सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया
काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधवार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले २१ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।
चौथो नम्बरकी ब्याट्र कविता जोशी चार रनमा अविजित रहिन् । उनले एक बलमा एक चौका प्रहार गरिन् । ओपनर सीता रानामगरले १७ रन बनाइन् । उनले १५ बलको सामना गरी दुई चौका पनि हिर्काएकी थिइन् । अर्की ओपनर कविता कुँवर एक रन बनाउँदै रन आउट भएकी थिइन् । नेपालले अतिरिक्त रूपमा पनि पाँच रन पाएको थियो । कुवेतकी बलर मारयम ओमरले एक विकेट लिइन् । सीता रानामगर प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्यसअघि कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेत धराशायी बन्न पुगेको थियो । सीताले १२.२ ओभरमा प्रियादा मुरालीको विकेट लिएकी थिइन् ।
कुवेतकी ओपनर प्रियादा मुरालीलाई सीताले २९ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेकी थिइन् । त्यतिबेला कुवेतले ५४ रन बनाएका थियो । त्यसपछि सीताले १२.३ ओभरमा कुवेतकी ब्याटर मारयम ओमरलाई पेभेलियन फर्काइन् । सीताले मारयम ओमरलाई खाता खोल्नुअघि नै काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् ।
त्यसलगत्तै सीताले १२.४ ओभरमा कुवेतकी कप्तान अमना सरिफ तारिकको विकेट लिइन् । सीताले अमना सरिफ तारिकलाई पनि खाता खोल्नुअघि नै एलबीडब्लूको धरापमा पारेकी थिइन् । सीताले चार ओभरमा केवल ११ रन खर्चिएकी थिइन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा ३१ वर्षीया सीताले लिएको विकेट सङ्ख्या ४८ पुगेको छ । उनले यही प्रतियोगितामा विकेट सङ्ख्या ५० पुर्याउने बलियो सम्भावना छ ।
नेपालका लागि कविता कुँवर र रुविना क्षेत्रीले पनि दुई–दुई विकेट लिए । कविताले चार ओभरमा नौ र रुविनाले चार ओभरमा १० रन खर्चिए । कुवेतका दुई ब्याटर भने रन आउट भएका थिए ।
कुवेतका लागि ओपनर प्रियादा मुरालीले सर्वाधिक २९ रन बनाइन् । उनले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । सान्थी बालासुब्रमन्यम र खादिजा खलिलले १३–१३ रन जोडे । कुवेतका अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतले अतिरिक्त रूपमा चार रन पाएको थियो ।
नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टर फाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई शिक्षामन्त्रीले भनिन्,– आन्दोलन होइन कक्षामा जानुस्
-
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए
-
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ