‘डेब्यू’ खेलमै हेमन्तले लिए तीन विकेट, क्यानडाबाट नेपालले पायो २३३ रनको लक्ष्य
काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३२ रन बनाएको हो ।
क्यानडालाई मध्यम योगफलमा समेटन नेपाली टोलीका बलर हेमन्त धामीले आफ्नो ‘डेब्यू’ खेलमै तीन विकेट लिए । उनले आठ ओभरमा ४९ रन खर्चिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । ललित राजवंशी र आकाश चन्दले पनि एक(एक विकेट लिए । क्यानडाका लागि ओपनर ब्याट्सम्यान नवनित धालिवालले अर्धशतक बनाए । निखिल दत्तले पनि ४५ रनको योगदान गरे । कप्तान साद बिन जाफरले अविजित ३१ रन जोडे । उनले केवल १५ बलमा दुई छक्का र तीन चौका हिर्काए । साहिद अहमदजाई पाँच रनमा अविजित रहे । क्यानडाले अतिरिक्त रुपमा १४ रन पायो ।
क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो ।
क्यानडाको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्नेलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि विजयरत्नेले २८ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । १४ औँ ओभरको अन्तिम बलमा विजयरत्ने आउट हुँदा क्यानडाले ५५ रन बनाएको थियो ।
क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई तीन रनको ब्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा निकोलस किर्तन आउट हुँदा क्यानडाले ७४ रन बनाएको थियो ।
क्यानडाको चौथो विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे । ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७ औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको थियो ।
क्यानडाको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका थिए । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको थियो ।
क्यानडाको छैटौँ विकेट हेमन्त धामीले लिएका थिए । उनले क्यानडाका विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभालाई २५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । हेमन्तले श्रेयषलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । आउट हुनुअघि श्रेयषले २९ बलमा एक चौका हिर्काएका थिए । सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ खेल खेलिरहेका हेमन्तले लिएको यो दोस्रो विकेट हो । ४५.४ ओभरमा श्रेयष आउट हुँदा क्यानडाले एक सय ८६ रन बनाएको थियो ।
क्यानडाले निखिल दत्तका रुपमा आफ्नो सातौँ विकेट गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले ६२ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले ४५ रन बनाएका थिए । उनी रन आउट भएर मैदानबाट बाहिरिएका थिए । निखिल रन लिन दौडिएका थिए । तर, त्यो बल नेपाली टोलीका फिल्डर भीम सार्कीको हातमा पुग्यो ।
त्यसपछि भीमले बल विकेटकिपर अनिल शाहलाई दिए । निखिलले रन पूरा गर्नुअघि नै अनिलले उनलाई रन आउट आउट गराएका थिए । ४७.५ ओभरमा निखिल आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको थियो । क्यानडाको आठौँ विकेट भने हेमन्त धामीले लिएका थिए । उनले क्यानडाका तल्लोक्रमका ब्याट्सम्यान डिल्लन हेलिगरलाई चार रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए ।
जारी खेलमा हेमन्तले लिएको यो तेस्रो विकेट हो । ४८.३ ओभरमा हेलिगर आउट हुँदा क्यानडाले दुई सय १८ रन बनाएको थियो । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।