बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्यमशीलताका लागि बकैयामा कृषि औद्योगिक ग्राम

मङ्गलबार, ०१ फागुन २०८०, १६ : ०१
मङ्गलबार, ०१ फागुन २०८०

हेटौँडा ।  मकवानपुरको बकैया गाउँपालिकाले कृषि क्षेत्रमा उद्यमशीलता विकासका लागि कृषि औद्योगिक ग्राम घोषणा गरी निर्माणको कामलाई अगाडि बढाएको छ । कृषि क्षेत्रबाटै पालिकाको समृद्धि सम्भव रहेकाले गाउँपालिकाले कृषि क्षेत्रको विकास र उत्पादनकत्व वृद्धिका लागि औद्योगिक ग्राम स्थापनामा जुटेको हो ।

लागूपदार्थ मुक्त गाउँपालिका घोषणा गरी निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बकैयाले कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाउन स्थानीय स्तरमा नै औद्योगिक ग्राम स्थापनामा जुटेको हो । दुग्ध उत्पादनमा वृद्धि गराउन बकैयाको किसानहरूलाई सहुलियत र सजिलै रूपमा दाना तथा साइलेज उपलब्ध गराउने उद्देश्य गाउँपालिकाको रहेको छ । किसानलाई पशुपालनमा अभिप्रेरित गराई रोजगारीको सृजना गर्ने र सो क्षेत्रमा रहेका कृषि उद्योगका लागि आवश्यक कच्चा पदार्थको सदुपयोग गर्ने रणनीति गाउँपालिकाको रहेको छ ।

उत्पादन र उत्पादकत्व वृद्धिका लागि गाउँपालिकाले कृषकहरूलाई पशुपालनमा सघाउने उद्देश्य अनुसार कृषि औद्योगिक ग्राम निर्माणको योजना अघि सारेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । उनका अनुसार बकैयाले कृषकहरूलाई पशुपालनमा सहायता प्रदान गर्ने गरी कृषि औद्योगिक ग्राममा साइलेज र पशु दाना उद्योग स्थापनाको काम भइरहेको छ । बकैयाले जनशक्तिको अभाव, बजेटमा कमजोर आन्तरिक स्रोतको हिस्सा, भौगोलिक विकटता, छरिएको बस्तीका चुनौतीका कृषि क्षेत्रको विकासमा काम गरिरहेको उनले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा नदी उकास जमिनलाई संरक्षण गरी औद्योगिक ग्राम निर्माणको चरणमा अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार गाउँपालिकाले ७ नम्बर वडा स्थिति हात्तिखोलाको नदी उकास क्षेत्रको जमिनलाई संरक्षण गरी कृषि औद्योगिक ग्रामको रूपमा विकास गरिरहेको छ ।

कृषिकहरुलाई सहुलियतमा साइलेज तथा दाना वितरण गर्ने र पशुपालनमा प्रोत्साहन गर्ने गरी उद्योग स्थापना गरिरहेको उनले बताए । सो क्षेत्रमा साइलेज र दाना उद्योगका लागि २ वटा भौतिक संरचना निर्माण गरिएको उनले बताए । सो क्षेत्रमा उद्योग स्थापनाको लागि २ वटा भवन सहित प्रशासनिक भवन र मोलालेस भण्डारणका लागि ट्याङ्की निर्माण गरिएको उनको भनाई छ । पशुपालन तथा उत्पादनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने र दाना तथा साइलेज उत्पादनमा पनि प्रयोग गर्नुपर्ने भएकाले मोलालेस ट्याङ्की निर्माण गरिएको उनले बताए ।

हाल सो २ उद्योगको भौतिक संरचना निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ भने मेसिनरी औजारहरू जडानको काम बाँकी रहेको उनले बताए । साइलेज उद्योगका लागि पोर्टेवल मेसिन आयात गरी जडान गर्ने पालिकाको तयारी रहेको छ भने दाना उद्योगका लागि स्वचालित सिस्टमको मेसिन जडान गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । कृषि उद्योग ग्राम स्थापनाको लागि डिपिआर, साइलेस उद्योग भवन, दाना उद्योग भवन, प्रशासनिक भवन, घेराबार समेत हालसम्म लागत ५ करोड २३ लाख ५० हजार रुपैयाँ खर्च गरिसकेको छ ।

७ विगाह क्षेत्रफलको उक्त जमिनमा २०७६ मा नै पालिकाबाट निर्णय गरेको भए पनि काम अघि बढ्न सकेको थिएन । गत २०७९ को निर्वाचन पछि वर्तमान नेतृत्वले उक्त कार्यलाई अघि बढाएको थियो ।  गाउँपालिकाले कृषि उद्योग ग्राम स्थापनाको लागि कुल लागत २७ करोड ७५ लाख ३५ हजार रुपैयाँ अनुमान गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि ३ करोड रुपैयाँको ठेक्का आह्वान गरी काम गरिएको थियो । चालु आर्थिक वर्षमा सो उद्योगका लागि आवश्यक मेसिनरी औजारहरु खरिदका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने १ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको उनले बताए ।

पालिकाले निकट भविष्यमा सो औद्योगिक ग्राममा कृषि औजार सामग्री उद्योग, प्राङ्गारिक मल उत्पादन उद्योग र नर्सरी स्थापना गर्ने रणनीति रहेको उनको भनाई छ । पालिकाले रासायनिक मलको अभाव र विषादीको न्यूनीकरणका लागि प्राङगारिक मल उद्योग स्थापनाको तयारी गरेको हो । रासायनिक मलको अभाव हटाउन तथा अर्ग्यानिक खेतीमा किसानलाई आकर्षित गराउन गाउँपालिकाले प्रङ्गारिक मल उद्योग स्थापना गर्ने तयारी गरिएको उनले बताए ।

गाउँपालिकाले कृषकहरूलाई प्रविधि सिकाउने उद्देश्य अनुसार कृषि औजार कारखाना स्थापना गर्ने योजना अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । कृषि कार्यमा सहजता प्रदान गर्न र नयाँ प्रविधिका उपकरणहरू भित्राउन उद्देश्य अनुसार कारखाना स्थापना गर्ने गाउँपालिकाको रणनीति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप