आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

अनिल साह र भीम सार्कीको अभूतपूर्व साझेदारी, बने तीन कीर्तिमान

सोमबार, २९ माघ २०८०, १६ : ३७
सोमबार, २९ माघ २०८०

काठमाडौँ । दुई ब्याट्सम्यान अनिल साह र भीम सार्कीले शतक बनाउँदै कीर्तिमानी साझेदारी गरेपछि तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपालले भ्रमणकारी टोली क्यानडालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै नेपालले तीन खेलको शृंखला ‘क्लिन स्विप’ पनि गरेको छ । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । शृंखलाको दोस्रो खेलमा भने नेपालले क्यानडालाई चार विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार टस हारी ब्याटिङको निम्तो पाएको क्यानडाले आठ विकेट गुमाएर दुई सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४४.३ ओभरमै केवल एक विकेट गुमाएर दुई सय ३४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

cricket

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल र तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीमले कीर्तिमानी साझेदारी गरे । नेपालले केवल ४५ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि अनिल र भीमले दोस्रो विकेटका लागि एक सय ८९ रनको साझेदारी गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो । सन् २०२३ को जुन १८ तारिखमा हरारेमा खेलिएको घरेलु टोली जिम्बाबेविरुद्धको खेलमा नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको साझेदारी गरेका थिए । त्यो एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट खेल थियो ।

𝗕𝗵𝗶𝗺 𝗦𝗵𝗮𝗿𝗸𝗶

अनिलले अविजित एक सय १२ रन बनाए । उनले एक सय २४ बलको सामना गरी दुई छक्का र १२ चौका पनि हिर्काए । उनले छक्का हिर्काउँदै नेपाललाई विजयलक्ष्य पार गराएका थिए । भीमले पनि अविजित एक सय एक रन बनाए । उनले एक सय २९ बलमा एक छक्का र ११ चौका हिर्काए ।

आफ्नो खेलजीवनको २१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका २२ वर्षीय भीमले बनाएको यो पहिलो शतक हो । छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका २५ वर्षीय अनिलले बनाएको पनि यो पहिलो शतक हो ।

𝗔𝗻𝗶𝗹 𝗦𝗮𝗵

त्यसअघि नेपालका अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १३ रन बनाउँदै आउट भएका थिए । उनले १४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर डिल्लन हेलिगरले बोल्ड गरेका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ४५ रन बनाएको थियो ।  

नेपालका दुई ब्याट्सम्यानले एउटै खलमा दुई शतक बनाएको यो पहिलो रेकर्ड हो । 

त्यसअघि पहिले ब्याटिङ गरेको क्यानडालाई मध्यम योगफलमा समेट्न नेपाली टोलीका बलर हेमन्त धामीले आफ्नो ‘डेब्यू’ खेलमै तीन विकेट लिएका थिए । उनले आठ ओभरमा ४९ रन खर्चिएका थिए । कुशल मल्लले पनि दुई विकेट हात पारेका थिए । ललित राजवंशी र आकाश चन्दले पनि एक–एक विकेट लिए ।

क्यानडाका लागि ओपनर ब्याट्सम्यान नवनित धालिवालले अर्धशतक बनाएका थिए । निखिल दत्तले पनि ४५ रनको योगदान गरे । कप्तान साद बिन जाफरले अविजित ३१ रन जोडे । उनले केवल १५ बलमा दुई छक्का र तीन चौका हिर्काए । साहिद अहमदजाई पाँच रनमा अविजित रहे । क्यानडाले अतिरिक्त रुपमा १४ रन पाएको थियो ।

क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् ।

हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको व्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो ।

क्यानडाको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्नेलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि विजयरत्नेले २८ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । १४औँ ओभरको अन्तिम बलमा विजयरत्ने आउट हुँदा क्यानडाले ५५ रन बनाएको थियो ।

क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई तीन रनको व्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा निकोलस किर्तन आउट हुँदा क्यानडाले ७४ रन बनाएको थियो ।

क्यानडाको चौथो विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको व्यक्तिगत स्कोरमा आउट गरे । ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको थियो ।

क्यानडाको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए । कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका थिए । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको थियो ।

क्यानडाको छैटौँ विकेट हेमन्त धामीले लिएका थिए । उनले क्यानडाका विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभालाई २५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । हेमन्तले श्रेयषलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए ।

आउट हुनुअघि श्रेयषले २९ बलमा एक चौका हिर्काएका थिए । सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ खेल खेलिरहेका हेमन्तले लिएको यो दोस्रो विकेट हो । ४५.४ ओभरमा श्रेयष आउट हुँदा क्यानडाले एक सय ८६ रन बनाएको थियो ।

क्यानडाले निखिल दत्तका रुपमा आफ्नो सातौँ विकेट गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले ६२ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले ४५ रन बनाएका थिए । उनी रन आउट भएर मैदानबाट बाहिरिएका थिए ।

निखिल रन लिन दौडिएका थिए । तर, त्यो बल नेपाली टोलीका फिल्डर भीम सार्कीको हातमा पुग्यो । त्यसपछि भीमले बल विकेटकिपर अनिल शाहलाई दिए । निखिलले रन पूरा गर्नुअघि नै अनिलले उनलाई रन आउट आउट गराएका थिए । ४७.५ ओभरमा निखिल आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको थियो ।

क्यानडाको आठौँ विकेट भने हेमन्त धामीले लिएका थिए । उनले क्यानडाका तल्लोक्रमका ब्याट्सम्यान डिल्लन हेलिगरलाई चार रनको व्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए । जारी खेलमा हेमन्तले लिएको यो तेस्रो विकेट हो । ४८.३ ओभरमा हेलिगर आउट हुँदा क्यानडाले दुई सय १८ रन बनाएको थियो ।  

तेस्रो खेलमा नेपालका अनिल शाह म्यान अफ दी म्याच घोषित भए । नेपाली टोलीका कप्तान रोहित पौडेले म्यान अफ दी सिरिज घोषित भए । शृंखलाको पहिलो र दोस्रो खेल जिताउन उनले महत्वपूर्ण योगदान गरेका थिए ।

क्यानडाविरुद्धको शृंखलामा नेपालका चारजना खेलाडीले सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । हेमन्त धामीले सोमबार खेलिएको तेस्रो खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका हुन् । उनले आफ्नो ‘डेब्यू’ खेलमै तीन विकेट लिए ।

यसअघि गत बिहीबार खेलिएको शृंखलाको पहिलो खेलमा दुई खेलाडी सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा आकाश चन्दले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । पहिलो र दोस्रो खेलमा ‘डेब्यू’ गर्ने चारैजना खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिए । 

नेपालमा घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप