कालीमाटी बजारमा कति स्थलबाट हुन्छ कारोबार ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरभित्र ७ स्थलबाट तरकारी, फलफूल, माछा र बीउ विजनको कारोबार हुँदै आएको छ । बजारभित्र थोक कारोबार स्थल, खुद्रा कारोबार स्थल, कृषक कारोबार स्थल, होल्डिङ/अक्सन यार्ड, माछा कारोबार स्थल, फलफूल कारोबार स्थल र अन्य गरी ७ स्थल छुट्याइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको वार्षिक पुस्तिका २०७९/०८० का अनुसार बजार परिसरमा थोक कारोबारको बाहुल्यता रहेको छ । नियमावलीमा भएको प्रावधान अनुसार ९ प्रतिशत थोक कारोबार स्थल सहकारी संघ–संस्था तथा कृषक समूहको लागि व्यवस्था गरिएको छ ।
थोक कारोबार स्थललाई पनि आलु प्याज, ताजा तरकारी, फलफूल तथा माछा कारोबारको आधारमा वर्गीकरण गरिएको छ । हाल थोक बजारका कारोबार स्थलमा सहकारी कृषक समूह सहित ४ सय ७५ व्यवसायी कार्यरत छन् । थोक बजार स्थलका प्रमुख ग्राहक अन्य बजारका थोक तथा खुद्रा व्यवसायी, साइकल व्यापारी, होटेल, रेस्टुरेन्ट, होस्टेल, स्कुल तथा आम उपभोक्ता प्रमुख रूपमा छन् । थोक बजार स्थलभित्र न्यूनतम कारोबारको परिमाण ५ केजी निर्धारण गरिएको छ ।
खुद्रा कारोबार स्थल
तोकिएको थोक परिमाणभन्दा कम खरिद गर्न चाहने उपभोक्ता र क्रेताका लागि ताजा तरकारी, आलु, प्याज, कागती, र अदुवा लसुन जस्ता मसलाजन्य वस्तुको कारोबार हुने खुद्रा बजारको पनि व्यवस्था छ । हाल खुद्रा बजारका कारोबार स्थलमा ६७ जना व्यवसायी कार्यरत छन् ।
कृषक कारोबार स्थल
सो प्रतिवेदन अनुसार स्थानीय कृषकले उत्पादन गरेको ताजा तरकारी तथा हरिया सागपात कृषक स्वयम्ले बेचबिखन गर्नका लागि खुद्रा बजारसँगैको सेड तथा सो वरिपरिको खुला कारोबार स्थल कृषक बजारको लागि छुट्याइएको छ । कृषक बजार बिहान सबेरैदेखि १० बजेसम्म र अपराह्न ३ बजेदेखि अबेर साँझसम्म गरी दैनिक रूपमा दुई सिफ्टमा सञ्चालन हुने गर्दछ । कृषक बजार उपयोग गरे बापत प्रति सिफ्ट २५ रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था छ । कृषक बजारमा विशेषतः काठमाडौँ उपत्यकाकै उपज पाइन्छ ।
होल्डिङ/अक्सन यार्ड
ठुलो परिमाण उपज लिई आउने र स्वयम् बिक्री वितरण गर्न चाहने नेपाली कृषकहरूले उत्पादन गरेका उपज बिक्रीका लागि भवनका १२ वटा स्टलहरूलाई होल्डिङ/अक्सन कक्षका रूपमा आ.व. २०७७/७८ देखि सञ्चालनमा ल्याइएको छ । होल्डिङ/अक्सन यार्ड सञ्चालन कार्यविधि बमोजिम तोकिएको शुल्क र विधि अनुसार कृषकले आफ्नो उपज स्थायी स्वयम् विक्री वितरण गरिँदै आएका छन् ।
माछा कारोबार स्थल
समितिको बजार क्षेत्रभित्रको टकेश्वर मार्गमा माछा बजार छ । आयातित विविध जातका माछाको थोक तथा खुद्रा कारोबार हुने गरेको छ । हाल २८ व्यवसायी माछा कारोबार स्थलमा कार्यरत रहेको समितिले उल्लेख गरेको छ ।
फलफूल कारोबार स्थल
समितिको बजार क्षेत्रभित्रको टंकेश्वर मार्गमा रहेको सेड र बजार परिसरका अन्य स्थानमा रहेका सटर र संरचना फलफूल कारोबारका लागि उपलब्ध गराइएको स्थानमा स्वदेशी साथै विदेशी फलफूल समेत कारोबार हुन्छ । हाल १७ जना व्यवसायी फलफूल कारोबार स्थलमा कार्यरत छन् ।
कालीमाटी बजारमा बीउ विजन र दुग्ध पदार्थ विक्री स्थल, चमेना गृह/भोजनालय, भण्डारण केज, बैंक, कार्यालय कक्ष जस्ता कारोबार स्थल र सुविधाको समेत व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस