा, कानुनी राज्यको सम्मान र जनताको समृद्धिको सपना जोगाउनु थियो र यी सबैको रक्षा गर्ने संविधान स्वयंको रक्षा गर्नुपर्ने अवस्था थियो । इतिहास साक्षी छ, नेपाली कांग्रेसको आँखामा सत्ता होइन, लोकतन्त्र थियो र छ । कांग्रेसको ध्येय र ध्यान भनेकै लोकतान्त्रिक पद्धति र चरित्रको संरक्षण हो । सत्ताकै मात्र लोभ गरेको भए नेकपा काँक्राको चिराझैँ चिरिएको र तहसनहस भएको समयमा नेपाली कांग्रेस निर्वाचनमा जाने थियो र पूर्ण बहुमत सहित सत्तामा पुग्ने थियो । तर केवल सत्ता होइन, नेपाली कांग्रेसले संविधानको रक्षा र कार्यान्वयनलाई मूल मुद्दा बनायो र आम नागरिकको साथमा सडकमा ओर्लियो ।
सत्तामा को रहने वा नरहने भन्दा पनि नागरिकले सत्ता फेर्न पाउने अधिकार सहितको लोकतान्त्रिक शासन व्यवस्था नै फेरिन्छ कि झैँ संगठित सर्वसत्तावाद र राज्य कब्जाको स्थिति थियो । त्यो विषम परिस्थितिमा नेपाली कांग्रेसले परिवर्तनको रक्षा गर्ने दायित्वको नेतृत्व लिनुपर्ने थियो र लियो ।
परिवर्तनलाई संस्थागत गर्नुपर्ने दायित्वबोध गरेका अन्य दल तथा कतिपय दलभित्रका परिवर्तनकारी जुझारु शक्ति र सम्मानित सर्वोच्च अदालत समेतको संवैधानिक एवं विवेकपूर्ण फैसलाका कारण काबुबाहिर जान लागेको राष्ट्रिय राजनीतिक परिस्थिति सम्हालियो । नेपाली कांग्रेसको नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्दा मुलुक फेरि लोकतान्त्रिक मार्गमा फर्क्यो ।
जतिबेला देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि सङ्कट आइपर्दछ, त्यस समयमा नेपाली कांग्रेसले जिम्मेवार र बुद्धिमत्तापूर्ण भूमिका निर्वाह गर्दै परिस्थितिलाई सम्हाल्दै अगाडि बढिरहेको छ । जब जब देशमा सङ्कट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली कांग्रेस एकमात्र त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ ।
देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनैपनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसालझैँ उभिएको छ ।
बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता गरेको छैन, गर्दैन । हामीलाई गर्व छ, नेपाली राजनीतिमा नेपाली कांग्रेसमात्रै त्यस्तो पार्टी हो, जो स्थापनाकालदेखि आजसम्म आफ्नो मूल सिद्धान्तमा अविचलित छ । आफ्नो स्पष्ट राजनीतिक दृष्टिकोण, सिद्धान्त, विचार तथा नीतिको जगमा नेपाली कांग्रेसले हरेक विषम परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको छ । नेपाली कांग्रेसले अँगालेको राष्ट्रियता, लोकतन्त्र, लोकतान्त्रिक समाजवाद तथा संविधानवादको प्रष्ट नीति, विचार तथा सिद्धान्त संसारका सबै लोकतान्त्रिक देशहरूको स्वीकार्य राजनीतिक प्रणालीका रूपमा स्थापित छ ।
आदरणीय महासमिति सदस्य साथीहरू
वि.सं. २०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय, प्रादेश र सङ्घ – तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरायो । यस निर्वाचन मार्फत नेपाली नागरिकले नेपाली कांग्रेसलाई ठुलो राजनीतिक दलको हैसियत दिलाए ।
ठुलो राजनीतिक दल भएर पनि नेपाली कांग्रेसको ध्यान सत्ताको नेतृत्व लिनु थिएन, लोकतन्त्रलाई संस्थागत गर्दै राजनीतिक स्थिरता, समुन्नति र विकास गर्नु थियो । आजको दिनमा नेपाली कांग्रेस तीनै तहको सरकारको ठुलो राजनीतिक दल हो । ठुलो दल भएकै कारण हामीले अहिले पनि सुझबुझपूर्ण ढङ्गबाट काम गर्दै सम्पूर्ण राजनीतिक दललाई मिलाएर लोकतन्त्रको संरक्षण, सम्बर्धन तथा समुन्नतिको लागि काम गर्नुपर्ने अवस्था छ । नेपाली कांग्रेस यस विषम परिस्थितिमा इतिहासले आफूलाई सुम्पिएको लयस महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न प्रतिबद्ध भएर क्रियाशील छ । हामी सबैलाई थाहा छ – आजको अवस्था सहज छैन । विभिन्न अप्ठ्यारा परिस्थिति हाम्रा सामु रहेका छन् ।
१ संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनको सवाल :
वि.सं. २००३ साल देखिनै नेपाली कांग्रेसले लिपिबद्ध गर्दै र भन्दै आइरहेको नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, बालिग मताधिकार, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायालय, समावेशीकरण, लोकतान्त्रिक समाजवादी अर्थ राजनीतिक व्यवस्था, अधिकार, श्रोत र साधनको विकेन्द्रीकरण, विधिको शासन लगायतका विषय समावेश गरी वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भयो । नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था त थिएन तर पनि नेपाली कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो । देश लोकतान्त्रिक बाटोमा गयो । यद्यपि जति मेहनत र होसियारीका साथ संविधान बनेको भएता पनि केही असन्तुष्टि फेरि पनि बाँकी रह्यो । यो विषम परिस्थितिलाई सम्हाल्दै नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा दुई पटक तीनै तहको सरकारको निर्वाचन सम्पन्न गर्यो । यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हक लगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय कानुनको निर्माणमा अझै पनि काम गर्न बाँकी छ ।
२ लम्बिदो संक्रमण र नागरिकका दुःख :
राजनीतिक स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दो र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको छ । सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न सकेका छैनन् । यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिए जस्तो छिटोछरितो सेवा प्रवाह हुन सकेको छैन ।
समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न सकेको छैन । यसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशातीत सुधार आउन सकेको छैन ।
३ सार्वजनिक संघसंस्था प्रतिको घट्दो विश्वास
नेपालका सरकारी संघसंस्था, संवैधानिक अङ्ग, संसद् तथा यस अन्तर्गतका निकाय तथा समिति लगायतका अन्य सार्वजनिक निकाय तथा संघसंस्थाले नागरिकको विश्वास जित्न नसकेको हो कि भन्ने भावनाको विकास हुन थालेको छ । सार्वजनिक संघसंस्था र निकायमा भएको दलीयकरण र राज्यले प्रदान गर्ने सार्वजनिक सेवा तथा कार्यको गुणस्तर कमजोर भयो भन्ने आम नागरिकको गुनासो व्यापक रहेको छ । नागरिकका यस्ता गुनासा तथा सरोकारलाई समयमै प्रभावकारी ढङ्गले सम्बोधन गर्न नसक्दा सार्वजनिक संघसंस्थामाथि नागरिकको अविश्वास बिस्तारै बढ्दै गइरहेको छ ।
४ बढ्दो असमानता
नेपाली समाजमा विभिन्न खालका असमानताहरू बढ्दै गइरहेका छन् । आर्थिक रूपमा सम्पन्न र विपन्न बिचको खाडल झन् फराकिलो हुँदै गएको छ । कुनै समयमा जमिन माथिको स्वामित्वले बढाएको असमानतालाई अहिले अन्य विभिन्न कारक तत्त्वले बढाउँदै लगेका छन् ।
एउटा वर्ग आर्थिक रूपमा सम्पन्न हुने र अर्को वर्ग त्यसको दुष्चक्रमा परी कङ्गाल हुने अवस्था सिर्जना भएको छ । प्राकृतिक स्रोत साधनको असमान वितरण, शक्ति तथा स्रोत माथिको असमान पहुँच लगायतका कारणले नेपाली समाजमा असमानता बढाएको छ ।
५ आर्थिक चुनौतीहरू
यतिबेला मुलुकमा आर्थिक चुनौतीका चाङ रहेका छन् । कतिपय संरचनागत चुनौती छन् भने केही व्यावहारिक तथा नीतिगत समस्याहरू रहेका छन् । मूलतः वि.सं. २०७४ सालमा नेकपाको सरकारले लिएको गलत आर्थिक नीति तथा कार्यशैलीको कारण
आजसम्म पनि अर्थतन्त्र लयमा फर्किन सकेको छैन । त्यस समयमा ठुलो मात्रामा वैदेशिक ऋण लिने र अनुत्पादक क्षेत्रमा ठुलो लगानी गर्ने गलत नीति अख्तियार गर्ने कार्य भए । यसबाट लगानी गर्ने तर कुनै प्रतिफल प्राप्त हुन नसक्ने अवस्था बन्यो । साना तथा मझौला उद्यमीहरू व्यवसाय छाड्नुपर्ने अवस्थामा पुगे । भ्रष्टाचार तथा अनियमितता उच्च तहमा पुग्यो । साना तथा मझौला उद्यमी, साना किसान, विपन्न एवं पछाडि पारिएका वर्ग समुदायका नागरिक यसबाट बढी प्रताडित हुनपुगे । यसले देशको आर्थिक क्षेत्रमा विभिन्न चुनौती बढाएको छ ।
विगतमा गरिएका यस किसिमका गल्तीका कारण हाल अर्थतन्त्रका प्रमुख सूचकहरू ठिक हुँदाहुँदै पनि आन्तरिक अर्थतन्त्र जुन तहमा चलायमान हुनुपर्ने हो, त्यसो हुन सकेको छैन ।
६ नागरिकस्तरमा रहेको निराशा
विविध विषम परिस्थिति तथा चुनौतीहरूका कारण देशमा आम रूपमा निराशा बढ्दो छ । द्वन्द्वग्रस्त अवस्थाको सन्निकट पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काएको छ तर पनि अझै शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन् ।
जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक वृद्धिमा धेरै काम भइसक्नुपर्ने थियो । देशले स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । देशमा द्रुत आर्थिक विकासको अभाव छ । आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकेको छैन । गृहिणीको अप्ठ्यारो, तन्नेरीको छटपटी, शैक्षिक बेरोजगारी, उद्योगधन्दा तथा कलकारखानाको अवरोध, आर्थिक सकस, सामाजिक रूपान्तरणको अलमलजस्ता कारणले आम नागरिकमा निराशा बढ्दो छ । नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोसा कायम गरी संवृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ ।
महासमिति सदस्य साथीहरू
आम तहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठिक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ । मूलतः लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ ।
७ लोकरिझ्याइँ
दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रस्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो । त्यही लोकरिझ्याइँ गर्नेहरूको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्र प्रतिको प्रतिबद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको व्यापार गर्न प्रयत्नशील छन् ।
८ अधिनायकवाद
लोकप्रियताको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र विरोधी नै हुन् ।
उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी । भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा जनमत तयार पारेर तिनीहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयासमा छन् । घृणाको राजनीति र त्यही घृणाको आवरणमा अधिनायकवाद लाद्ने प्रयत्नहरू भइरहेका छन् ।
९ पुनरुत्थानको कुचेष्टा
राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ रहेको छ । यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन् । राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन । पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, केवल अर्थहीन कुचेष्टा मात्रै हो ।
आदरणीय महासमिति सदस्य साथीहरू
यस किसिमका समस्या तथा चुनौतीहरूको बुद्धिमत्तापूर्ण दीर्घकालीन समाधान गर्न सक्दा मात्र लोकतन्त्र संस्थागत हुन्छ । राजनीतिक स्थिरता प्राप्त हुन्छ । आम नागरिकको हक अधिकार सुनिश्चित हुन्छ । दिगो शान्ति र समुन्नतिको आधार तय हुन्छ । यस सवालमा नेपाली कांग्रेस सचेत र जानकार छ । त्यति मात्र होइन, यस किसिमको विषम परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको सुनौलो विगत छ । वर्तमानमा पनि त्यो अठोट र क्षमता नेपाली कांग्रेससँग मात्रै छ ।
नेपाली कांग्रेसलाई तत्कालीन नेकपाको सरकारले वि.सं. २०७४ पछिको समय खेर फालेझैँ अहिलेको समय खेर फाल्ने छुट छैन । पछिल्लो निर्वाचनपछिको यो समय खेर नजाओस् भन्नेमा कांग्रेस दृढ छ । वि.सं. २०६२/०६३ को जनआन्दोलनको आह्वान गर्दा नै नेपाली कांग्रेसले आम नागरिकसँग भनेको थियो –“लोकतन्त्रको लागि यो अन्तिम आन्दोलन हो । अब अर्को पुस्ताले लोकतन्त्रकै लागि आन्दोलन गरिरहनुपर्ने छैन ।” हाल प्राप्त उपलब्धि र यसको अभ्यास स्वतन्त्रताको अन्तिम सीमा हो । यसलाई थप सुदृढ बनाउँदै वर्तमान समयमा देखा परेका असहजता, अप्ठ्यारा, समस्या, गुनासा तथा आम नागरिकका असन्तुष्टिलाई सम्हाल्दै अगाडि बढ्ने कुरा नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो ।
साथीहरू,
परिस्थिति अप्ठ्यारो छ । चुनौती छन् । समस्या छन् । तर नेपाली कांग्रेस छ र यो परिस्थितिलाई नेपाली कांग्रेसले सम्हाल्छ । नेपाली कांग्रेसका एक एक सदस्य साथीहरू यस परिस्थितिलाई आफ्नो स्थानमा रहेर सम्हाल्न र नेतृत्व दिन सक्षम छन् । प्रगति तथा समुन्नतिको तीव्र र उत्कट चाहना बोकेर भौँतारिइरहेका व्यक्तिका चासो र सरोकारलाई हामी सम्बोधन गर्छौ । अबको दिनमा नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलभूत मान्यताको जगमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढङ्गले प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न नेपाली कांग्रेस फेरि पनि प्रतिबद्ध रहने छ ।
आदरणीय महासमिति सदस्य साथीहरू, विगतमा पनि यस्ता समस्या तथा अप्ठ्यारा थिए । इतिहास साक्षी छ, ०७ साल, ०१७ साल, ०४६ साल, ०६२/०६३ सालमा देखा परेका ‘रूपमा भिन्न तर सारमा समान’ प्रकृतिका अप्ठ्यारा तथा समस्यालाई नेपाली कांग्रेसले नै सम्हाल्दै अगाडि बढेको हो । अहिले पनि नेपाली कांग्रेस ठुलो राजनीतिक दलको रूपमा स्थानीय, प्रदेश र संघीय तहमा रहेको छ । नेपाली कांग्रेसमा तपाईहरू जस्ता जुझारु, प्रतिबद्ध, चेतनशील, सक्रिय र जोसिला साथीहरू हुनुहुन्छ । यही शक्तिको आधारमा अहिलेको असहज परिस्थितिलाई सम्हाल्दै नेपाली कांग्रेस अगाडि बढ्ने छ । इतिहासलाई थोरै मात्र समीक्षा गर्यौँ भने मात्रै पनि हामी यस बारेमा प्रष्ट हुन सक्छौँ ।
वि.सं. २००७ सालमा क्रान्ति मार्फत जन्मको आधारमा सर्वोच्चता हुने जहानियाँ शासन व्यवस्थालाई नेपाली कांग्रेसले आफ्नो अगुवाइमा अन्त्य गर्यो । नागरिक माथिको थिचोमिचो, शोषण र दमनको अन्त्य गर्यो । नागरिक अधिकार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, बालिग मताधिकार, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायालय तथा विधिको शासन, निजी सम्पत्तिको संरक्षण लगायतका विषय वि.सं. २००३ साल देखिनै नेपाली कांग्रेसले दस्ताबेजमा लिपिबद्ध गर्दै आइरहेको छ । त्यही सैद्धान्तिक सीमाभित्र आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
वि.सं. २००७ सालको महान् राजनीतिक परिवर्तनसँगै प्राप्त उपलब्धि विरुद्धको षडयन्त्र पनि सुरु भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा ससम्मान गद्दीमा फर्काइएका राजाले नागरिकका अधिकार खोसेर एकाधिकार तथा निरङ्कुश राजतन्त्रात्मक शासनको सपना देख्न थालेका कारण तत्कालीन समयमा सङ्क्रमण लम्बियो । नेपाली कांग्रेसले आफ्नो नीति, दर्शन, विचार र संगठन मार्फत दक्षिणपन्थी र वामपन्थीका अतिवादका कारण चपेटामा परेको परिवर्तनको उपलब्धि जोगाउने काम गरेको थियो । जननेता बी.पी. कोइरालाको दूरदर्शिता र नेपाली कांग्रेसको विश्वमान्य लोकतान्त्रिक सैद्धान्तिक विचारका आधारमा वि.सं. २०१५ सालमा मुलुकले सङ्क्रमणबाट निकास पाएको थियो ।
संविधान जारी भयो । आम निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले दुई तिहाइ बहुमत पायो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो । प्रथम जननिर्वाचित बी. पी. कोइराला नेतृत्वको सरकारले १८ महिनाको छोटो अवधिमा आर्थिक तथा मानवीय संसाधनको सीमितताको बाबजुद पनि लोकतान्त्रिक समाजवादी नीति तथा कार्यक्रम अनुसार जमिनदारी र बिर्ता प्रथाको उन्मूलन, वनजंगलको राष्ट्रियकरण, ग्रामीण विकास योजनाको सुरुवात, यातायात प्रणालीको विकास र विस्तार, मोहीको हक र भूमि व्यवस्थामा सुधार गर्यो । यसले नेपालमा आर्थिक विकास र आधुनिकताको जग बसाल्यो । नेपालको पहिलो विश्वविद्यालयको स्थापना, पूर्व पश्चिम लोकमार्गको थालनी, स्वतन्त्र परराष्ट्र नीतिको अगुवाइ तथा कृषि सहकारीको स्थापना लगायतका कार्य मार्फत नेपाली कांग्रेसले देशमा आर्थिक विकास, सम्बृद्धिको जग खडा गरी असमानताको न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।
तत्कालीन राजा महेन्द्रले वि.सं. २०१७ सालमा दुई तिहाइ बहुमत सहितको जननिर्वाचित सरकारलाई अपदस्थ गरी लोकतन्त्र अपहरण गरे । निर्दलीय पञ्चायती शासन व्यवस्था लादियो । नागरिकमा फेरि निराशा छायो । तर नेपाली कांग्रेस आफ्नो लोकतान्त्रिक मूल्य मान्यतामा अविचलित रह्यो । नेपाली कांग्रेस पञ्चायत विरुद्धको लामो र दृढतासहितको कठोर संघर्षमा होमियो । नागरिक सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामा कहिल्यै सम्झौता गरेन । तत्कालको लाभहानी वा सत्ताप्राप्तिका लागि कहिल्यै लोकप्रियतावादी तथा सतही राजनीति गरेन । विचार, सिद्धान्त र निष्ठाबाट कहिल्यै च्युत भएन । वि.सं. २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्यो । लोकतन्त्रको स्थापना भयो । अन्तरिम सरकार गठन भएको एक वर्षभित्रै नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारको दूरदर्शितापूर्ण भूमिकाको जगमा वि.सं. २०४७ सालमा संविधान जारी भयो ।
वि.सं. २०४६ सालको जनआन्दोलनबाट पराजीत भएको दक्षिणपन्थी शक्ति र तत्कालीन उग्रवामपन्थीहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएको आर्थिक विकास तथा उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन् । अनाहक सशस्त्र हिंसाको राजनीति सुरु भयो । दृश्य/अदृश्य शक्तिको आडमा वि.सं. २०४७ सालको संविधान र संवैधानिक व्यवस्था विरुद्ध प्रहारहरू भए । सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्को दलदलको भासमा फस्न पुग्यो । तत्कालीन राजा संविधानले तोकेको राजनीतिक सीमा उल्लङ्घन गर्ने तर्फ अभिप्रेरित भए । वि.सं. २०५९ पछि त राजाले निरङ्कुश शासनको अभ्यास सुरु गरे । विकास र समुन्नतिको भर्खरै प्रारम्भ हुन थालेको यात्रा अवरुद्ध भयो । विकासका संरचना भत्किए । भर्खरै गति समातेको विकास अवरुद्ध भयो । लोकतन्त्रमाथि प्रहार भयो । नागरिकमा फेरि निराशा, हतासा र आक्रोश थपियो । आम नागरिकले नेपाली कांग्रेसकै नेतृत्वलाई आशाको नजरले हेर्न थाले । नागरिकको त्यो आशा,
विश्वास र अपेक्षालाई सम्मान गर्दै नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वि.सं. २०६२/०६३ मा जनआन्दोलन मार्फत सफल गरेरै छाड्यो । आफ्नै नेतृत्वमा नेपाली कांग्रेसले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यो ।
आदरणीय महासमिति सदस्य साथीहरू,
नेपाली नागरिकको सुख दुःखको साथी र हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता हुनुको नाताले नेपाली कांग्रेससँग देशमा विद्यमान शताब्दियौँ देखिको जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीय विभेद समाप्त गर्ने, भाषिक र जातीय विविधताको सम्मान गर्दै राज्यका अङ्गहरूमा तिनको पहुँच विस्तार गर्ने, सामाजिक प्रतिष्ठा, आर्थिक उन्नति र परिवर्तनको संस्थागत विकास गर्ने दायित्वपूर्ण जिम्मेवारी रहेको छ । राजनीतिक मूलप्रवाहमा सबै वर्ग, समुदाय, तह र तप्काको सक्रिय प्रतिनिधित्व नभई राजनीतिक सत्ताले पूर्णता र नैतिक वैधता प्राप्त गर्न सक्दैन । दलित, महिला, मुस्लिम, थारु, जनजाति, मधेसी, खसआर्य, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने, छुवाछुत र सामाजिक बहिष्करणमा परेका र पारिएका नागरिकलाई राज्यका हरेक अङ्गहरूमा सम्मानजनक राजनीतिक, सामाजिक प्रतिनिधित्व र सहभागिता गराउने, अल्पसङ्ख्यक नागरिकलाई समानता, सामाजिक न्याय र सम्वृद्धिको हकको व्यावहारिक कार्यान्वयन गराउने लगायतका राज्यका मूल कार्यभार बाँकी नै रहेको छ ।
राजनीतिक स्थिरता सहितको लोकतन्त्रका लागि नेपाली कांग्रेसले आवश्यक नीति तय गर्नेछ । नेपालले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको कारण संसद्मा कुनै एक दलको बहुमत पुग्ने सम्भावना निकै कम देखिन्छ । सरकार गठनको लागि गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
आदरणीय महासमिति सदस्य साथीहरू,
नेपाली कांग्रेस हालको चुनौतीपूर्ण परिस्थिति तथा नागरिकका बिचमा बढ्दो निराशालाई सम्बोधन गर्नका लागि निम्नानुसारका नीतिगत सवालमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दछ : संविधानको पूर्ण र व्यावहारिक कार्यान्वयन : हाल देखिएका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक लगायतका चुनौती र समस्याहरूको समाधान नेपालको संविधानको पूर्ण र व्यावहारिक कार्यान्वयन मार्फत गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ । नेपालको संविधानका प्रमुख विशेषता संघीयता, समावेशीकरण, गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण, संवर्द्धन र अनुसरण गर्दै अगाडि बढ्दा धेरै समस्याको समाधान हुन्छ । यसका लागि संघीयतालाई प्रभावकारी बनाउन संघीय सरकारले नीति निर्माण, प्रादेशिक सरकारले विकास कार्य र स्थानीय सरकारले नागरिकका दैनिक जीवनसँग सम्बन्धित सेवा प्रवाह गर्ने सिद्धान्त र नीतिको अनुसरण गरिने छ ।
नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको आधारमा राज्यको हरेक तहका संरचनामा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने कुरामा नेपाली कांग्रेस प्रतिबद्धता व्यक्त गर्दछ ।
नेपालको संविधानमा उल्लेख भएका मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानुनहरू तत्काल निर्माण गरी यसको प्रभावकारी कार्यान्वयन गर्ने सन्दर्भमा नेपाली कांग्रेस सक्रियतापूर्वक लाग्ने छ । नेपाली कांग्रेस संविधानलाई गतिशील दस्तावेजका रूपमा हृदयङ्गम गर्दछ । त्यसैले संविधानको आधारभूत विशेषता तथा अहरणीय प्रावधानलाई अक्षुण्ण राख्दै थप प्रभावकारी बनाउने र सम्पूर्ण नागरिकको अपनत्व अभिवृद्धि गर्ने सन्दर्भमा नेपाली कांग्रेस उदार छ । यसका लागि आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप संवृद्ध र स्वीकार्य बनाउने नेतृत्व कांग्रेसले नै लिने छ । यसका लागि नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीति शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तर्क्रिया तथा विमर्श मार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
- सुशासन, सदाचार र भ्रष्टाचार नियन्त्रण :
सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । यो नै लोकतन्त्र र सम्बृद्धिको आधार पनि हो । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनमा नेपाल एक अङ्कमाथि उक्लिएको छ । यो हाम्रा लागि केही आशालाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि अत्यन्त गम्भीर भएर थप काम गर्नु पर्ने आवश्यकता छ ।
नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासनको स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका परिपूरक हुन् । सुशासनको स्थापना र भ्रष्टाचारको नियन्त्रणविना समुन्नति सम्भव छैन । सुशासन र भ्रष्टाचार नियन्त्रण उदार लोकतान्त्रिक व्यवस्थासँग जोडिन्छ । लोकतन्त्र आत्मअनुशासनसँग जोडिन्छ र आत्मअनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ । यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ ।
नीतिको कार्यान्वयन र अनुगमन प्रक्रिया पारदर्शी हुनुपर्छ । यसर्थ देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुनेछ । सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार निवारण ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ ।
कुनै पनि व्यवस्था स्थापनासँगै स्वचालित तवरले विकास, उन्नति र रूपान्तरण भई हाल्छ भन्ने भ्रमबाट नेपाली कांग्रेस मुक्त छ । त्यसैले सामूहिकता, सुकर्म र आत्मअनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली कांग्रेसले पूरा गर्नेछ । नेपाली कांग्रेसकै नेतृत्वको सरकारले वि.सं. २०५९ सालमा भ्रष्टाचार निवारण ऐन जारी गरेको हो । भ्रष्टाचार निवारण सम्बन्धी छाता ऐन र स्वार्थ द्वन्द्व सम्बन्धी ऐन जारी गर्ने एवं सदाचार प्रवर्द्धन नीति तर्जुमा गरी देशमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणलाई नेपाली कांग्रेसले आफ्नो प्रमुख कार्यभारको रूपमा अगाडि बढाउने छ ।
सम्पत्ति शुद्धीकरण ऐन तथा राजश्व अनुसन्धानसँग सम्बन्धित नीति, नियम, ऐन कानुनको समीक्षा गरी बलियो र प्रभावकारी बनाउने र यस्ता निकायहरूको पुनर्संरचना गर्ने नीति अख्तियार गर्नेछ । न्यायालय लोकतान्त्रिक सुशासनको अभिन्न अङ्ग हो । यस तथ्यलाई हृदयङ्गम गरी विधिको शासनका लागि न्यायालयले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै न्यायिक स्वतन्त्रता र संवैधानिक सर्वोच्चताप्रति नेपाली कांग्रेस प्रतिबद्ध छ ।
- अर्थतन्त्रको सुधार:
हाल देखिएका बेरोजगारी, गरिबी, अविकास, उद्योग कलकारखानाको अभाव लगायतका समस्याहरूको समाधान उदार खुला अर्थनीतिबाट मात्र सम्भव छ भन्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको छ । यसो गर्दै गर्दा लोककल्याणकारी राज्यको सिद्धान्तलाई व्यवहारमा उतार्दै जनतालाई आर्थिक र सामाजिक न्यायको अनुभूति दिलाउन काँग्रेस प्रतिबद्ध रहने छ । निजी क्षेत्रका लागि आवश्यक नीति, ऐन, कानुन तथा रणनीतिको तर्जुमा र निजी क्षेत्रले त्यसमा संलग्न भएर कार्य गर्ने नीतिले मात्र नेपालमा रोजगारीको सिर्जना, गरिबीको निवारण तथा द्रुत आर्थिक विकास सम्भव छ भन्नेमा हामी गहिरो विश्वास राख्दछौँ । यसका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गरिने छ । साथै उत्पादनमूलक तथा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिने छ । आर्थिक क्षेत्रका नियामक निकायहरू जस्तै नेपाल राष्ट्र बैक, वीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतको क्षमता अभिवृद्धि गरी प्रभावकारिता बढाउनको लागि आवश्यक पर्ने नीति तय गरिनेछ । यसैगरी मुलुकको प्राकृतिक स्रोत साधनबाट बढीभन्दा बढी फाइदा उठाउन र नयाँ नयाँ मानव पुँजीमा आधारित उद्योग तथा कलकारखाना सुरु गर्न वैदेशिक लगानीलाई आकर्षित गरिनेछ । वैदेशिक लगानी आउनको लागि अवरोधको रूपमा रहेका नीति, ऐन, कानुनको समीक्षा गरी त्यस्तो अवरोधहरूको अन्त्य गरि नेपाललाई दक्षिण एसियाकै एक आकर्षक वैदेशिक लगानीको गन्तव्यको रूपमा विकास गरि तीव्र रोजगारीको सृजना गरिनेछ ।
- असमानताको अन्त्य:
नेपाली कांग्रेस स्थापनाको प्रमुख लक्ष्य भनेको समाजमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक असमानताको न्यूनीकरण गर्दै आम नागरिकको बिचमा समानता अभिवृद्धि गर्नु हो । जननेता बी. पी. कोइरालाले सरकारको नेतृत्व गरेको समयमा हरेक नेपाली नागरिकको जीवनस्तर आफूसरह होस् भन्नु भएको थियो । त्यसका लागि उहाँले आम नागरिकको बृहत्तर राजनीतिक सहभागिताको लागि आह्वान समेत गर्नु भएको थियो । आज नागरिकको बृहत्तर सहभागितालाई संवैधानिक रूपमा सुनिश्चित गरिएको छ । यसको व्यावहारिक कार्यान्वयनका लागि नेपाली कांग्रेस स्पष्ट नीतिको तर्जुमा गरी अगाडि बढ्ने छ । बढ्दो असमानताको अन्त्यका लागि नेपाली कांग्रेसले सक्नेलाई सशुल्क , नसक्नेलाई निःशुल्कको नीति तय गरी कार्यान्वयन गर्नेछ ।
- यसैगरी आर्थिक रूपमा प्रचुर उत्पादन :
समतामूलक वितरणको नीतिलाई नेपाली कांग्रेसले सम्पूर्ण नीति, नियम, योजनामा प्रतिविम्बित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । वञ्चितीकरणमा परेका वर्ग, समुदाय, क्षेत्र, लिङ्गका नागरिकलाई समतामूलक वितरण मार्फत उत्पादनमा सहभागी हुन सक्ने वातावरण तयार गरिने छ । नेपाली समाजमा अहिले पनि जातका आधारमा, गरिबीका आधारमा, लिङ्गको आधारमा, भूगोलको आधारमा नागरिकहरू विपन्नतामा बाँधिएका छन् । यस किसिमको बन्धनले असमानतालाई बढाइरहेको छ । नेपाली कांग्रेस प्रत्येक व्यक्तिलाई बन्धनबाट स्वतन्त्र बनाई उत्पादनका कार्यमा संलग्न हुने र समुन्नतिको मार्गमा अगाडि बढ्ने वातावरण निर्माण गर्न प्रतिबद्ध छ ।
विगतमा नेपाली कांग्रेसको नेतृत्वमा कमैया, कम्लरी, हलिया, चरुवा उन्मूलन लगायत लोककल्याणकारी कार्य गरे जस्तै आगामी दिनमा पनि यसै अनुसारका नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाली कांग्रेस कटिबद्ध छ ।
- उन्नत लोकतन्त्रको लागि सार्वजनिक संस्थाको सबलीकरण:
उन्नत लोकतन्त्रका लागि सार्वजनिक संस्थाको सबलीकरण प्रमुख आधारभूत सर्त हो । नेपाली कांग्रेस राज्यसँग प्रत्यक्ष रूपमा जोडिने सार्वजनिक निकायहरू न्यायालय, व्यवस्थापिका संसद्, संवैधानिक आयोगहरू, सुरक्षा निकाय, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी संघसंस्थाका साथै राज्यसँग नजोडिने तर राज्यमाथि दबाब राख्ने सामर्थ्य भएका नागरिक समाज वा संस्थाहरूको सबलीकरण तथा प्रभावकारिता अभिवृद्धि गर्नु पर्ने ठान्दछ । यस्ता निकायको स्वायत्तता अक्षुण्ण राख्दै दलीय संलग्नताबाट मुक्त गर्ने गरी नीति तय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै सार्वजनिक सेवाका पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता व्यक्तिको आचरण, व्यवहार, इमानदारी, सदाचार लगायतलाई मापदण्ड तय गर्न दृढ सङ्कल्प व्यक्त गर्दछ ।
- शासन प्रणालीमा नागरिक सहभागिता र संघीयताको सबलीकरण :
आवधिक निर्वाचनमा मतदान गरेर मात्र शासकीय पद्धति तथा प्रणालीमा नागरिक सहभागिता सुनिश्चित भएको मान्न सकिँदैन । त्यसैले आम नागरिकले नियमित रूपमा शासन प्रणालीमा सहभागी हुने र आफ्नो विचार, दृष्टिकोण, तथा अपेक्षाहरू अभिव्यक्त गर्न सक्ने गरी नीति तर्जुमा गरिने छ । तीन तहका सरकार बिचको अन्तरसम्बन्ध, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाको पूर्ण र व्यावहारिक कार्यान्वयनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहने छ । संघीयतालाई प्रभावकारी बनाउनका लागि संघीय सरकारले नीति निर्माण, प्रादेशिक सरकारले विकास कार्य र स्थानीय सरकारले नागरिकका दैनिक जीवनसँग सम्बन्धित सेवा प्रवाह गर्ने सिद्धान्त र नीतिको पूर्ण परिपालना गरिने छ । यसक्रममा प्रदेश सरकारको मन्त्रालयको सङ्ख्या तोकिने छ । साथै प्रशासनिक खर्च घटाउन प्रादेशिक तथा जिल्ला तहमा रहेका विभिन्न निकायहरूको औचित्यको अध्ययन गरी आवश्यक संरचना मात्र कायम गरिने छ । यस क्रममा सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनका आधारमा उपादेयता नदेखिएका संघीय विभाग तथा सार्वजनिक संस्थाको खारेजीको लागि आवश्यक पर्ने नीतिगत कार्य तत्काल अगाडि बढाइने छ । संघीयता भनेको शक्ति, अधिकार, श्रोत र जिम्मेवारीको विकेन्द्रीकरण हो । यतिबेला राज्यको तल्लो तहमा अधिकार, स्रोत, साधन र जिम्मेवारी पुगेको छ । अधिकार सम्पन्न सरकार गाउँवस्तीमा पुग्दा निकै सकारात्मक र नमुना काम भएका छन् । यतिबेला नेपाली कांग्रेस तीनै तहमा ठुलो राजनीतिक दलका हैसियतमा सुशासन स्थापनाका लागि महत्त्वपूर्ण कार्य गरिरहेको छ । यद्यपि शासन सञ्चालन पद्धतिका सम्बन्धमा केही गुनासा तथा असन्तुष्टिहरू देखिएका छन् । यसर्थ अगामी दिनमा नेपाली कांग्रेस संघीयता सफलताको आधार: मितव्ययी र लोकप्रिय सरकारको नीतिलाई अवलम्बन गर्दै तीनै तहको सरकारमा सुशासन प्रवर्द्धन गर्न दृढ सङ्कल्प व्यक्त गर्दछ ।
- प्रभावकारी सेवा प्रवाह :
नेपालमा भएका राजनीतिक परिवर्तनप्रति नागरिकको अपनत्व बढाउन सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, सरल, सहज र प्रभावकारी बनाउन जरुरी छ । आम नागरिकले सार्वजनिक सेवा – जस्तै नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, जग्गा किनबेचजस्ता सेवा लिन पनि विभिन्न झन्झट सामना गर्नु परिरहेको छ । यसले एकातर्फ नागरिकमा शासन प्रणाली प्रतिको असन्तुष्टि बढाएको छ भने अर्को तर्फ आम तहमा निराशा बढाउन योगदान गरेको छ । तसर्थ नेपाली कांग्रेस सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, निष्पक्ष, प्रभावकारी र निश्चित समयभित्र प्राप्त गर्न सक्ने गरी आवश्यक नीतिगत व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयनप्रति प्रतिबद्धता व्यक्त गर्दछ ।
- युवा ज्ञान तथा विज्ञताको सदुपयोग सम्बन्धी नीति :
आजको युग सूचना प्रविधिको युगको हो । नयाँ विधि, प्रविधि र नयाँ अवधारणा अनुरूप राष्ट्र निर्माणको अभियानमा स्वदेश तथा विदेशमा रहेर विशेषज्ञता हासिल गरेका विज्ञ तथा योग्य युवालाई राजनीति र राज्यको शासकीय जिम्मेवारीमा सहज प्रवेश दिनु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता छ । यसका लागि आवश्यक नीति तथा ऐन, कानुनको तर्जुमा गरिने छ । नेपाली कांग्रेस स्वयंले ४० वर्ष उमेर मुनिका युवा र देश विदेशमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञ व्यक्तिको लागि पार्टीको सम्पूर्ण समितिमा निश्चित प्रतिशत सिट छुट्याउने नीति तय गर्नेछ । साथै विदेशमा बसी रोजगारी, सीप तथा शिक्षा प्राप्त गरेका युवा मात्र रहने गरी पार्टीमा छुट्टै विभाग गठन गरिने छ ।
- दलीय अन्तरसम्बन्ध :
नेपाली कांग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्दछ । अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ, अनि प्रतिस्पर्धा हुन्छ । आफू मात्र भएको कल्पना त घोर निरङ्कुशता हो । नेपाली कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रह सहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो छैन । शान्तिपूर्ण, मैत्रीपूर्ण र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल नेपाली कांग्रेसका मित्र हुन् तर हत्या, हिंसा, लोकतन्त्र विरोधी गतिविधि भने नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य हुने छैन, सह्य हुने छैन । लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने नेपाली कांग्रेस कहिल्यै उदार हुन सक्दैन । उदारता र दलहरू प्रतिको सम्मान नेपाली कांग्रेसको सीमा हो तर दलीय पद्धतिप्रतिको विष वमन र उग्रता विरुद्ध भने नेपाली कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ ।
- पार्टीको आन्तरिक लोकतन्त्र र सहचार्य अभिवृद्धि :
नेपाली कांग्रेसलाई एक्काइसौँ शताब्दी अनुकूलको पार्टी बनाई उदाहरणीय लोकतान्त्रिक दलको रूपमा संगठित गरिने छ । यसका लागि सदस्यता वितरण प्रणालीलाई सुधार गर्दै लैजाने नीति अख्तियार गरिने छ । पार्टी भित्रका आन्तरिक विभाग तथा भातृसंस्था, पेशा व्यवसायी तथा शुभेच्छुक संघसंस्थाहरूलाई सक्रिय र चलायमान बनाइने छ । नेपाली कांग्रेस आफ्ना सदस्य, शुभेच्छुक, मतदाता तथा आमनागरिक बिचमा सहचार्य र जनताको दुख र सुखको साथी हो भन्ने मर्मलाई आत्मसात गर्दै स्वयंसेवी भावना अभिवृद्धि गर्न प्रतिबद्ध छ । साथै पार्टीका सम्पूर्ण सदस्यहरूबिच समानताको भावना जगाउँदै त्यसको प्रवर्द्धन गर्ने नीति अख्तियार गर्दछ । यस अतिरिक्त नेपाली कांग्रेसका नेता, सदस्य साथीहरू मात्र नभई मतदाता तथा आम नागरिकबिच सिधा प्रत्यक्ष संवाद गर्ने प्रणाली निर्माण गर्न अझै बढी सक्रियतापूर्वक लाग्न प्रतिबद्ध छ ।
- आन्तरिक शक्ति र आन्तरिक सुशासन :
टोल, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै संघीय तहसम्म विस्तारित संगठन र राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध सदस्यहरू नेपाली कांग्रेसका पुँजी हुन् । यस्ता सदस्यलाई पार्टीको सिद्धान्त, आदर्श, विचार र देशको खासखास विशेषता, समस्या र वैचारिक रूपले तिनका समाधान गर्ने गम्भीर दायित्व बोध गराउन प्रशिक्षणहरू गराइने छ । पार्टी संगठन र सदस्यलाई राजनीतिक रूपमा निरन्तर क्रियाशील बनाई राष्ट्र निर्माणको अभिभारा उठाउन सक्ने सक्षम, सवल र प्रभावकारी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसलाई विकसित गरिने छ । अनुशासित, शिक्षित र प्रशिक्षित नेपाली कांग्रेसले मात्र देशलाई सुशासन र गति दिन सक्दछ । त्यसैले पार्टीको आन्तरिक शक्ति अभिवृद्धि गर्दै आन्तरिक सुशासन सुनिश्चित गर्ने थप नीति तय गरिने छ ।
आदरणीय महासमितिका सदस्य साथीहरू,
आज मुलुकमा परम्परागत मुद्दा र समस्याका स्वरूपहरू बदलिएका छन् । नागरिक तहमा चेतनास्तर बढेको छ । नागरिक कर्तव्य प्रतिको दायित्व बोध तथा राज्यसँगको अपेक्षाका आयतन फराकिला बन्दै गएका छन् । प्रविधि मार्फत विश्वसँगको निकटता र तुलनाले युवा पुस्तामा नयाँ अपेक्षा बढ्नु र त्यसको प्राप्तिको अभिलाषा बढ्नु स्वाभाविक छ । तर आफ्नो देशको यथार्थ वस्तुस्थिति तथा सामर्थ्यलाई नजरअन्दाज गरेर लोकरिझ्याइँमा मात्र केन्द्रित हुनु राजनीतिक संस्कार हुन सक्दैन । यसले मुलुकलाई सही दिशामा अगाडि बढाउँदैन । ढाँटछल गरेर अस्वाभाविक सपना बाँड्न जति सजिलो छ, त्यो सपना पूरा नभएपछि खण्डित हुने मनलाई ठीक ठाउँमा फर्काउन अझ कठिन हुन्छ । सस्ता र असम्भव नाराहरू मात्र उरालेर नागरिकलाई उत्तेजित पार्दा उत्तेजना सकिएपछि बढ्ने निराशा नै हो । यस परिस्थितिलाई सम्हाल्दै, सँगाल्दै अगाडि बढ्न र नागरिकका अपेक्षा, चाहना तथा आवश्यकतालाई व्यावहारिक रूपमा द्रुत गतिमा कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ ।
विद्यमान सङ्क्रमण तोडेर सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण, नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गरी समतामूलक, न्यायिक र समुन्नत नेपाल बनाउन हाल देखिएका नीतिगत, कानुनी तथा व्यावहारिक जटिलता चिर्नेछौँ । त्यो क्षमता, आँट, शक्ति, नागरिक विश्वास र संगठन नेपाली कांग्रेससँग छ ।
सुशासन, भ्रष्टाचारको अन्त्य, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, सबै वर्ग, समुदाय, क्षेत्र, लिङ्गका नागरिकको अपनत्वसहित संविधानको पूर्ण पालना र लोकतान्त्रिक पद्धतिबाट लोककल्याणको प्रवर्द्धन गर्दै अगाडि बढ्न नेपाली कांग्रेस दृढ छ । विगतमा हाम्रै नेतृत्वमा भएका क्रान्ति, आन्दोलन, विद्रोह, परिवर्तन र सरकार सञ्चालनकै बेलामा पनि कांग्रेसले जारी गरेका अपिल, आग्रह, घोषणा तथा सङ्कल्पहरू हाम्रा दृष्टिबिन्दु हुन् । आफ्नो अतीतप्रति हामीलाई गौरव छ । यही गौरवबाट प्रेरणा लिएर आफैँले पनि आफ्नै घोषणा र सङ्कल्पको ऐनामा आफैँलाई
हेरेर समस्याहरूको कारण र निराकरणका उपाय के के हुन सक्छन् ? आफैँभित्रको यस प्रकारको अन्तरसमीक्षा पनि लोकतान्त्रिक पार्टीको लोकतान्त्रिक जीवन हो भन्नेमा समेत हामी प्रस्ट छौँ ।
नेपाली कांग्रेस मुलुक निर्माणको यस अभिभाराबाट कुनै पनि सर्तमा विचलित हुने छैन । कांग्रेसको सफलता, असफलतासँग देशको भविष्य जोडिएको छ । इतिहासको त्यो गौरवपूर्ण महान् विरासतको जगमा समुन्नत नेपाल निर्माण कांग्रेसले गर्छ, कांग्रेसकै नेतृत्व र अग्रसरतामा हुन्छ । हामी गर्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी