बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
एसीसी महिला प्रिमियर कप

एसीसी महिला प्रिमियर कप क्रिकेट : माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानको ओइरो

मङ्गलबार, ०१ फागुन २०८०, १३ : १३
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । 

नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । 

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी-२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । 

चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी-२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएकी अनुभवी ब्याटर रुविनाले केवल ५९ बलको सामना गरी पाँच छक्का र १० चौका पनि हिर्काइन् । खेलमा उनको स्ट्राइक रेट दुई सय रह्यो । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् । पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक पनि हो ।

त्यसअघि ओपनर ब्याटर सीता रानामगरले १५ र कविता कुँवरले ११ रन बनाएका थिए । कप्तान इन्दु बर्मा भने शून्य रनमै पभेलियन फर्किएकी थिइन् । 

डली भट्टले पनि टोलीको खातामा ६ रन थपिन् । नेपालले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो । माल्दिभ्सकी बलर सम्मा अलीले तीन विकेट लिइन् । नबा नसिमले पनि एक विकेट हात पारिन् ।

समूह ‘डी’ मा रहेको नेपाल यसअघि नै लगातार दुई जितसँगै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई पनि आठ विकेटले नै पराजित गरेको थियो । 

नेपालको समूहबाट हङ्कङ पनि क्वार्टरफाइनलमा पुग्ने निश्चित भइसकेको छ । हङ्कङले मंगलबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ७२ रनले हरायो । दुई जित हात पारेको हङ्कङको चार अंक छ । माल्दिभ्सलाई हराउन सके नेपाली टोली समूह विजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । 

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । 

समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप