शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
वसन्त पञ्चमी

वसन्त पञ्चमीको महिमा

बुधबार, ०२ फागुन २०८०, १३ : ०९
बुधबार, ०२ फागुन २०८०

यस वर्ष वसन्त पञ्चमी वा श्री पञ्चमी २०८० फागुन २ गते बुधबार परेको छ । यसै दिनदेखि कृषकहरूको हल्सारो सुरु हुन्छ । सरकारी स्तरबाट वसन्त श्रवण र जनस्तरमा सरस्वती पूजा हुने गर्दछ । संयोगले यसै दिन प्रेम दिवस (भ्यालेन्टाइन डे) पनि परेको छ ।

वसन्त पञ्चमी विश्वका हिन्दुहरूको महत्त्वपूर्ण पर्व हो । यस दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वैदिक तिथिपत्रानुसार वसन्तऋतु मधु (चैत्रमास) मासमा मनाइन्थ्यो । जसमा विष्णु अनि कामदेव र रतिलाई पूजा गरिन्थ्यो । यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । यसलाई सायन कालगणना पनि भनिन्थ्यो । वेदाङ्गज्योतिषको वैदिक तिथिपात्रो अनुसार मधु (सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो । जलकण छरिनेबित्तिकै कम्पन हुन थाल्यो । यसपछि वृक्षहरूका बिचबाट एक अद्भुत शक्तिको उत्पत्ति हुन सुरु हुन्थ्यो र नयाँ सृष्टिकार्यको थालनी हुन्थ्यो भनेको पाइन्छ । 

पछि माघ महिनाको निरयण चान्द्रयाण पञ्चाङ्ग (वार्हस्पत्य सम्वतसरको निरयण) अनुसार माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । यसलाई निरयण कालगणना पनि भनिन्छ । यही परम्परा अनुुसार अचेल वसन्तपञ्चमी भनिन्छ । 

यस सम्बन्धी विभिन्न पुराणहरूमा यस्तो पनि पाइन्छ– एकपटक ऋतुहरूका राजा ऋतुराज वसन्तलाई अन्य पाँच ऋतु जम्मा भएर सम्मान कार्यक्रमको आयोजना गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट ८–८ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही माघशुक्ल पञ्चमी (वसन्त पञ्चमी वा सरस्वती पूजा)का दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीका नामले चिनिने मान्यता छ । यसैले नेपालका कृषकहरूमा श्रीपञ्चमी हल्सारो नाग पञ्चमी मैजारो भन्ने चलन छ । यसैले श्रीपञ्चमीका दिन अलिकति भए पनि खेत जोत्ने परम्परा छँदै छ । यस दिनदेखि खेत बारीमा काम सुरु गरेर नागपञ्चमीमा समाप्त गरी भ्यागुतालाई पूजा गर्ने परम्परा पनि कायमै छ ।

वसन्त ऋतु सुरु नहुँदै वसन्त पञ्चमी वा वसन्तउत्सव मनाउँदा ऋतु वा कालको प्राकृतिक नियमको उल्लङ्घन भयो कि भन्ने साँचो पनि रहेको पाइन्छ । यसरी यो वसन्त पञ्चमी वा श्रीपञ्चमी वा सरस्ती दिवसलाई वेदाङ्ग ज्योतिषकालमा वैदिक तिथिपत्रानुसार वसन्तऋतु मधु (चैत्रमास) मासमा मनाउन उपयुक्त हुन्छ भन्ने विद्वान्हरूको मत पाइन्छ । 

वसन्त ऋतु सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ऋतु हो । यही वसन्त ऋतुमा वनस्पतिहरूमा नयाँ पालुवा पलाउँछन्, पुष्पबाट सुगन्ध फैलिन्छ, नयाँ बहार आउँछ, चारैतिर रंगी–विरगी पुतलीहरू उड्न थाल्छन्, कोइलीहरू कुहुँ–कुहुँ गर्दछन्, चराहरूले नयाँ गुडमा फुल पार्छन्, नयाँ वर्ष सुरु हुन लाग्छ । नेपालमा राज्य स्तरमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्छ । यसैले वसन्त ऋतुलाई ऋतुराज वसन्त भनिएको भन्ने पाइन्छ । वसन्त पञ्चमी वा श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ ।

  • केही कथन

सृष्टिको प्रारम्भिक कालमा भगवान् विष्णुको आज्ञानुसार यही वसन्त पञ्चमीका दिन ब्रह्माले आफ्नो कमण्डलुबाट मन्त्रोच्चारण गर्दै पृथ्वीमा जल छरे । तब तिनै मन्त्रका प्रभावले वाणीकी देवी सरस्वती उत्पन्न भइन् । मन्त्रोच्चारणबाट संगीतको उत्पत्ति भयो । यसैकारण यिनलाई संगीतकी देवी भन्न थालियो । यसरी सरस्वती आविर्भाव भएकाले वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवका रूपमा सरस्वती पूजा गरी मनाइन्छ । यसरी सृष्टिका सर्जक ब्रह्माको मुखबाट उदय भएकीले सरस्वतीदेवीलाई वाग्देवी वा वाणीकी देवी भनिन्छ । यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहिआएको छ ।

अर्को एक कथन अनुसार द्वापर युगमा श्रीकृष्णले सरस्वतीसित खुसी भएर वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भनी उनलाई वरदान दिएका थिए । यही मान्यता अनुसार वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा सुरु भयो, जो आजसम्म चलिरहेछ । 

अझ अर्को कथन अनुसार त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीरामले उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । जाँदै गर्दा मध्य प्रदेशको दण्डकारण्यमा शवरीको कुटीमा पुगे । त्यो दिन वसन्त पञ्चमीकै  दिन थियो ।

ब्रह्माका चार हात भएजस्तै सरस्वतीको पनि चार हात छन् । तीमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अर्कोमा अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएकी, सेतो राजहाँसको वाहन भएकी, हरदम मानव जातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन् । भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती 

कवच’का साथै निम्न मन्त्रबाट सरस्वती स्तुति गरिन्छ ।  

सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी । 

हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती । 

तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। २ ।।  

पञ्चमं तु जगन्माता षष्टं वागीàरी तथा । 

सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।

नवमं बुद्धिदात्री च दशमं बहृमचारिणी । 

एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।। ४।।

  • पुस्तक पूजा स्तोत्र 

शुक्लां ब्रहृमा विचार सार पदमा माध्याम् जगत् व्यादिनी । 

वीणा पुस्तक धारिणी मभयदाम् जाड्यान्दकारा पाहम् ।। 

हस्तेस्फाटिका मालिकां विदधतिं पéांसने संस्थिताम् ।  

वन्देतां परमहेश्वरीं भगवती बुद्धिम् प्रदाम् शारदां ।। 

या कुन्देन्तु  तुसार हार धवला यात्रशुव्र ंबस्त्रा वृता । 

या वीणा वरदण्ड मण्डित करा या श्वेत पéासना ।। 

या ब्रहृमा च्यूत शंकरा प्रवृतिभै देवै सदा वन्दिताम् । 

सामां पातु सरस्वती भगवती निशेष्य चाहाड्या पाहा ।।

यसै गरी नवदुर्गाको सप्तमीका दिन पनि सरस्वतीको पूजा गर्ने विधि रहेको पाइन्छ । यस दिन पनि विद्यासाधक, विद्यार्थी, नव अक्षरारम्भीहरूले  पुस्तक, कपी, कलम, मसी आदि वस्तुहरू सरस्वतीलाई चढाउँछन् । आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन् ।

यी नै वाग्देवीबाट व्यास, वाल्मीकि, याज्ञवल्क्य, कणाद, पाणिनी, शङ्कराचार्य र सन्त तुलसीदास आदि सिद्धि प्राप्त गरे भन्ने पाइन्छ ।

यसै दिनबाट बालबालिकाहरू अक्षारम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन् । सभ्यता र संस्कृतिकी स्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनुपर्दैन । स्वर, सङ्गीत, ताल, लयकी स्रोत ‘सा रे ग म प ध नि सा’ र कवितामा ‘य मा ता रा ज भा न स ल गा’देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन् । हिन्दु सनातनीहरू यिनलाई सरस्वती भन्छन् भन बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका भन्छन् ।

नेपालमा सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौं उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको थाकलमाठ सरस्वती मन्दिर, हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ ।

तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धुमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ ।

संस्कार, सभ्यता र संस्कृतिकी स्रोत महादेवी सरस्वती जयन्तीका दिन विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्छन् । मूर्ति वा उनका चित्र अङ्कित तस्बिरहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई आदि अर्पण गर्छन् । 

उत्साह, लगनशीलता र अथक् प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन् । जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद (वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न । भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।

  • पौराणिक महत्त्व

यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम त यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दण्डकारण्य पनि थियो । यहीँ शवरी नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध–बुध हराई र चाखेर मीठा बयर फल रामलाई खुवाउन लागिन् । 

प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई राम कथाका सबै गायकहरूले आ–आफ्नो ढंगमा प्रस्तुत गरेका छन् । दण्डकारण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको दाङ जिल्लामा त्यो स्थान छ, जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिनै राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यही बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप