आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

काठमाडौँ उपत्यकामा बढे हत्याका घटना

साउन यता उपत्यकामा भए १८२ वटा बलात्कार
मङ्गलबार, ०१ फागुन २०८०, १६ : ४३
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । स्वयम्भूस्थित शोभा भगवतीमा सफिना मियाँ मृत फेला परिन् । तनहुँको भिमाद नगरपालिका–५ घर भएकी सफिनाको हत्या भएको घटना ३ महिनासम्म गुपचुप रह्यो । माघ ७ मा घटना सार्वजनिक भएपछि अनुसन्धान गर्दा ५१ वर्षीया सफिनालाई प्रेमीले हत्या गरेको थाहा भएको छ ।

हत्यामा संलग्न भारतको बिहार स्थित लालबाग थाना घर भएका ईकरामुल हक अन्सारी पक्राउ परे । ४३ वर्षीय अन्सारी कालिमाटीबाट पक्राउ परेका हुन् । अन्सारी र सफिना विवाहेत्तर ‘प्रेम’ सम्बन्धमा थिए । हत्या गरेपछि सफिनाको शव नजिकै आरोपीले एक टुक्रा कागज छाडे । कागजमा सफिनाको ठेगाना उल्लेख थियो । शव पहिचान गर्न सजिलो होस्, भनेर कागजमा प्रेमिकाको ठेगाना लेखेर छाडेको अन्सारीले प्रहरीलाई बताएका छन् । प्रहरीसँग उनले भनेका छन्–‘सफिनाको परिवारलाई घटनाबारे म जानकारी गराउनेवाला थिएँ ।’ 

हत्याको कारण ‘विवाहेत्तर सम्बन्ध’ भएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । आफूभन्दाबाहेक अन्य केटाहरूसँग सम्बन्ध राखेको निहुँमा झगडा हुँदा अन्सारीले प्रेमिकाको हत्या गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘परपुरुष कोठामा आएको एकपटक देखेपछि उनीहरू बिच मनमुटाब भएको देखिन्छ ।’

माघ २७ मा गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा भएको हत्या स्वयम्भूको घटनासँग मिल्दोजुल्दो छ । ‘लिभिङ रिलेसन’ मा रहेका दोलखाका कुमार श्रेष्ठले रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भएकी प्रमीला दमाईको हत्या गरेका हुन् । कुमारले प्रमीलालाई होटलको १०८ नम्बर कोठामा लिएर जान्छन् । ३८ वर्षीय श्रेष्ठ र २८ वर्षीया प्रमिलाको बिचमा प्रेमलाई कसरी अगाडी लैजाने भन्नेबारेमा ‘विवाद’ हुन्छ । प्रमीलाले ‘विवाह गर्न दबाब’ दिएपछि डोरीले घाँटीमा कसेर प्रेमिकाको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्–‘प्रमीलाले कुमारलाई ‘सधैँ बाहिर बसेर हुँदैन, विवाह गर्नुपर्छ’ भनेर दबाब दिएपछि प्रेम सम्बन्ध हत्यामा अन्त्य भएको देखिन्छ ।’ पछिल्लो १ वर्षदेखि प्रमीला र कुमार ‘लिभिङ रिलेसन’मा थिए । 

स्वम्भु र गौशालामा भएको हत्या ‘विवाहेत्तर सम्बन्ध’का कारण भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रमीला र कुमार पनि विवाहित हुन् । 

nepal-police-data

काठमाडौँ उपत्यकामा पछिल्लो समय जघन्य अपराध ‘हत्या’को घटना बढेको तथ्याङ्कबाट देखिएको छ । उपत्यका प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउन महिनापछि काठमाडौँ जिल्लामा मात्र १३ वटा हत्याका घटना भएका छन् ।  ललितपुरमा ४ र भक्तपुरमा ३ वटा हत्याका घटना भएका छन् । चालु आर्थिक वर्षमा योजनाबद्ध हत्या नभएको तर, आवेशमा हुने हत्याको सङ्ख्या बढेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनी भन्छन्–‘प्रेम सम्बन्ध लुकाउन खोज्दा पनि हत्याका घटना भएका छन् ।’

हत्या बढ्नुको मुख्य कारण ‘बसाइसराइ’ भएको बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । आफ्नो पुर्ख्यौली थातथलो छाडेर काठमाडौँ बस्ने मानिसहरू नै हत्यामा संलग्न देखिएको खरेलले बताए । उनी भन्छन्–‘हत्याको कारणको रूपमा बसाइसराइ देखिएको छ, त्यसमा अरू तत्त्वहरूको भूमिका पनि हुन्छ ।’ 

ठगी सम्बन्धी मुद्दा पनि काठमाडौँमा धेरै छन् । पछिल्लो ७ महिनामा प्रहरीमा दर्ता भएका ५ सय ठगीसम्बन्धी उजुरी मध्ये काठमाडौँमा मात्रै ४३५ वटा छन् । काठमाडौँ उपत्यकामा सर्वत्र ठगीको घटना भएको बताउँछन् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली । उनी भन्छन्–‘विदेश पठाउने र अन्य नाममा ठगीको घटना बढेको छ ।’ 

जबरजस्ती करणीको घटना पनि काठमाडौँमा धेरै हुने गरेको छ । साउन यता उपत्यकामा भएका १८२ वटा बलात्कारमध्ये काठमाडौँ जिल्लामा मात्र १४८ वटा बलात्कारका घटना भएका छन् । 

बैंकिङ कसुरसम्बन्धी मुद्दा सबैभन्दा धेरै दर्ता भएका छन् । साउन पछि उपत्यकामा ३ हजार ९५४ वटा बैंकिङ कसुर सम्बन्धी उजुरीमा प्रहरीले अनुसन्धान गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनी भन्छन्–‘चेक जारी गर्नेहरूले त्यसको दायित्व नबुझ्दा बैंकिङ कसुरका घटना धेरै दर्ता भएका हुन् ।’ 

काठमाडौँको तुलनामा भक्तपुर र ललितपुरमा बैंकिङ्ग कसुर कम छ । पछिल्लो ७ महिनामा ललितपुरमा ३७६ र भक्तपुरमा ६३६ वटा बैंकिङ्ग कसुरका उजुरीमाथि प्रहरीले अनुसन्धान गरेको छ । 

  • एआईमार्फत अनुसन्धान 

उपत्यका प्रहरी कार्यालयले अपराध अनुसन्धान र नियन्त्रण गर्न ‘सुरक्षित काठमाडौँ उपत्यका हाम्रो प्रतिबद्धता’ अभियान चलाएको छ । सो अभियान अन्तर्गत अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ प्रविधि लागु गरिएको एसएसपी मैनालीले जानकारी दिए । 

आर्टिफिसियल इन्टेलिजेन्सबाट अनुसन्धान गर्न प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा क्यामरा जडान गरेको छ । शङ्कित व्यक्तिको तस्बिर सर्भरमा राखेपछि एआई क्यामेराले शङ्कितको अनुहार मिलेमा सङ्केत पठाउने एसएसपी मैनालीले बताए । उनी भन्छन्–‘नोटिफिकेशन आएपछि हामी पछ्याएर आरोपीलाई पक्राउ गर्छौँ ।’ 

अपराधमा संलग्नहरू सवारी लिएर फरार भएमा उनीहरूलाई नियन्त्रणमा लिन अटोमेटिक नम्बर प्लेट पहिचान गर्न सक्ने क्यामरा जडान गरिएको छ । चक्रपथ क्षेत्रमा त्यस्तो ‘एएनपीआर’ क्यामरा जडान गरिएको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप