मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आमा छिट्टै भेट्न आउँछु

सोमबार, ०३ वैशाख २०७५, १३ : २६
सोमबार, ०३ वैशाख २०७५

विवेक न्यौपाने
 

म आमाको गर्भमा हुँदा हजुरआमाले यसले छोरी पाउने भई भनेर भन्दै हिँड्नु हुन्थ्यो रे । गह्रुँगो छायाँकी छे, हिडाइमा ‘सुस्ती’ छ आदि । तर पछि म जन्मिएँ । निधारमा नाम्लोसँगै घाँसको भारी बोकेर बिसाउन नपाउँदै मेरी आमालाई व्यथाले च्यापेपछि घर पछाडीको बारी म जन्मेको रहेछु । 
मेरी आमाले धोतीको फेरोमा बेर्दै मलाई अँगालो हाल्दा सायद उहाँको खुसी थामी नसक्नु भयो होला । दिनभरी मेलापात गरेर बेलुकी घर फर्कंदा घाँस र स्याउलाको भारी बिसाउँदै झोलुङ्गोबाट निकाल्न नपाउँदै नानीथरीमा जेलिएको मलाई देख्दा आफ्नो भोक पनि भुल्नुभयो हुन्थ्यो ।
विस्तारै म  हुँर्कदै गएँ । त्यति बेला चिना बनाउने ज्योतिषीले भनेको रहेछन्, तपाईंलाई यो कान्छोले औधी माया गर्छ । लाग्छ ती कुरा सम्झँदा आमा आज भक्कानिएर रुनु हुँदो हो । आमा त्यहाँ गाउँमा म यहाँ काठमाडौं सहरमा । अनि मैले कसरी दिन सकेँ आमालाई खुसीको हाँसो, मीठो मुस्कान ।
धेरै वर्ष बिते । धेरै औँसी छेलिए तर आमाले छोरालाई गरेको निस्पाप माया छोराबाट कहिलै फिर्ता भएन होलाजस्तो लाग्छ । म पनि त आमाले गर्व गर्न मिल्ने मान्छे बन्न सकिनँ तर सायद गलत पनि गरिनँ । छोरा भएर सुख दिन सकिन तर सक्दो आमालाई दुःख पनि दिइनँ । 
एकसरो राम्रो धोती दिन सकिनँ । आमाको ओठमा हाँसो फुलाउन सकिन । तर सोच्छु  बेमानीले किनेको झुठो एक गाँस पनि आमालाई खुवाइनँ । मलाई अझै पनि सम्झना छ, मेलापात जाँदा होस् वा कोही कसैले मीठोमसिनो खानेकुरा दिँदा आफ्नो भागको आधा कटाएर कर्कालाको पातमा राखी पटुकामा बेरेर ल्याएको पुवा हिजोजस्तै लाग्छ ।
मध्यरातमा बिमारी परी व्यथाले छटपट हुँदा असारे मेलको भँगालोको वेगलाई छिचोल्दै अस्पताल पु¥याएको यो मानसपटलमा अझै ताजै छ । मेरी आमाले गाँस कटाएर अनि टीकाटालाबाट बटुलेर सन्दुसको कुनामा टालाले बेरेर राखेका ती कट्कटाउँदा नोट मेरै छोरो सिवाए अरूले झिकेको छैन भन्ने जान्दाजान्दै पनि मेरो अनुहारमा हेरी ‘मेरो पैसा कसले झिकेको छ ह !’ भन्दै एक टकले मेरो मुखमा हेर्दै भाव व्यक्त गर्नु हुन्थ्यो, मैले जोगाई दिएको पनि तेरै लागि हो । 
सासुले खटाएर पठाएको मासको थैलो बेच्न हाटबजार जाँदा दुई जिउकी मेरी आमा थैलो माथी मलाई बोकेर ती भेल र भँगाला तरेको सम्झनाका बीच आजका पुस्ता देख्दा मलाई मेरी आमाको अदम्य साहसले आङ्ग सिरिङ्ग गराउँछ । 
धेरै समय बित्यो आमा मनमा म सहरमा भएँ । सहर र गाउँबीच दूरी बढ्यो दूरीले हामीलाई आफ्नो भूमरीमा जेल्यो । म आजको व्यवस्थामा जेलिएँ । सायद आमा छोराको मायाको आशैआशको पर्खाइमा पर्नु भयो । 
जे जति भए पनि मेरी आमा जस्तै हजारौँ आमालाई आज सम्झी रहेछु । जसले हामीलाई यति लेख्ने, बुझ्ने, बोल्ने बनाउनु भयो । 
आमा म भेट्न छिट्टै आउँछु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप