२०७१ सालदेखि हराएका समीरलाई बेपत्ता पारिएको ठहर, प्रेमिका र सहकारीका अध्यक्ष दोषी
काठमाडौँ । गत बिहीबार (माघ २५ गते) साँझपख एक ५६ वर्षीया महिला जिल्ला सरकारी वकिलको कार्यालयमा लड्डु बाँड्दै गरेको भेटिइन् । ९ वर्षदेखि बेपत्ता छोराको सम्बन्धमा काठमाडौँ जिल्ला अदालतले बेपत्ता पारिएको कसुरमा छोराकै प्रेमिका र काम गर्ने संस्थाका अध्यक्षलाई दोषी ठहर गरेसँगै त्यसकैको खुसीयालीमा ती महिला सरकारी वकिल कार्यालयका कर्मचारीहरूलाई लड्डु बाँडेकी थिइन् । ती महिला थिइन्, गोरखा जिल्ला अस्राङ गाविस घर भई हाल काठमाडौँको मनमैजूमा रहेको हिलेटोलमा बस्ने श्रीमाया आले ।
श्रीमाया आलेको छोरा समीर आले अहिले पनि बेपत्ता नै छन् । तर पनि श्रीमायाको अनुहारमा त्यस दिन खुसी देखिन्थ्यो । त्यही खुसी बाँड्न जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेकी थिइन् । छोराको खोजी र घटनामा संलग्नहरूमाथि छानबिन र कारबाहीको माग गर्दै लामो समयदेखि विभिन्न निकाय धाइरहेकी श्रीमाया आलेलाई कसैले साथ नदिँदा अन्तिममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले छोरालाई बेपत्ता पार्नेहरू दोषी ठहर गरेको भन्दै श्रीमाया खुसी बाँड्न त्यहाँ पुगेकी थिइन् ।
जिल्ला सरकारी कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा उपन्यायाधिवक्ता सीताराम अर्याल र चन्द्र सन्जेल पनि श्रीमायाको साथमै थिए । उनीसँगै थिए, कार्यालयका नायब सुब्बा जगतबहादुर पाठक ।
श्रीमायाले लड्डु बाँड्नेसम्मको स्थितिमा आइपुग्न ९ वर्ष संघर्ष गर्नुपर्यो । श्रीमायाका २३ वर्षका छोरा छोरा बेपत्ता पार्नेहरुविरुद्ध दायर मुद्दामा काठमाडौँ जिल्ला अदालतले बेपत्ता पारेको कसुरमा कसुर ठहर गरेको थियो । कसुर ठहर भए पनि सजाय निर्धारण गर्न फागुन ३ गतेको पेसी तोकिएको छ । लामो संघर्षपछि मिलेको आंशिक सफलतामा आंशिक खुसी बोकेर श्रीमाया सरकारी वकिलको कार्यालयमा पुगेकी थिइन् ।
- समीर आले कसरी भए बेपत्ता ?
गोरखाको साबिक अस्राङ गाविस वडा नम्बर ८ स्थायी ठेगाना भएका २३ वर्षीय (२०७१ सालमा) समीर आले गोङ्गबुमा ठेगाना रहेको नेक्टर बचत तथा ऋण सहकारीमा सुरुमा कलेक्टरको रूपमा प्रवेश गरी पछि व्यवस्थापक (म्यानेजर)सम्म बने । २०६९ सालको अन्त्यदेखि काम गर्न थालेका समीर २०७१ सालमा त्यहाँको म्यानेजरसम्म भइसकेका थिए ।
उनको आमाको बङ्गुर फार्म थियो भने आम्दानी पनि राम्रै थियो । समीरलाई काम सिक्न हुन्छ र पकेट खर्च हुन्छ भनेर समीरकी आमा श्रीमाया आलेले नेक्टर सहकारीमा काममा लगाइदिएकी थिइन् । नातामा देवर पर्ने एकबहादुर आले अध्यक्ष रहेको उक्त सहकारीमा छोरा समीरलाई तलब थोरै दिएपछि आमाले काम छाड्न पनि लगाएकी थिइन् । तर अर्को मान्छेलाई काम सिकाइदिन भन्दै सहकारीले केही समय काम गरिदिन समीरलाई आग्रह गरेको श्रीमायाले रातोपाटीलाई बताइन् ।
सधैँझैँ समीर आले २०७१ साल साउन ९ गते पनि बिहान ९ः३० बजे कार्यालय जान भन्दै घरबाट निस्किए । तर सोही दिन अपराह्न १ः३० बजे सोही सहकारीमा काम गर्ने मनोज आले समीरलाई खोज्न भन्दै घरमै आइपुगे । घरबाट कार्यालय हिँडेका छोरो अफिस नै पुगेको छैन भन्ने सुनेपछि श्रीमायाले छोरा समीरलाई तत्कालै फोन गरिन् । तर समीरको मोबाइलको स्वीच अफ गरिएको थियो ।
उनले छोरालाई निरन्तर फोन सम्पर्क गर्ने प्रयास गरिरहिन् । भोलिपल्ट दिउँसो १२ बजेतिर बल्ल उनीसँग सम्पर्क भयो । फोनमा कुरा हुँदा समीरले ‘ममी म मर्छु कि बाँच्छु थाहा छैन, बाँचे भने घर आउँछु’ मात्र भन्न पाए । कुराकानी हुँदै गर्दा समीरलाई कुनै व्यक्तिले पछाडिबाट गाली गर्दै फोनमा थप बोल्न नदिएको श्रीमाया आलेको भनाइ छ ।
छोराले मर्छु कि बाँच्छु भनेपछि श्रीमाया आलेले तत्कालै महानगरीय प्रहरी वृत्त बालाजुमा छोरा समीरको खोजीका लागि निवेदन दिइन् । त्यसलगत्तै प्रहरीले नेक्टर बचत तथा ऋण सहकारीका अध्यक्ष एकबहादुर आले लगायतका व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्यो । सोधपुछ क्रममा समीरको सङ्गीता खड्का भन्ने प्रेमिका रहेको र समीरका सम्बन्धमा उनलाई थाहा हुनसक्ने भनियो । त्यसपछि सङ्गीतालाई पनि प्रहरी कार्यालयमा बोलाइयो । छलफलमा सङ्गीताले समीरसँग मुग्लिङमा भेट गरेको तर त्यसपछि केही थाहा नभएको बयान दिइन् ।
तर साउन १० गते राति करिब ११ बजेतिर सङ्गीता खड्काले समीरका साथी विश्व अर्याललाई एसएमएस गरी समीरसँग मुग्लिङमा भेट भएको, आफूले ५ हजार रुपैयाँ र सुनको सिक्रीसमेत दिएको र समीरले कसैलाई नभन्नु भनेको कारण ढाँटेको भन्ने जानकारी गराइन् । दिउँसो समीरले आमासँग कुरा गर्दा आफू सँगै भएको जानकारी पनि सङ्गीताले विश्वलाई गराइन् ।
तर साउन ११ र १२ गते पनि समीर काठमाडौँ नफर्किएको र आमा श्रीमायालाई पनि सम्पर्क नगरेपछि आमा श्रीमाया आलेले साउन १३ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि लिखित निवेदन दिइन् । त्यसपछि खोजबिन सुरु गरेको प्रहरीले साउन १८ गते सङ्गीता खड्कालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा ल्यायो । त्यसपछि सङ्गीतासँग बयानसमेत लिइयो ।
तर त्यो बयान कहाँ पुग्यो भन्ने न अनुसन्धानको फाइलमा छ, न त्यतिबेलाको अन्य कागजात नै छ । एक रात हिरासतमा राखी साउन १९ गते सङ्गीतालाई साथी मञ्जु बस्नेतको जिम्मा दिएर पठाइएको थियो ।
श्रीमायाका अनुसार प्रहरी हिरासतमा हुँदा सङ्गीताले आफू मुग्लिङ पुगेर समीरलाई भेटेको, त्यहाँ पुगेर नगद ५ हजार रुपैयाँ र सुनको सिक्री दिएर आएको, चितवनमा १६–१८ लाख लिनुछ, त्यो पैसा लिन जान लागेको भन्ने जानकारी गराएको र समीरको सिमकार्ड आफूले र आफ्नो सिमकार्ड समीरले चलाएको लगायतको कुरा गरेको रातोपाटीलाई बताइन् ।
त्यसपछि प्रहरी कार्यालयमै छलफल हुँदा सङ्गीताले ५ दिनभित्र समीरलाई काठमाडौँ ल्याउँछु भनेपछि कागज गरेर छाडिएको तर तत्कालीन प्रहरी हवल्दार गोविन्द चौलागाइले त्यस्तो कागज गर्न नमानेको श्रीमायाले सुनाइन् ।
तर त्यसपछि न समीर आए, न सङ्गीताले नै ल्याइन् । छोराको खोजीका लागि श्रीमाया दैनिकजसो नेक्टर बचत तथा ऋण सहकारी संस्थामा जाँदा संस्थाका अध्यक्ष एकबहादुर आलेले कहिले पोखरामा छ त कहिले वीरगन्जमा छ भनी आफूलाई होल्ड गरेको र खोजीका लागि आग्रह गर्दा ‘पहिले अडिट गरौँ, त्यसपछि खोजी गरौँला’ भनी भन्ने गरेको बताइन् ।
पछि नेक्टरका अध्यक्ष आलेले समीरले आफ्नो सहकारीको करिब ४५ लाख रुपैयाँ हिनामिना गरेको र त्यही रकम तिर्नुपर्छ भनेर भागेको श्रीमायालाई सुनाए । तर श्रीमाया त्यो कुरामा सहमत भइनन् । बरु संस्थाका अन्य पदाधिकारीले गरेको वित्तीय अपराधको ढाकछोप गर्न आफ्नो छोरालाई बेपत्ता बनाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतको स्थानमा निवेदन बोकेर पुगिन् ।
- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सङ्गीता खड्काले दिएको बयानको केही अंश यस्तो छ :
मिति २०७१।०४।०९ गते बिहान अन्दाजी १० बजे मैले समीर आलेलाई फोन सम्पर्क गरी तिमी कहाँ छौ भनी सोध्दा निजले ‘तँलाई के मतलब ?’ भनी कुनै कुराकानी नगरी फोन रिसाएर काटी दिनु भएको थियो । सोही दिनको २।३ बजेतिर मैले निजलाई पुनः फोन गरी कहाँ हो ? भनी सोध्दा निजले अफिसमा छु भनी जवाफ दिएका थिए । तर, निजले फोन गर्दा मैले निज गाडीमा चढेको जस्तो आवाज सुनेकोले निजले भनेको कुरामा विश्वास लागेन । उक्त कुराकानी पछि मैले दिउँसो पुनः फोन गर्दा निजको फोन नम्बरमा सम्पर्क नै हुन सकेन ।
सोही दिनको राति अन्दाजी १०।११ बजेतिर समीर आलेले मलाई फोन गरी आफू मुग्लिङमा भएको र १०/१२ हजार रकम आवश्यकता भएको भनी रकम माग गरेपछि मसँग त्यति रकम छैन, किन मागेको भन्दा निज रिसाई जति छ त्यति दे, सँगै खाजा खाने एकजना साथीले सहकारीको रकम हिनामिना गरी चितवन गएकोले सोही पैसा असुल गर्न चितवन जाँदैछु भनी समीर आलेले मलाई जानकारी गराएपछि म रकम व्यवस्था गरेर भोलि फोन गर्छु भनी समीर आलेलाई जवाफ दिएकी थिएँ । मिति २०७१।०४।१० गते बिहान रु. ३,०००।– कारखानामा सँगै काम गर्ने साथी रेनु श्रेष्ठसँग माग गरेको र आफूसँग भएको रु. २,०००।- गरी जम्मा रु ५,०००।– को व्यवस्था भएपछि करिब बिहान ८ बजे समीरलाई फोन गर्दा निजले भने अनुसार उक्त रकम साथमा लिई काठमाडौँ देखि करिब ११ बजे दिउसो माइक्रो चढी मुग्लिङ पुगी सोही स्थानमा भएको पेट्रोल पम्प नजिकैको होटल बाहिर समीर आलेसँग भेट गरी सो रकम र मेरो सुनको सिक्री पौने एक तोला निजलाई दिएकी थिएँ ।
उक्त भेटका क्रममा हामीले सँगै खायौ । म बाथरुम गएको बेलामा समीरले मेरो मोबाइलको सिम झिकी आफ्नो सिम मेरो मोबाइलमा हालिदिएको रहेछ पछि हामी छुट्टिने बेलामा सिम चेन्ज गरेको कुरा निजले मलाई भनेको थियो । निज समीर आलेले फाइनान्सको हिसाब किताब आउँदो असार मसान्तसम्म मिलाई सक्नु पर्ने भएको, १७।१८ लाख रुपैयाँ चितवनको मान्छेसँग असुल गर्न नसके हिसाब मिल्न नसक्ने, उक्त रकम हिनामिना भएको कुरा अफिसको कर्मचारीहरू र अन्य कसैलाई थाहा नभएको, हिजो रक्सी खाएर आफूसँग साथमा भएको रकम सकिएको बाँकी रकम घरमै छोडेकोले खर्च माग गरेको, उक्त मसँग माग गरेको रकम नदिएको भए आफूले आत्महत्या गर्ने कुरा समेत भनेको मैले समीर आलेलाई सँगै घर जाऊँ पैसा व्यवस्था घरबाट भइहाल्छ नि भन्दा निजले पुनः चितवन पुगी पैसा असुल गर्ने भनी सुनाएको थियो । पैसा असुल नहुन्जेल ४।५ दिन चितवनमा भएको आफ्नो दिदीको घरमा बस्ने भनेको थियो । को दिदी ? नाम के हो ? मलाई केही थाहा भएन । त्यसै क्रममा निज समीरले मलाई इन्डिया जाऊँ होटलमा काम पाइन्छ, म काम गरुँला, कोठा लिएर उतै बसौला, एक दुई वर्षमा फाइनान्सको लफडा मिलिहाल्छ, त्यसपछि फर्कौला भनेपछि मैले यस्तो कुरा नगर्नु म जान्न, तपाईंको सर्टिफिकेट नागरिकताहरू पनि छैन, तपाईंलाई कसले काम दिन्छ भन्दा उसले सानोतिनो काम जसले पनि दिइहाल्छ सँगै जाऊ भनेकोमा मैले नमानेपछि तिमी घर जाऊ घरमा कसैलाई केही नभन भनी समीर आलेले कसम समेत खुवाएको र मेरै सामुन्ने आफ्नो मम्मीलाई पनि फोन गरेर कसैलाई पनि फोन नगर्नु, प्रहरीमा पनि खबर नगर्नु, साथीकोमा छु, भोलि बिहान आउँछु भनी जानकारी गराउनु भएको थियो ।
त्यसपछि समीर आले बेलुका ५ बजेतिर गाडी चढी पोखरातर्फ गएको थियो भने म जिप चढी काठमाडौँ फकिएकी थिएँ । म मलेखु पुल कटेपछि मैले समीर आलेलाई फोन गरी कहाँ पुग्नुभयो भन्दा निजले आफू खाजा खाने ठाउँमा भएको, चढेको गाडी बिग्रिएको भनी जवाफ दिएको थियो । मलाई विश्वास दिलाउन निजले आफूसँगै बसको सिटमा भएको पुरुष व्यक्तिलाई समेत फोन दिई मसँग कुरा गराएको थियो । म थानकोट पुगेपछि फेरि मैले समीर आलेलाई फोन गरी दिदीकोमा पुग्नु भयो भनी सोध्दा निजले छैन, पुगेपछि फोन गर्छु, धेरै फोन नगर भनेर भन्नुभयो । म उक्त दिनको बेलुका ९ बजे डेरा कोठामा पुगे । डेरामा पुग्ने बित्तिकै समीर आलेलाई फोन गर्दा निजले आफू अझै बाटोमा नै भएको, गाडी बिग्रिएको भने त्यसपछि समीरको साथी विश्वले फोन गरी समीरको मम्मीले चिन्ता गरेकी छिन् समीर त्यहाँ आएको छ ? भनी सोध्दा मैले थाहा छैन भने जवाफ दिएकी थिए । मैले पुनः समीरलाई फोन गरी कहाँ पुग्नुभयो भनी सोध्दा निजले अझै दिदीको घरमा नपुगेको बताएपछि डेढ दुई घण्टामा पुग्नुपर्नेमा अझै नपुगेकोले शङ्का लागि मैले एसएमएस मार्फत विश्वलाई मैले आज समीरलाई मुग्लिङमा भेटे, निजलाई रकम र सुनको सिक्री समेत दिएको, समीरले कसैलाई नभन्नु भनी कसम समेत खुवाएको हुनाले थाहा छैन भनी झुटो बोलेको भनी जानकारी गराएकी थिएँ ।
त्यसपछि पुनः निज कहाँ पुगे भनी राति १२ बजे फोन गर्दा निजले अब फोन नगर, म दिदीकोमा पुगेपछि आफै फोन गर्छु भनेका थिए । भोलिपल्ट मिति २०७१।०४।११ गते बिहान ६ बजे समीरले मलाई फोन गरी आफू चितवनमा नगई वीरगन्जमा पुगेको, साथमा साथी पनि भएको, निद्रा लागेको हुँदा सुत्न लागेको, उठेपछि फोन गर्ने भनी जानकारी गराई फोन काटेका थिए । निजले पुनः १० बजे बिहान मलाई फोन गरी खाना खाएर काठमाडौँ फर्कने भनी जानकारी गराएका थिए । पैसा असुल गर्न चितवन नजाने, काठमाडौँ नै फर्कने, फर्केपछि तँ सँग लिएको रकम सिक्री सबै फिर्ता दिन्छु, अहिलेलाई त्यो सिक्री बेच्नुपर्यो, बेच्न जाँदा सुन पसलेले चोरेर ल्याएको हो की भन्ला, मेरो चाँदीको ब्रासलेट र औँठी पनि बेच्नुपर्छ की के हो ? भनी समीरले भन्दा मैले सुन बेच्ने ठाँउमा पुगी मलाई फोन गर्नुहोला, त्यो चाँदीको औँठी समेत बेच्नु पर्दैन भन्ने कुराकानी करिब ११ बजे भएको थियो ।
निजले एउटा सुन पसलमा पुगेर फोन गरेकोमा मैले उक्त सुनको तौल ७५ लाल भएको तर पटक पटक चुँडिएर अहिले ६५ लाल जति होला भनी जानकारी करिब १२ बजेतिर दिएकी थिएँ । फेरि एकछिन पछाडि समीरले फोन गरी तेत्तीस हजार चानचुनमा रकममा उक्त सुन बिक्री गरेको, म एकजोर कपडा किनी चेन्ज गर्छु, चितवन नगई सिधै काठमाडौँ फर्कन्छु, फर्कने गाडी ५ बजे वीरगन्जबाट छुट्छ, भोलिपल्ट बिहान ९ बजेतिर आई पुग्नेछु, फोनमा पर्याप्त चार्ज नभएकोले फोन नगर्नु, काठमाडौँ नयाँ बसपार्क आइपुगेपछि फोन गर्छु भनी फोन काटेका थिए । मिति २०७१।०४।११ गतेको करिब १२ बजे दिउँसोको यही नै हामी बिचको अन्तिम कल थियो । त्यसपछि कुनै फोन सम्पर्क भएन । । मिति २०७१।०४।१२ गते बिहान निज समीर काठमाडौँ बसपार्क फर्कने भनेको समय करिब ९ बजेतिर म काठमाडौँ बसपार्क पुगी काउन्टरमा वीरगन्जबाट आउने बसको बारेमा सोध्दा बस आइसकेको हुनुपर्ने जानकारी पाएँ । कति नम्बरको बस हो ? समीर फर्किनु भयो वा भएन सो सम्बन्धमा भने केही थाहा भएन ।
सङ्गीताले आफ्नो बयानमा चितवन जान्छु भनी हिँडेको भने पनि समीर पोखराको गाडी चढेको भन्ने बयान सीआईबीमा गरेकी छिन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमै नेक्टर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एकबहादुर आले लगायतसँग पनि बयान भयो, तर समीरको विषयमा कुनै प्रगति भएन ।
यता अपराध महाशाखा लगायतको टोलीले पनि समीरको खोजी गर्यो । उक्त खोजीका क्रममा समीर आले २०७१ साउन १० गते बिहान १०ः४५ बजे वीरगन्जको घण्टाघर क्षेत्रमा देखियो र सोही नम्बरबाट दुईवटा नम्बरमा फोन गरेकोसमेत भेटियो । त्यसपछि अपराध महाशाखाको प्रहरी, बालाजु प्रहरी र सहकारीका अध्यक्ष एक बहादुर आलेसमेत वीरगन्ज गई सोधीखोजी गरेको देखिन्छ । यद्यपि त्यसपछि पनि न समीरको पत्ता लाग्छ, न ती व्यक्तिहरूबारे थप खोजी नै हुन्छ ।
सुरुमा सङ्गीताले चलाएको र पछि समीरले लगेको भनिएको मोबाइलबाट अन्तिम पटक ९८०७२४१११३ र ९८०९१४०९४७ नम्बरका मोबाइलहरूमा सम्पर्क भएको, उल्लेखित मोबाइल नम्बरहरू वीरगन्जका मुन्ना साह र मनोज साहको नाममा जारी भएको बुझिन आएको र वीरगन्ज गई निज व्यक्तिहरूसँग बुझ्दा उल्लेखित नम्बरहरू निजहरूका भाइ भनिने प्रकाश साहले प्रयोग गर्ने गरेको र साह भारतको सुरतमा कपडा उद्योगमा काम गरी बस्ने गरेको भन्ने बुझिन आएको भन्ने अनुसन्धानबाट खुलेको थियो । यद्यपि ती व्यक्तिका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा वा अन्य निकायले थप खोजी नै गरेन । प्रकाश साह नाम गरेका व्यक्तिको खोजी नगर्दा पनि आधा अनुसन्धान त्यहीँबाट बिग्रिएको थियो ।
यता अध्यक्ष आलेले समीरको खोजीमा तत्परता नदेखाएको, जाहेरी दिन खोज्दा पन्छाउने गरेको र कहिले पोखरामा छ त कहिले वीरगन्जमा छ आउन मानेन भनी भन्ने गरेको लगायतका कारणबाट छोरा समीरलाई आले र सङ्गीता खड्काहरूले बेपत्ता बनाएको भन्दै जाहेरी लिएर प्रहरी कार्यालयमा धाउन थालिन् । तर तत्कालीन काठमाडौँ परिसर हालको जिल्ला प्रहरी परिसर काठमाडौँले प्रमाण नपुग्ने भन्दै बेपत्ता बनाएको कसुरमा जाहेरी लिन नै मानेन । प्रहरीले पटकपटक जाहेरी फिर्ता गरेपछि श्रीमाया जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ आइन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका नायब सुब्बा जगतबहादुर पाठकसँग भेट गरिन् । श्रीमायाको कुरा सुनेपछि पाठकले उक्त जानकारी तत्कालीन कार्यालय प्रमुखलाई सुनाए । तत्कालीन कार्यालय प्रमुखले यस विषयमा अनुसन्धान गरी अभियोजन गर्ने प्रयोजनका लागि लेखी पठाउनु भन्दै जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेललाई जिम्मा दिए । पौडेलले २०७७ चैत १९ गते जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखी पठाए । त्यसपछि बल्ल प्रहरीले जाहेरी दर्ता गर्यो र अनुसन्धान सुरु गर्यो । करिब ६ महिनाको अनुसन्धान पछि प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७८ असोज ४ गते एक बहादुर आले र सङ्गीता खड्कालाई प्रतिवादी बनाई काठमाडौँ जिल्ला अदालतमा व्यक्ति बेपत्ता पार्ने कसुरमा मुद्दा दायर गर्यो । सुरुवाती समयमा एकबहादुर र सङ्गीता दुवैलाई फरारमा राखेर मुद्दा दायर गरिएको थियो ।
२०७८ असोज ४ गते दर्ता भएको उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले व्यक्ति बेपत्ता पार्ने कसुरमा प्रतिवादी एकबहादुर आले र सङ्गीता खड्कालाई दोषी ठहर गर्ने फैसला सुनाएका छन् । माघ २३ गते कसुर ठहर भए पनि ३ वर्षभन्दा बढी कैद सजाय हुनसक्ने भएकाले सजाय निर्धारणका लागि आगामी फागुन ३ गतेको पेसी तोकिएको छ ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य
प्रतिवादीमध्ये नुवाकोटको साबिक मदानपुर गाविस २ तथा हालको बेलकोटगढी नगरपालिका १३ की २८ वर्षीया सङ्गीता खड्का फरार नै छिन् भने साबिकको बोर्लाङ गाविस ३ तथा हालको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ आले गाउँ स्थायी ठेगाना भएका एकबहादुर आले भने काठमाडौँ जिल्ला अदालतबाट ५ लाख धरौटीमा थुनामुक्त भएका थिए । आले सामाखुसीमा रहेको पुष्पकुञ्ज हाइस्कुलका सञ्चालक तथा प्रधानाध्यापक समेत हुन् । उनीहरूको सम्बन्धमा अब फागुन ३ गते सजाय निर्धारण हुन लागेको छ ।
तपाईं उनीहरू दोषी ठहर भएकैमा खुसी हो कि थप केही अपेक्षा छ भन्ने रातोपाटीको प्रश्नमा श्रीमायाले भनिन्, ‘अझै छोरा कहीँ कतै बन्धक पो छ कि भन्ने आशा लाग्छ । कि छोरा मरिसक्यो वा मारियो भनिदिनुपर्यो, कि छोरा आइदिनुपर्यो । छोरा जिउँदै छ कि भन्ने आशा जीवितै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ
-
राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य