मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनको राजनीति देशका लागि राम्रो भएन : जितेन्द्रनारायण देव

सोमबार, २९ माघ २०८०, १२ : १३
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेपाली का‌ंग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै देवले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताएका हुन् । उहाँले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताएका हुन् । 

उनले अब प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए । उनले आजको राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको जिकिर गरे । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरूले यसमा सोच्न जरुरी रहेको उनको भनाई थियो । ।

उनले भने, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टाचार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यस कारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्ने गरी संविधानमा संशोधन गर्ने हो की । जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन् । आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ । अत्यन्त गम्भीर छ । सङ्कटपूर्ण छ । हामी जजसले जुन जुन राजनीतिक शक्तिहरू मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादतिर उन्मुख हुने प्रतिबद्धता जाहेर गरेका छौँ । ती सम्पूर्ण राजनीतिक शक्तिहरूका लागि एउटा ठुलो चुनौतीको पहाड अघि खडा छ । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ ।’ 

उनले  यो वा त्यो पार्टी भन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गरे । ‘अस्ति २२ गतेको बैठकमा दलका नेताज्यूहरुले जुन ढंगले विदेश पलायनको परिस्थिति राख्नुभयो, र व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ भन्ने जुन गम्भीरता र जुन उचाइमा कुराहरू राख्नुभयो । आज देशका राजनीतिक नेतृत्वले यो वा त्यो खालि गठबन्धन वा प्रतिपक्ष भन्ने होइन, जो हामी आजको नयाँ परिवर्तन ल्याएका छौँ, त्यो परिवर्तन ल्याउने राजनीतिक नेतृत्वले आज त्यो हाइटबाट सोच्ने की नसोच्ने । व्यवस्थालाई बचाउने की नबचाउने । देशको विकास गर्ने की नगर्ने । जुन सामाजिक न्याय, विकास, समृद्धि र समाजवादको कुरा गरिरहेका छौँ । साँच्चिकै देशलाई त्यतातिर लैजाने की नलैजाने भन्ने प्रश्न छ । त्यसैले आज यो वा त्यो पार्टी राम्रो, हामीले गरेको मात्रै ठिक भन्ने भाष्यमा जानु भन्दा पनि राज्य र देशका लागि के गर्दा राम्रो भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप