आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

तेस्रो टेस्टअघि राजकोट विमानस्थलमा रोकिए इङ्ल्यान्डका लेग–स्पिनर रेहन अहमद

मङ्गलबार, ०१ फागुन २०८०, ११ : ३५
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । हाल भारत भ्रमणमा रहेको इङ्ल्यान्ड क्रिकेट टोलीका युवा खेलाडी रेहन अहमद भिषा (प्रवेशाज्ञा) समस्याका कारण लामो समय विमानस्थलमा रोकिएका छन् । गलत भिषा बोकेर आएपछि १९ वर्षीय लेग–स्पिनर रेहन अहमद समस्यामा परेका हुन् ।

घरेलु टोलीविरुद्ध टेस्ट शृंखला खेल्ने क्रममा हाल इङ्ल्यान्डको टोली भारत भ्रमणमा छ । पाँच टेस्टको शृंखला हाल एक–एकको बराबरीमा छ । शृंखलाको पहिलो खेलमा भ्रमणकारी टोली इङ्ल्यान्ड २८ रनले विजयी भएको थियो ।

दोस्रो टेस्टमा भने भारतले इङ्ल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो । शृंखलाको तेस्रो टेस्ट बिहीबारदेखि राजकोटमा सुरु हुँदैछ । दोस्रो र तेस्रो टेस्टको बिचमा लामो समयको अन्तर रहेकाले इङ्ल्यान्डको टोली १० दिनका लागि विदा मनाउन भारतबाटै आबु धाबी गएको थियो ।

विदा मनाएर सोमबार राति आबु धाबीबाट भारतको राजकोट फर्कने क्रममा रेहन अहमदलाई अध्यागमनका कर्मचारीले विमानस्थलमा रोकेका थिए । इङ्ल्यान्डका खेलाडी चार्टर्ड विमानबाट भारत फर्किएका थिए ।

भारतले रेहन अहमदलाई एकपटक मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने गरी भिषा उपलब्ध गराएको थियो । तर, रेहन अहमद एकपटक (पहिलो र दोस्रो टेस्ट खेल्न) भारत प्रवेश गरिसकेपछि पुनः इङ्ल्यान्डको टोलीसँगै विदा मनाउन आबु धाबी गएका थिए ।

त्यसैले आबु धाबीबाट फर्कँदा उनीसँग पुनः भारत प्रवेश गर्ने भिषा थिएन । त्यसैले राजकोट विमानस्थलमा अध्यागमनका कर्मचारीले उनलाई अन्य खेलाडीसँगै बाहिर निस्कन दिएनन् । इङ्ल्यान्डको टिम ब्यवस्थापकले पटक–पटक सम्झाउँदा पनि अध्यगमनका कर्मचारीहरुले रेहन अहमदलाई छोडन मानेका थिएनन् ।

त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यस विषयमा खबर गरिएको थियो । बीसीआईले पछि सरकारी स्तरबाटै कुरा मिलाएर रेहन अहमदलाई छुटाएको थियो । ‘भिषाका कारणले यो समस्या आएको हो । सबै कुरा मिलिसकेको छ । रेहन अहमद अन्य खेलाडीसँग होटेल पुगिसकेका छन् । भिषाको प्रक्रिया पुरा गर्न दुई दिन समय लाग्छ,’ बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बीसीसीआईले इङ्ल्यान्डका खेलाडी चढेको चार्टर्ड विमान आबु धाबीबाट सिधै राजकोट पुगेकाले यस्तो समस्या आएको पनि बीसीसीआईले जनाएको छ । ‘यस्तो घटना पहिलो पटक भएको हो । विमान सिधै राजकोट पुगेकाले पनि यस्तो अवस्था सृजना हुन पुग्यो,’ बीसीसीआईले भनेको छ ।

इङ्ल्यान्डको ३१ सदस्यीय टोलीका अन्य सदस्यसँग भने पुनः भारत प्रवेश गर्न मिल्ने भिषा थियो । युवा खेलाडी रेहनले गत वर्ष पाकिस्तानविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो ‘डेब्यू’ टेस्टमै पाँच विकेट लिएका थिए ।

उनी सन् २००४ मा इङ्ल्यान्डको नटिङ्घममा जन्मिएका हुन् । उनका पिताको नाम नइम अहमद हो । नइम अहमद पाकिस्तानी क्रिकेट टोलीका पूर्वअलराउन्डर खेलाडी हुन् । नइम अहमद आफ्नो समयका प्रभावशाली तिब्रगतिका बलर पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप