आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस् : सांसद गैरे

सोमबार, २९ माघ २०८०, १२ : ५०
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनुपर्ने बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गैरेले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुङ्ग्याएर समाजमा शान्ति स्थापना गर्नुपर्ने बताएकी हुन् । 

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन ढिलाइ भइरहेको बताइन् । उनले इमानदार भएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सके समाजमा शान्ति स्थापना हुने जिकिर गरिन् । उनले भनिन्, ‘हामी कति गम्भीर छौँ, हाम्रो जिम्मेवारीप्रति भन्ने पनि सोच्नुपर्ने हुन्छ होला । यसै सन्दर्भमा पहिला हाम्रो ०६३/०६४ को कुरा जति बेला सात राजनीतिक दलहरूले १२ बुँदे सहमति गरेर शान्ति प्रक्रिया टुङ्ग्याउने काम गर्नुभयो । हाम्रो बिचमा गिरिजाप्रसाद कोइराला बाहेक त्यतिबेलाका सबै नेताहरू अहिले पनि हुनुहुन्छ । उहाँहरूले त्यो १२ बुँदे सहमति गर्दाका यति सजिलै यो व्यवस्था हामीले पाएका होइनौँ । त्यो भन्दा अघिको कहालीलाग्दो सम्झना गर्ने हो भने अहिले पनि हाम्रा शरीरमा काँडा उम्रिन्छ । हाम्रा सेना र विद्रोही पक्षको बिचमा पहाडी क्षेत्रमा रही रहने जनता एक दिन सेना आउने, अर्को दिन माओवादी आउने । हाम्रा घरमा माओवादीले बन्दुक राख्ने, सेनाले भेट्टाउने । सेनाले लिएर जाने, यस्तोसम्म भयो । आज त्यो अवस्थाबाट यहाँसम्म आउँदा धेरै कुराहरू अघि बढेका छन्, टुङ्गिएका छन् । कोही सेनामा छन्, कोही घर फर्किएका छन् । केही नपाउनेहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोगले टुङ्ग्याउने भनिएको थियो, त्यो काम हामीले अहिलेसम्म गर्न सकेनौँ । जसले गर्दा न्याय हरायो, न्यायको अनुभूति भएन भनेर मानिसहरू आवाज उठाइरहेका छन् ।’ 

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन नसक्दा नागरिकहरूले न्यायको अनुभूति गर्न नसकेको बताइन् । ‘यो काम हामीले छिटो भन्दा छिटो गर्नुपर्छ । गर्छु भनेको काम टुङ्ग्याउनुपर्छ । हामी इमानदार भएर टुङ्ग्याउनुपर्छ । यो काम टुङ्ग्याउन ढिलाइ भएको छ । शान्ति प्रक्रियाको बाँकी काम छिटो भन्दा छिटो सरकारले ल्याउनुपर्छ । समाजमा न्यायको स्थापना गर्नुपर्छ,’ उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप