शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

थलपति विजयले गठन गरे राजनीतिक दल

आइतबार, २८ माघ २०८०, १२ : ४४
आइतबार, २८ माघ २०८०

चेन्नई । तमिल सुपरस्टार विजय थलपति राजनीतिमा आउने हेतुका साग राजनीतिक दल गठन गरेका छन् । हिजोआज उनी आफ्नो राजनीतिक पार्टी तमिझगा वेत्री कडगमलाई लिएर चर्चामा छन् । विजयले सन् २०२६ को विधान सभाको निर्वाचन लड्ने अड्कलबाजी गरिएको छ । राजनीतिमा आए पनि थलपतिले फिल्म भने नछाड्ने बताइएको छ । विजय अघि दक्षिण भारत र बलिउडमा कयौँ फिल्मस्टारहरुले राजनीतिमा हात हालेका छन् । यो प्रवृत्ति दक्षिण भारतीय सुपरस्टार एमजीआरले सुरु गरेका थिए । उनीपछि एनटीआर, जयललिता, विजयकान्त, अमिताभ बच्च, राजेश खन्ना, सुनिल दत्तलगायत कयौँ स्टार राजनीतिमा आए । यिनीहरूमध्ये केही सफल भए त केही असफल ।

एमजीआरले सुरु गरेका थिए चलन

भारतमा राजनीतिमा फिल्म स्टार आउने ट्रेन्डको सुरुआत एमजीआर अर्थात् एम। जी। रामचंद्रनले गरेका थिए । तमिलका यी सुपरस्टार तमिलका मुख्यमन्त्री समेत बने । सन् १९५३ मा एमजीआर कांग्रेसमा आबद्ध भए । यिनको फ्यान फलोइङ देखेर हरेक राजनीतिक दल यिनलाई आफ्नो पार्टीमा ल्याउन चाहन्थे ।

एनटीआरको लोकप्रियता अगाडि टिक्न सकेन कांग्रेस
३०० भन्दा धेरै साउथ फिल्म खेलेका एनटीआरले राजनीतिमा पनि लामो छलाङ मारे । यिनी यति लोकप्रिय थिए कि दर्शकहरु यिनलाई भ्गवान नै मान्छे । यसको फाइदा उनको राजनीतिक करियरमा भयो । सन् १९८२ मा एनटीआरले तेलुगु देशम पार्टी बनाए अनि राजनीतिमा प्रवेश गरे ।

उनी राजनीतिमा आउनुको पछाडि रोचक कथा छ । ८० को दशकमा एक कार्यक्रममा सहभागी हुन रामाराव नेल्लोर पुगे । उनी  त्यहाँको एक सरकारी गेस्ट हाउसमा गएका थिए । गेस्ट हाउसमा एउटा कोठा मात्र खाली थियो, जुन त्यहाँ मन्त्रीका लागि बुक गरिएको थियो । रामारावले गेस्टहाउसका कर्मचारीसँग जिद्दी गरेर आफ्नो लागि कोठा खोल्न लगाए । तर ठ्याक्कै त्यही बेलामा मन्त्री आइपुगे । रामारावले अपमानित भएर कोठा छाड्नुपर्यो । यो घटना उनले आफ्ना एक साथीलाई सुनाए । ती साथीले ‘तँ जति नै धनी र प्रसिद्ध भएपनि वास्तविक शक्ति नेताका हातमा हुन्छ’ भनेर बताए । यो कुरा सुनेपछि रामारावले आफ्नो राजनीतिक दल खोल्ने निर्णय गरे ।

चर्चित अभिनेता भएकोले एनटीआर र उनको पार्टीले जर्बजस्त सफलता पायो । एनटीआर तीन पटक आन्ध्र प्रदेशका मुख्य मन्त्री बने । सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो । यो घटनापछि आम निर्वाचन भयो । यसमा कांग्रेश र इन्दिराका छोरा राजीव गान्धीप्रति सहानुभूतिको लहर देखियो । तर यस्तो स्थितिमा पनि आन्द्र प्रदेशमा भने एनटीआरको तेलुगु देशम पार्टीले शानदार जित हात पार्‍यो ।

तमिलनाडुको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् जयललिता

j jaylalita

राजनीतिमा सबैभन्दा सफल स्टार मध्ये एक हुन् जे. जयललिता । सन् १९७७ मा तमिलनाडुका तत्कालीन मुख्यमन्त्री एमजी रामचन्द्रनले जयललितालाई राजनीतिमा ल्याएका थिए । १९८२ मा उनले एमजीआरको पार्टी अखिल भारतीय अन्ना द्रविड मुनेत्र कडगम (एआईएडीएमके)मा सहभागी भइन् । सन् १९९१ को जुन २४ मा जयललिता पहिलो पटक तमिलनाडुको मुख्यमन्त्री बनिन् । उनी तमिलनाडुको पहिलो महिला मुख्यमन्त्री थिइन् । उनी ६ पटक मुख्यमन्त्री भइन् ।

पर्यटन मन्त्री बनेका थिए चिरञ्जीवी

फिल्मबाहेक चिरञ्जीवीले राजनीतिमा पनि हात हालेका थिए । उनले सन् २००८ मा आन्ध्र प्रदेशमा प्रजा राज्यमा पार्टी नामक राजनीतिक दल खोलेका थिए । पार्टी स्थापनाका क्रममा उनले सामाजिक न्याय आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताएका थिए । सन् २००९ को आम चुनावमा उनको पार्टीले आन्ध्र प्रदेशको विधानसभामा २९४ मध्ये १८ सिट जित्यो । सन् २०११ को फेब्रुअरीमा चिरञ्जीवीको प्रजा राज्यमा पार्टी भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो । पछि उनी पयर्टन मन्त्री बने ।

रजनीकान्तले २६ दिनमै छोडेका थिए राजनीति

साउथ सुपरस्टार रजनीकान्त पनि २०१७ मा राजनीतिमा आएका थिए । उनले रजनी मक्कल मन्द्रम (आरएमएम) नाम गरेको पार्टी बनाएका थिए । तर उनको राजनीतिक यात्रा २६ दिनमै सकियो । २०२१ मा उनले पार्टी विघटन गर्दै भविष्यमा राजनीतिमा कहिले नफर्किने बताए । मिडिया रिपोर्टका अनुसार रजनीकान्तले खराब स्वास्थ्यका कारण यो निर्णय लिएका थिए । कमल हसनले पनि २०१८ मा मक्कल निधि मैम नामक राजनीतिक दल बनाए । उनी बाहेक साउथ स्टार पवन कल्याण, सुरेश गोपीले पनि राजनीतिमा आएका थिए ।

बलिउडका यी स्टारलाई फापेन राजनीति

बलिउडमा पनि फिल्मबाट राजनीतिमा छिर्ने स्टारहरूको सूचि लामै छ । तर केही टिके केही टिकेनन् । बलिउडका महानायक अमिताभ बच्चनले राजीव गान्धीको कुरा सुनेर राजनीतिमा आएका थिए । केही समय उनको राजनीतिक करियर राम्रै चल्यो । तर फिल्ममा धेरै व्यस्त रहँदा उनी बिस्तारै राजनीतिबाट टाढिए । यस अवधिमा विरोधीहरूले कयौँ घोटालामा उनको नाम मुछ्न थाले । अनि सन् १९८७ मा उनले राजनीतिबाट संन्यास नै लिए ।

बलिउडका पहिलो सुपरस्टार राजेश खन्ना र अर्का अभिनेता शत्रुघ्न सिन्हाको सम्बन्ध राजनीतिका कारण बिग्रिएको थियो । राजेशले सन् १९९१ को लोकसभाको निर्वाचनमा दिल्लीको एक सिटमा बीजेपीका वरिष्ठ नेता लाल कृष्ण आणवाणी विरुद्ध चुनावमा उत्रिएका थिए । थोरै मतान्तरले उनले आडवाणीसँग हार्नु पर्‍यो । आडवाणीले राजीनामा दिएपछि उपनिर्वाचन भयो । यो निर्वाचनमा राजेश खन्ना पुनः उठे । उनको प्रतिद्वन्द्वीको रुपमा बीजेपीले अभिनेता शत्रुघ्न सिन्हालाई उठायो । राजेशले चुनाव जिते । तर शत्रुघ्नसँगको कुराकानी गर्न बन्द गरिदिए ।

गोविन्दा, धर्मेन्द पनि धेरै समय राजनीतिमा टिक्न सकेनन् । कांग्रेसबाट राजनीति गरेका गोविन्दाले चार वर्षमै राजनीति छाडे । धर्मेन्द पनि चार वर्षभन्दा बढी समय राजनीतिमा टिक्न सकेनन् । दुवै अभिनेता राजनीति छाडेर अभिनयमै फर्किए । विनोद खन्ना, हेमा मालिनी, राज बब्बर, जया प्रदा, शत्रुघ्न सिन्हा भने लामो समयसम्म राजनीतिमा रहे । राज बब्बर तीन पटक लोकसभाको सांसद बने । बारम्बार पार्टी फेरेपनि जया ९० को दशकदेखि राजनीतिमा सक्रिय छिन् । गएको ३३ वर्षदेखि शत्रुघ्न सिन्हा पनि राजनीतिमै छन् । प्रकाश राज, परेश रावल, मिथुन चक्रवर्ती, शबाना आजमीले पनि राजनीतिमा राम्रो पकड बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप