सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

माओवादी प्रथम विधान अधिवेशनको अभिभारा

बिहीबार, ०३ फागुन २०८०, १२ : ०४
बिहीबार, ०३ फागुन २०८०

२९ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) ले काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा विधान अधिवेशन गरिरहेको छ । 

प्रचण्डको नेतृत्वमा जनयुद्धको सञ्चालन गरी  सारा उत्पीडित नेपाली जनतालाई जगाउँदै , सङ्घर्षमा होमिन प्रेरित गर्दै , आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सक्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको जननी पार्टी पछिल्लो समय भुत्ते हुँदै गएको प्रस्ट छ ।  प्रचण्ड लगायत केही नेताहरूको राजनैतिक कला कौशलताले सरकारको नेतृत्व गर्ने अवसरमा पुगे पनि पार्टी संगठनले जिम्मेवारी अनुसार परिणाम हासिल गर्न नसकेको सर्वविदितै छ । 

 पार्टीको एक आदेशमा जीवन त्याग्न तयार हुने कमरेडहरू यतिबेला सामान्य जिम्मेवारी पूरा गर्न नसक्ने  अवस्थामा किन र कसरी पुगे ? यो प्रश्न नै सबै भन्दा मूल प्रश्न हो  । यो भन्दा पहिला विधान नभएको पनि होइन । तर लागू गर्ने सन्दर्भमा उदासीनता देखियो । जताततै विधान उलङ्घन हुने कुराले पार्टी पार्टी जस्तो हुन सकेन । कुनै समय एक माओवादी सबैमाथि भारी हुने अवस्था थियो । त्यसको कारण थियो पार्टीको विधि - विधान प्रति नेता कार्यकर्ता अत्यन्तै वफादार थियौँ र सोही अनुसार कार्य गर्थ्यौँ । 

आजभोलि विधान एकातिर नेता - कार्यकर्ता अर्को तिर । अनि कसरी बन्छ बलियो पार्टी ?  जनवादी केन्द्रीयताको पालना गर्नु पर्ने , आफ्नो कमिटीको बैठकमा उपस्थित हुनुपर्ने , तोकिएको वा निर्णय भएको काम अनिवार्य गर्नु पर्ने । लेबी नियमित बुझाउनु पर्ने, पार्टीका गोप्य नीतिको रक्षा गर्नु पर्ने , लगायतका मुलपक्षहरुलाई एका देशको कथामा सीमित पारेर कतै पार्टी बन्दैन ।

 त्यस कारण विधानमाथि छलफल गर्ने विधान पारित गर्ने नेतृत्व लगायत सम्पूर्ण कमरेडहरूले यी कुराहरु पालना गर्ने प्रतिबद्धता अधिवेशनमा र समस्त कमिटिहरुमा अनिवार्य गराउनु पर्छ । पार्टी नीति - विधि उलङ्घन गर्नेलाई कडा कारबाही गर्ने , नीतिमा अडिग रही निरन्तर काम गर्नेलाई प्रोत्साहन गर्ने गर्नु पर्छ । 

माथि नेतृत्वका वरिपरि बसेर गुणगान गाउने तर ग्राउन्डमा  निजी स्वार्थमा चुर्लुम्मै डुब्ने , स्वार्थमा आधारित गुटबन्दी गर्ने , जित्नेलाई भन्दा निकटकालाई निर्वाचनमा टिकट दिन लबिङ गर्ने, क्षमता, त्याग र लगानी भन्दा निजी चिनजानका आधारमा पद बढुवा गर्ने, धूम्रपान, मद्यपान, सांस्कृतिक विचलनातामा चुर्लुम्म डुब्नेहरूलाई नेता बनिरहने वातावरण भए सम्म पार्टी बन्दैन ।

 त्यस कारण पार्टी भित्र एक किसिमको नियमित परीक्षा प्रणाली सञ्चालन गर्नु पर्छ । जसले नेता र कार्यकर्ता असल कार्यकर्ता बनिरहोस् । पार्टीमा १५/२० प्रतिशत बेइमानहरू छन् जसले ६० प्रतिशतलाई भ्रमित पारेका छन् भने काम गर्न नसक्ने अवस्थामा पुर्‍याएका छन् ।  २० प्रतिशत जति इमानदारी पूर्वक पार्टी काम गरिरहेका छन् उनीहरूकै कारण पार्टी जीवित छ तर उनीहरूको अस्तित्व सङ्कटमा छ । 

त्यसैले अब विधानले बेइमानहरूलाई कडा कारबाही  गर्ने नीति अख्तियार गर्नु पर्छ । उनीहरू कारबाहीको दायरामा आउँदा भ्रममा परेका ६० प्रतिशत भ्रममुक्त भएर पार्टी प्रति प्रतिबद्ध भएर लाग्छन् र २० प्रतिशत ईमानदारहरुको सङ्ख्या बढेर क्रमशः उकालो लाग्दै जान्छ । 

त्यसका साथै पार्टी समय सापेक्ष बनाउनु पर्छ, पार्टी पिरामिड आकारको बनाउनु पर्छ, विचार, नीति, कार्यक्रम, योजना आजको समयका समस्याहरू समाधान प्रति अग्रसर हुन सक्ने गरी निर्माण गर्न जरुरी छ । त्यता पट्टि नेता कार्यकर्ता फर्किने चेतना विधानले दिन सक्नु पर्छ । मार्क्सवादी विचार , कम्युनिस्ट पार्टी र समाजवाद बाहेक सर्वहारा वर्गको लागि अर्को सत्य छैन भन्ने  लेनिनको भनाई स्थापित गरेर मात्र जनतालाई शक्तिशाली बनाउन सकिन्छ । यसका लागि समाजवादतिर फर्केको नीति ( सामूहिक स्वार्थतिर अग्रसर) देशलाई सुशासन , सामाजिक न्याय र समृद्धितिर लैजाने पार्टी निर्माणको सुरुवातको अभिभारा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पूरा गर्नु पर्ने छ ।  सबै यो अभिभारा पूरा गर्न लागौँ । 

लेखक माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र देवकर
सुरेन्द्र देवकर
लेखकबाट थप