मिटरब्याज पीडितको ‘न्याय मार्च’ : मेचीबाट हिँडेरै १४ दिनमा हेटौँडा

हेटौँडा । मिटरब्याज पीडितको न्याय मार्च हेटौँडा आइपुगेको छ । मेची पुलबाट हिँडेर मिटरब्याज पीडितहरूको न्याय मार्च सोमबार राती अबेर हेटौँडा आइपुगेको हो ।
मिटरब्याज पीडितहरूले गत माघ १६ मा नेपालको पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर न्याय मार्च आन्दोलनको सुरुवात गरेका थिए । मेची पुलबाट हिँडेको १४ औँ दिनमा मिटरब्याज पीडितको ‘न्याय मार्च’ हेटौँडा आइपुगेको हो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले थालेको ‘न्याय मार्च’ का अभियानकर्मीहरू सोमबार राति ९ बजे हेटौँडा आइपुगेका हुन् । हेटौँडा आइपुगेको न्याय मार्चका सदस्यहरू सोमबार राति हेटौँडा १० स्थित गोरक्षेश्वर पशुपति मन्दिर परिसरमा रहेको धर्मशालामा बस्ने र बुधवार बिहानै चितवनतर्फ लाग्ने केन्द्रीय सदस्य घिमिरेले बताइन् ।
मिटरब्याजी विरुद्ध सङ्घर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेका अनुसार मेची पुलबाट पैदल हिँडेर सुरु गरेको ‘न्याय मार्च’ काठमाडौँ पुगेर आन्दोलनमा होमिने छ । पूर्वबाट हिँडेको दिन अर्को टोलीले पश्चिमबाट पनि न्याय मार्चको सुरुवात गरेको उनले बताइन् । उनले पूर्व र पश्चिमबाट एकैदिन पैदल हिँडेका मिटरब्याज पीडितहरु चितवनमा भेला भएर काठमाडौँ जाने बताइन् ।
‘मेची पुलबाट ‘न्याय मार्च’ सुरु भएकै दिन सुदूर पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीबाट पनि ‘न्याय मार्च’ सुरु गरिएको छ । चितवनमा भेला भएर एकैपटक काठमाडौँ प्रवेश गर्ने तयारी रहेको छ’ उनले भनिन् ।
मेची पुलमा भेला भएर हिँडेको ७० जनाको टोली अहिले करिब ३०० जनाको हाराहारीमा पुगेको केन्द्रीय सदस्य घिमिरेले बताइन् । ‘न्याय मार्च’ मा झापा, सुनसरी, मोरङ, सप्तरी, धनुषा, सर्लाही, रौतहट बारा लगायतका जिल्लाबाट समेत मिटरब्याज पीडितहरू सहभागी भएको उनको भनाई छ ।
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेर जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ । मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेको केन्द्रीय सदस्य घिमिरेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची