शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

संसदीय टोलीद्वारा चीन भ्रमणको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

नीति तथा कार्यक्रममा सुझाव समेट्छौँ: प्रधानमन्त्री
सोमबार, २९ माघ २०८०, १३ : ५८
सोमबार, २९ माघ २०८०

काठमाडौँ । चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । ‘औपचारिक भ्रमणबाट तपाईंहरुले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु ।’

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले पुस २ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गरेको थियो ।

‘नेपालका सांसदहरूका लागि कार्यशाला’ कार्यक्रममा प्रतिनिधि सभाका १४, राष्ट्रिय सभाका ३ र संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का समेत ३ जना अधिकृतहरूले सहभागी भएका थिए ।

भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद् सचिवालय र नेपाल सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताए ।  ‘प्रतिवेदनमा नेपाल सरकारबाट कार्यान्वयन गरिनुपर्ने सुझावहरूसमेत प्रस्तुत गरिएकाले हाम्रो भ्रमण टोलीको तर्फबाट उक्त सुझावहरू यथासम्भव कार्यान्वयनका लागि सादर अनुरोध गर्दछौँ,’ उनले भने ।

 के छन् भ्रमण टोलीका सुझाव ?

 क) सरकारलाई सुझाव

  • जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने देखिन्छ ।
  • नीतिगत निरन्तरता आवश्यक हुने देखिन्छ ।
  • दुई देश बिच भएका विगतका समझदारीहरूलाई इमानदारिताका साथ कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।
  • विकासका लागि भूमि माथि राज्यको अधिकार बलियो हुनु पर्ने देखिन्छ ।
  • चिनियाँहरूलाई लगानीको वातावरण निर्माण गर्नु पर्ने देखिन्छ ।
  • चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरू ल्याउनु पर्ने देखिन्छ ।
  • गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिकी ग्रामीण बस्तीहरूलाई सडक सञ्जालले जोड्ने, किसानहरूलाई मल, बीउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरूको विकास गर्ने, नयाँ गाउँहरूको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरू उपलब्ध गराउने कार्य गर्नु पर्दछ ।
  • विकास र वातावरणलाई सँग सँगै लैजानु पर्दछ ।
  • भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद् सचिवालयलाई जानकारी गराउनु पर्दछ  र भ्रमणको पूर्वतयारी राम्ररी गरेरमात्र भ्रमण कार्यक्रम तय हुनुपर्दछ ।
  • भ्रमण पूर्व सम्बन्धित मुलुकका विविध पक्षबारे जानकारी गराउने प्रिब्रिफिङ्ग कार्यक्रम गरिनु पर्दछ  ।
  • भ्रमणलाई संस्थागत गर्नुपर्दछ ।
  • चीनसँगका सीमा नाकाहरू खोल्ने, व्यवस्थित गर्न जोड दिनुपर्दछ ।
  • चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
  • चीन भ्रमण र अनुभव आदान प्रदानका लागि संस्थागतरुपमा नै संघ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप