मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आमाको सम्झनामा छोराको पत्र

सोमबार, ०३ वैशाख २०७५, ११ : १८
सोमबार, ०३ वैशाख २०७५

पूजनीय आमा ढोग छ !

आज आमाको मुख हेर्ने दिन, सम्बन्धहरूको उच्चतम् सम्बन्ध आमाको मुख हेर्ने दिनमा बिहानदेखि हजुरलाई सम्झी बसिरहेको छु । आमा आज म ७ नम्बर प्रदेशको व्यस्त सहरबाट केही शब्द लेखिरहेको छु ।
मनमा धेरै कुरा खेलिरहेका छन्, आमाले मेरा लागि के गर्नुभएन र मैले आमाका लागि के गरेँ ? मेरा लागि नगरिदिनुभएको काम केही भएन भन्ने मेरो कल्पनामा आउनै सेकेनन् । मैले हजुरका लागि केही गर्न सकेको सूची पनि छैन । आमा म स्वार्थी हुँ ? हुँ आमा स्वार्थी हुँ भ्रूण हुँदादेखिको हो हजुरले खाएका भिटामिनयुक्त खानाको हिस्सेदार थिएँ । 

जे तिमीले खायौ, त्यही खान्थेँ म पनि । तिमीलाई राम्रो पौष्टिक आहारका खाना प्राप्त हुँदा मलाई पनि हुन्थ्यो । पिठ्युँमा ४० केजीको भारी हुँदा मैले काँधमा बस्ने रहर गर्थें,  आफूले खाने आहारा कटायर मिठो मसिनो मलाई दिनुहुथ्यो । म घरमा नहुँदा चुल्होमा मीठो मसिनो पाकेको दिन मेरो छोराका लागि भन्दै अलग राख्नुहुन्थ्यो । म अबोध हुँदा कैयौँ दिन हजुरलाई राति रोएर सुत्न दिइनँ । चकचक गरेर एक दिन आरामसँग खान दिइनँ । 

त्यति धेरै कुरा गर्ने आमा बिरामी हुँदा एक्लै छटपटाउनु हुन्छ । पानी प्यास लाग्दा पनि धाराबाट पानी ल्याउन नसकेर बासी पानी नै पिउनु हुन्छ । हुजुरलाई कस्तो छ आमाभन्दा म ठीक छु, छोरा तिमीलाई कस्तो छ भन्दै प्रतिप्रश्न गर्नुहुन्छ । हजुर बिरामी हुनुहुन्छ रे ? भन्दा  सामान्य मात्रै हो, बाँकी सन्चै छ भनेर ढाँट्नु हुन्छ । हो आमा तिमीलाई आफू बेडमा थलिएर बसेको भन्दा पनि म हाँस्दै खेल्दै गरेको

छोराको बढी चिन्ता हुन्छ । म लक्का जवान हुँदा पनि तपाईं मलाई बच्चै सम्झिनु हुन्छ र भन्नु हुन्छ हिन्दा यात्रा गर्दा ख्याल गरेस् कान्छा, पुगेलगत्तै फोन गर्नु है । म हिँड्न नजानेर लड्न खोज्दा हात समाई समाई हिँडाउनु भयो तर आज हजुर बाहिर भित्र गर्न नसक्दा हात समायर डो¥याउन सकिनँ । 

आमा मप्रति हजुरका धेरै कल्पना थिए होलान ।  मैले हजुरका लागि केही गर्न सकेनँ तर छोरालाई सधैँ मायाँ गर्नुभयो । कुनै दिन मैले हजुरसँग  गुनासो गर्ने ठाउँ राख्नु भएन । हो, आमा म सहरमा बस्छु, हजुर गाउँमा हुनुहन्छ सहरमा घर ठूला हुन्छन् तर मान्छेका मन भने असाध्यै साना छन् । यो स्वार्थी सहरका बानीहरू ममा पनि पक्कै छन् होला । त्यसमाथि एक पत्रकार जसको निजी जीवन करिब हुँदैन ।
यो सब मेरो चाहाना र इच्छाले गरिरहेको छैन । आमासँग बस्ने हरेक छोराहरूको रहर नभएको पनि होइन तर विकास संरचना र बेरोजगारीले भित्रभित्रै पोलिरहेको छ, आमा  म कम्तीमा २ महिनामा एक पटक घर पुग्छु तर विदेशमा भएका छोराहरू वर्षौं कुरेर आउनुपर्ने रहर थिएन बाध्यता थियो ।

भारतमा भएको ठुल्दाइले मालिकले समयमै तलब दिएन नयाँ वर्षमा आउन सकिनँ भन्दै थियो । दुबई, कतार, मेलेसियामा हाम्रा गाउँले दाइहरू पनि गर्मी असाध्यै बढेको छ । २ वर्षपछि यस वर्षको दशैँमा घर आउँछु भन्दै थिएँ । मुख र हात जोड्ने सङ्घर्षका लागि विदेश दौडनु नेपाली छोराहरूको रहर होइन, बाध्यता हो । नयाँपुस्तामा यस्तो छाप परेको देखियो– ‘हामी नेपाली युवा विदेशमा मजदुर बन्नकै लागि जन्मेको हो ।’

आमा, विश्वका थुप्रै देशहरूले आफ्ना ब्रान्डेड सामग्री सप्लाई गर्छन् तर हाम्रो मातृभूमि नेपालले सप्लाई गर्ने भनेकै वैदेशिक रोजगारका लागि ‘युवाहरू’ हो । हुन त आमा हामी नेपाली विश्व बनाउन हिँडेका छौं भनौंला । तर यथार्थमा आफ्नो देशभित्र गर्न नसकेर, वातावरण नभएर वा नगरेर जे भए पनि अभावकै बीच विदेशिन बाध्य भएका हौं ।  त्रिभुवन विमानस्थलमा विदेश जानेको लर्को हेर्ने हो भने यस्तो लाग्छ । अबको केही वर्षमा नेपालमा कि हजुर जस्ता वृद्ध आमाबुवा, केही नेता र तिनै विदेश पठाउने दलालहरू मात्र बाँकी रहने छन् ।

हो, आमा मजस्ता थोरै भाग्यमानी छोराछोरी छन्, जो देशभित्र बस्न पाएका छन् । अभाव र दबाबका बीचमा बाँचेका नेपालीहरू विश्व बजारका सस्ता श्रमिकहरू हौं । हामी नेपाली छोराहरू लाखौँ विदेश उड्छौैँ अनि कैयौं बाकसमा फर्कन्छौंै भन्ने कुराको चिन्तै नगरी हामी विदेशिने लाइनमा घण्टौं बस्छौं र विदेश उड्छौँ । कोही बाकसमा फर्कन्छौैं केही सुट्केस गुडाएर पुग्छौं जीर्ण घरमा केही दिन बस्छौं फेरि विदेशतिरै हानिन्छौैैँ । 

देशमा लामो समयपछि वाम गठबन्धनको प्रचण्ड बहुमतको सरकार आएको छ । आशा गरौं हाम्रा जीवनशैलीमा परिर्वतन आउने छ । हामी मान्छे होइन, सामान निर्यात गर्ने देशको सूचीमा पर्ने छौं ।
आमाहरूप्रति नमन गर्दै यो कलम यहीँ बिट मार्छु । 
कर्ण चन्द
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप