मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी जनयुद्धले जगाएको समाज

मङ्गलबार, ०१ फागुन २०८०, १६ : ५६
मङ्गलबार, ०१ फागुन २०८०

जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयलाई न्यायालयले उल्ट्याइदिएको छ । विश्वका जुनसुकै आन्दोलनका आफ्ना सीमा हुने गर्छन् । माओवादी आन्दोलनका पनि आफ्ना सीमा र परिधि पक्कै थिए । विश्वको जुनसुकै आन्दोलनको इतिहास हेर्दा आन्दोलनका हाँक्नेका विरोधी र दुश्मन शक्ति हुने गर्छन् । त्यसैले कहिलेकाहीँ पुरातनवादीहरूले परिवर्तित सत्ता नै उल्ट्याइदिनेसम्मका समाचार हामीले पढ्न पाइरहेका हुन्छौँ । त्यस आलोकमा हेर्दा माओवादी आन्दोलन, जसले यो देशको व्यवस्था नै परिवर्तन गराइदियो, त्यसका आफ्ना विरोधी नहुने कुरै भएन । 

हिजोको व्यवस्थामा राम्रो खाइपाई आएका शक्तिमध्ये कसैले ‘हाम्रो मर्ममा चोट पुग्यो’ भनेर न्यायालयमा मुद्दा हालिदिए । कार्यपालिकाको निर्णयलाई नयाँ व्यवस्थाको जगमा उभिएको न्यायालयले उल्ट्याइदियो । कसैले गणतन्त्र दिवसमा बिदा दिन मिल्दैन, किनभने त्यसले हाम्रो भावनालाई आहत पुर्‍यायो भनी मुद्दा हालिदियो भने के न्यायालयले गणतन्त्र दिवसको बिदा पनि खारेज गरिदिन्छ ? प्रश्न यो पनि छ । 

जहानियाँ राणाशासन अन्त्य गरेर २००७ सालमा प्रजातन्त्रको थालनी गर्दा कतिको चित्त दुखेको थियो होला ! ३० वर्षे पञ्चायत फालेर बहुदलको स्थापना गर्दा र तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशतालाई ध्वंस गर्दा पनि कैयौँको चित्त दुख्न गयो होला ! त्यसैले प्रश्न उब्जेको छ, नयाँ व्यवस्थाको जगमा उभिएको न्यायालयले पुरानो व्यवस्थाका शक्तिको तुष्टीकरणका लागि वा नयाँ व्यवस्थाको रक्षाका लागि निर्णय गर्ने हो ? 

के व्यवस्था परिवर्तन ट्रेमा फूलमाला सजाएर हस्तान्तरण गरिन्छ ? वा, यो असाध्यै कष्टपूर्ण संघर्ष र बलिदानबाट हासिल हुने गर्छ ? यो कुरा आजको राज्य संयन्त्रले बुझ्न आवश्यक छ । 

जुन आन्दोलनमा जनताले सबैभन्दा धेरै बलिदान गरेका हुन्छन् वा त्यसको नेतृत्वसँग आशा–अपेक्षा गरेका हुन्छन्, त्यसैमाथि पनि धेरै प्रश्न उठ्ने गर्छन् । यसलाई दुईटा कोणबाट हेर्दा उपयुक्त होला । पहिलो, माओवादी आन्दोलन वा त्यसको नेतृत्वले नेपाली जनताको स्वतन्त्रता र मुक्तिको आकांक्षालाई एकैपटक ह्वात्तै सतहमा ल्याइदियो । दोस्रो, जनताको त्यो आकांक्षालाई माओवादी आन्दोलनले सही ढंगले सम्बोधन गर्न सकेन । त्यसैले त्यो आन्दोलनमाथि पनि बेला–बेला प्रश्न उठ्ने गर्छ । तर, माओवादी आन्दोलन आजका दिनमा टुहुरो भइसकेको छैन ।

कसैले गणतन्त्र दिवसमा बिदा दिन मिल्दैन, किनभने त्यसले हाम्रो भावनालाई आहत पुर्‍यायो भनी मुद्दा हालिदियो भने के न्यायालयले गणतन्त्र दिवसको बिदा पनि खारेज गरिदिन्छ ? प्रश्न यो पनि छ । 

आजैका दिन पनि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको विधानमाथि छलफल गर्न भनेर देशैभरिबाट नेता तथा कार्यकर्ता भेला भएका छन् । नेपाली समाजमा कम्पन पैदा गर्ने शक्ति भनेकै माओवादी आन्दोलन हो । बितेको तीन दशकलाई नियाल्दा— माओवादीले गर्ने कुनै पनि क्रियामा अन्य राजनीतिक दल, बुद्धिजीवीले प्रतिक्रिया जनाउने गरिरहेकै छन् । पछिल्लो समय सार्वजनिक बिदा दिने वा नदिने भनेर देशैभर बहस भइरहेकै छ । त्यो बहस पनि आन्दोलनको क्रियामा आएको प्रतिक्रिया सिवाय केही होइन । माओवादी आन्दोलन हुँदैन्थ्यो भने नेपाली समाज उहिल्यै विश्व मानचित्रमा मुर्दा समाज भनेर दर्ज हुने थियो । माओवादी पार्टी र आन्दोलनले यो समाजलाई मुर्दा हुनबाट जोगाएको छ ।

मेरो सिङ्गो परिवार नेपाली कांग्रेसको राजनीतिमा संलग्न छ, तर म माओवादी आन्दोलनमा लागेको छु । यो थाहा पाएर चिन्ता गर्दै मेरो गाउँका एकजना छिमेकी मसँग कुरा गर्न आइपुगे । उनले भने— तिमी इन्जिनियरिङ गरेको मान्छे यस्तो पार्टीमा लाग्ने हो ? उनले नेपाली कांग्रेसमा लाग्न समेत सुझाएका थिए । यो प्रसङ्ग मैले यहाँ किन कोट्ट्याएको भने आममानिसलाई इतिहासको धेरै जानकारी हुँदैन । उनले भनेको नेपाली कांग्रेस पनि कुनै बेलाको सशस्त्र संघर्ष गर्ने पार्टी हो । उसले पनि तत्कालीन व्यवस्थाका विरुद्ध केहीपटक बन्दुक उठाएको थियो ।

नेपालको मात्रै होइन, आजका दिन विश्वभर जति पनि पार्टीहरू सत्तासीन छन्, उनीहरूको विगत बारुदको धुलोबाट निर्माण भएको छ । सत्ता भनेकै हिंसाको अर्को रूप हो । के नेपालमा राणाहरूले, पञ्चहरूले सजिलै सत्ता हस्तान्तरण गरेका थिए । के फ्रान्स, अमेरिका, चीन, भारतमा त्यत्तिकै सत्ता हस्तान्तरण भएको हो । हाम्रै छिमेकी मुलुक चीनमा आजका दिन जसले सत्ताको नेतृत्व गरिरहेका छन्, उनी माओत्सेतुङका उत्तराधिकारी हुन् । माओले सत्ता बन्दुकको नालबाट निस्कन्छ भनेका थिए । त्यसैगरी आजका दिन भारतमा जसले सत्ताको नेतृत्व गरिरहेको छ, उनका अग्रजहरूले गान्धीको हत्या गरेका थिए ।

नेपालको एउटा दुःखान्त नै भन्नुपर्ला । नेपालको राजनीतिक क्षेत्र अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा गतिशील छ । यहाँ सामाजिक, राजनीतिक आन्दोलनहरू भइरहेका हुन्छन् । तर, राजनीतिसँगै समानान्तर रूपमा अघि बढ्नुपर्ने क्षेत्रहरू पछाडि छन् । नेपालको साहित्य, पत्रकारिता, विश्वविद्यालय, बौद्धिक चिन्तनका अन्य क्षेत्रहरू पछि परे । माओवादी आन्दोलनले प्राप्त गरेको उचाइ र यसका उपलब्धिको आलोकमा त्यसमाथि लेखिने कुनै पनि समकालीन साहित्य त्यहाँसम्म पुग्नै सकेन ।

सैद्धान्तिक र वैचारिक जगबिनाका समूहहरूले केही समय जनतालाई भ्रममा पार्न सक्छन्, तर अन्ततः यो मुलुकको भविष्य कोर्ने विचार स्पष्ट भएका राजनीतिक दलहरूले नै हुन् ।

नेपाली क्रान्तिबारे लेख्ने ‘मेक्सिम गोर्की’हरूको अभाव रह्यो । माओवादी आन्दोलनले त्यस्ता मानिस जन्माउनै सकेन । आन्दोलन बाहिरकाले पूर्वाग्रहवश यसबारे लेख्न चाहेनन् । आशा गरौँ, नयाँ पुस्ताले जनयुद्धका पत्र–पत्र उप्काउँदै त्यसको वास्तविक वीरताको इतिहास भविष्यमा लेख्नेछ । माओवादी आन्दोलनको गौरव, त्यसका योद्धाहरूको कथा र यसको नायकमाथि विभिन्न कोणबाट साहित्य र इतिहास लेखिन बाँकी नै छ । 

नेपाली समाजमा आजभन्दा ठुल्ठुला चुनौतीका पहाड हिजोका दिनमा थिए । त्यसलाई पार गरेर माओवादी नेतृत्वले समाजलाई यहाँसम्म ल्याइपुर्‍याएको प्रस्ट छ । अब आउने चुनौती वा समस्या एक्लै आउने होइनन्, तिनले समाधान पनि सँगै ल्याएका हुन्छन् । पपुलिस्ट एजेन्डाबाट रातारात उकालो चढेका पात्र र प्रवृत्ति थोरै समयमा कसरी तासको महल जसरी ढल्दै छन् भन्ने हामीले देखेकै छौँ ।

सैद्धान्तिक र वैचारिक जगबिनाका समूहहरूले केही समय जनतालाई भ्रममा पार्न सक्छन्, तर अन्ततः यो मुलुकको भविष्य कोर्ने विचार स्पष्ट भएका राजनीतिक दलहरूले नै हुन् । तिनै दलहरूभित्र काम गरिरहेका आलोचनात्मक चेत भएका युवाले नै यो देशको भविष्यको नेतृत्व गर्नेछन् ।

(लेखक मैनाली अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापति तथा प्रवक्ता हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीपी मैनाली
जीपी मैनाली
लेखकबाट थप